सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जका लागूओषध कारोबारी वीरेन्द्रनगरबाट पक्राउ

मङ्गलबार, २८ चैत २०७९, १३ : १९
मङ्गलबार, २८ चैत २०७९

सुर्खेत । सुर्खेत प्रहरीले प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैनिक जसो लागूओषध कारोबारीलाई पक्राउ गर्ने गरेको छ । जसमध्ये अधिकांश नेपालगन्ज, कोहलपुर क्षेत्र हुँदै सुर्खेत प्रवेश गर्ने गरेका छन् । प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगर लागूओषध कारोबारको हब जस्तै बनिरहेको छ । 

मंगलबार र सोमबार मात्र नेपालगन्ज स्थायी घर भएका २ जना लागूओषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलका २० वर्षीय गुड्डु समिर खाँन र वडा नं. १६ का अन्दाजी १६ वर्षीय ईमरान साह रहेका छन् । खान मंगलबार र साह सोमबार पक्राउ परेका हुन् । 

साह वीरेन्द्रनगरको पदमपुर स्थित कोठा भाडा लिएर बस्दै आएको र त्यहीँबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी पदमपुर नजिक बाटोमा शङ्कास्पद तरिकाले हिँडिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय, लागूऔषध ब्युरोबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । ‘चेकजाँच गर्दा चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगरको १ पुडिया भेटियो,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले भने । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।

यस्तै नेपालगञ्जकै अर्का व्यक्ति खान वीरेन्द्रनगरको बसपार्क एरियाबाट पक्राउ परेका हुन् । बस पार्कमा खटिएका ५ जनाको प्रहरी टोलीले शङ्कास्पद खानलाई नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा उनको साथमा शुद्ध ४० मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । 

उनलाई पनि जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । 

वीरेन्द्रनगरबाट पक्राउ पर्ने धेरैजसो लागूओषध कारोबारीहरू नेपालगन्ज, कोहलपुर क्षेत्रमा हुने गरेका छन् । ‘भारतसँगको खुल्ला सीमा नाकाबाट उनीहरूले लागूओषध ओसार–पोसार गर्ने र कोहलपुर हुँदै सुर्खेततर्फ आउने गरेको देखिन्छ,’जिल्ला प्रहरी कार्यालयका एक जना अनुसन्धान अधिकृतले भने,‘ यसको जालो निकै लामो हुने गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप