सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

समिटमा जग्गा भासिएको प्रकरण : पीडितहरूका लागि तत्काल १ करोडको कोष स्थापना

निर्माण कार्यमा महानगरको रोक
आइतबार, २६ चैत २०७९, २१ : ११
आइतबार, २६ चैत २०७९

ललितपुर । ललितपुर महानगरपालिकामा निर्माणाधीन समिट कम्प्लेक्स क्षेत्रको जग्गा भासिएपछि छिमेकका घर वस्तिहरू जोखिममा परेका छन् । महानगरपालिका स्थित वडा.नम्बर १, बखुनडोलमा बन्दै गरेको विशाल सपिङ कम्प्लेक्ससहित, होटल तथा हाउजिङको फाउन्डेसन (जग) को काम हुँदै गर्दा वरपरको क्षेत्र भासिएर घरहरूमा नै क्षति पुगेपछि सो क्षेत्रका बासिन्दाहरूको उठिबास भएको हो । उक्त घटनाबाट ६ वटा घरहरू पूर्ण रूपमा प्रभावित भएका छन् भने अन्य दर्जन घरहरू समेत समस्यामा परेका छन् । जसका कारण स्थानीयवासी घर छाडेर भाग्न बाध्य भएका छन् । 

निर्माणाधीन होटल समिटको सदियार रञ्जनध्वज विष्टको घर पूर्णरुपमा ध्वस्त हुन पुगेको छ भने अर्का सदियार ऋगध्वज विष्टको बन्दै गरेको पाँच तले घर भासिएर बस्न अयोग्य बनेको छ । यस्तै, छिमेकमा रहेका अर्का सदियार रचना शाहीको घर समेत चर्किएर बस्न नसकिने अवस्थामा पुगेको छ । 

337583704_259370549849809_91109755205153934_n

पीडित शाहीले भनिन्, ‘होटल समिटकै कारण रातारात बसाइँ सार्नु परेको छ । ज्यानकै जोखिमले गर्दा म ८१ वर्षको बुढी आमालाई लिएर अन्यत्र बसाइ सरेको छु । बासनै उठ्ने गरी यस्तो लापरबाही भौतिक मात्र होइन मानवता विरोधी गम्भीर गल्ती हो । यसको क्षतिपूर्ति तत्काल चाहिन्छ’ उनले भनिन् । 

धन्न उक्त घटनामा कुनै मानवीय क्षति भने हुन पाएन । शुक्रबार बिहान १० बजेतिर घटेको घटनामा प्रायः छिमेकी बासिन्दाहरू घर बाहिर हुँदा कुनै अप्रिय दुर्घटना हुन पाएन । यद्यपि, घटना घटेको समयमा एक घरमा भने तीन जना रहेकोमा उनीहरूलाई सामान्य चोटपटक लाग्न पुगेको छ । छिमेकी सुवास पाण्डेसहित अर्का दुई जना सामान्य घाइते हुन पुगेका छन् । अन्य घरहरू भासिएर र चर्केर ६ वटा घरपरिवारको उठिबास नै लागेको छ । 

337641173_899097521371585_469685044419248881_n

निर्माणाधीन होटल समिटकै अघिल्तिर रहेको होटल ग्रीनवीच भिलेज समेत पूर्ण रूपमा प्रभावित हुन पुगेको छ । होटलको संरचना रहेको जग्गा नै भासिएपछि होटल बन्द गरिएको छ । 

‘एकाएक जग्गा भासिएपछि रातारात गेस्टहरूलाई स्थानान्तरण गर्नु परेको छ । होटलका स्टाफ, परिवारहरू पूर्णरुपमा प्रभावित हुनपुगेका छन् । सिजनको बेलामा नै होटल नै बन्द गर्नुपरेपछि यसको क्षति कसले बेहोर्छ ?’ होटल ग्रीनवीच सञ्चालक प्रवीण आचार्यले भने । उक्त घटनाले होटलले दैनिक १६–१७ लाख रुपैयाँको नोक्सानी बेहोर्नुपर्ने उनको भनाइ छ । 

यसै गरी छिमेकी लालबाबु महर्जन, प्रदीप न्यौपाने, विनोद गली लगायतका दर्जन घरहरू जोखिममा परेपछि वासस्थान नै छाडेर अन्यत्र  सरेका छन् ।

339546363_529127112632778_8876876945352986797_n

नक्सा नै पास नगरी संरचना निर्माणको थालनी

प्रमुख स्टेकहोल्डर चौधरी ग्रुप समेतको लगानीमा बन्दै गरेको होटलसहितको हाउजिङ विना नक्सा स्वीकृति तथा विना नक्सा पास बनाइएको संरचनाको निर्माण कार्य तत्काल रोक्न ललितपुर महानगरपालिकाले होटल समिटलाई निर्देशन गरेको छ । 

339351548_902721490838873_6436715450759467938_n

घटना लगत्तै आइतबार स्थलगत अध्ययनमा नै पुगेका मेयर चिरिबाबु महर्जनले तत्काल अवैध संरचना निर्माणको काम रोकेर प्रभावित पीडितहरूको राहत तथा उदारको काममा लाग्न होटल पक्षलाई निर्देशन दिएका छन् । योसँगै समस्यामा परेका तथा जोखिममा परेका सम्पूर्ण छिमेकी घरको मूल्याङ्कन गरी क्षतिपूर्ति समेत होटल समिटले तिर्नुपर्ने भएको छ । 

पहिला तत्काल राहत तथा पुनर्स्थापनाको कामलाई अघि बढाइने र त्यसपछि अवैध संरचना निर्माण गर्ने होटल समिटमाथि कानुन बमोजिम कारबाही गरिने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रातोपाटीसँग बताए ।

पीडितहरूका लागि तत्काल १ करोडको राहत तथा पुनर्स्थापन कोष स्थापना

घटनापछि आइतबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको रोहोबरमा जिल्ला प्रशासन अधिकृत (सिडिओ), वडा नं.१ र २ का वडाध्यक्ष (घटना घटको क्षेत्र), होटल समिट र पीडित पक्षबीच सर्वपक्षीय छलफल वार्ता बसेको छ । उक्त बैठकले तत्काल राहत तथा पुनर्स्थापनाको कार्यलाई अघि बढाउने निर्णय गर्दै पीडकको पक्षबाट १ करोड रुपैयाँको ‘र्‍यापिड रिलिफ फण्ड’ स्थापना गर्ने निर्णय गरेको छ । 

339124091_571882968250379_6621604949197846977_n

337440059_611622433848195_2252976921105402415_n

जसका लागि समग्र घटनाको छानबिन, समस्याको सहजीकरण र सुझाव समेत दिने गरी ललितपुर महानगरपालिकाको उपमेयरको संयोजकत्वमा १० सदस्यीय प्रभावित व्यक्तिहरूको समस्या तत्काल समाधान÷सम्बोधन गर्न÷सहजीकरण अगुवाइ गर्ने अधिकार सम्पन्न समिति गठन गरेको छ । यहीँ समितिले तत्काल पीडितहरूको समस्यालाई अध्ययन गरी उचित राहत तथा पुनर्स्थापना काम गर्नेछ । 

समितिमा पीडित पक्षबाट तीन जना, घटना घटेको वडा नं. १ र २ बाट दुई जना अध्यक्ष, ललितपुर महानगरपालिकाबाट प्रवक्ता १ जना, जिल्ला प्रशासनबाट १ जना अधिकृत तहको कर्मचारी, होटल समिट व्यवस्थापनका तर्फबाट १ जना र महानगरपालिकाकै पूर्वाधार निर्माण महाशाखा प्रमुख सदस्य सचिव रहने गरी समितिको टुङ्गो लगाइएको छ । 

यसै समितिले घटनाको प्रकृति हेरी राहत, पुनर्स्थापना, भौतिक संरचना क्षतिको मूल्याङ्कन तथा क्षतिपूर्ति भरणका लागि पहल गर्नेछ । आवश्यकता अनुसार उपसमिति तथा कार्यसमिति गठन गर्ने अधिकार समेत सोही समितिलाई प्रधान गरिएको छ । राहत तथा पुनर्स्थापना कोषका लागि होटल समिट समूहलाई भोलिसम्ममा १ करोड रुपैयाँ उपलब्ध गराउन मेयर महर्जनले निर्देशन गरेका छन् ।

339953565_3749804678579829_2899498925446944976_n

चौधरी ग्रुप (सिजी) सहितको चार वटा कम्पनी मिलेर पुरानो होटल समिट रहेकै स्थानमा मल्टी पर्पोज (होटल, सपिङ्ग मलसहितको विशाल हाउजिङ) बनाउने योजना अघि बढाइएको छ । कूल १९ रोपनी क्षेत्रफलमा बन्दै गरेको हाउजिङका लागि ७ सय करोड अर्थात् ७ अर्ब रुपैयाँ बराबरको प्रोजेक्ट अघि सारिएको छ । 

तर, कुनै नक्सापास नै नगरी प्रोजेक्ट अघि बढाइएपछि समस्या आएको महानगरको भनाइ छ । घटना लगत्तै महानगरपालिकाले उक्त निर्माण कार्य तत्काल रोकी पहिला पीडितहरूको समस्या सम्बोधन गर्न र सबै प्रक्रिया पुर्‍याएर काम अघि बढाउन निर्माण पक्षलाई ठाडो निर्देशन दिएको छ । 

निर्माणाधीन होटल समिटको पक्षबाट चौधरी ग्रुप अफ कम्पनीका मालिक तथा विनोद चौधरीका छोरा निर्वाण चौधरीले उक्त घटनाबाट आफू दुःखी भएको बताउँदै तत्काल राहत तथा पुनर्स्थापन काममा लाग्ने बताएका छन् । ‘व्यक्तिको सुरक्षा र स्थापना पहिलो प्राथमिकता हो । हामी पहिला उहाँहरू (पीडित पक्ष) को राहत तथा पुनर्स्थापनामा लाग्छौँ र त्यसपछि मात्र प्रोजेक्टको काम हेर्छौ’ चौधरीले भने, ‘अहिले हाम्रो प्राथमिकता पीडित पक्ष हो, प्रोजेक्ट सेकेन्डरी ।’

यस्तै भनाई होटलको सम्पूर्ण निर्माण पक्ष हेरिरहेका होटल समिटको अध्यक्ष समेत रहेका सञ्चित श्रेष्ठको समेत रहेको छ । उनले पनि पहिला पीडित पक्षको सम्पूर्ण समस्याको सम्बोधन गर्ने र ऐन नियम कानुन अनुसार होटलको नक्सा पास, ईआईए ईए गरेर आफूहरू अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप