आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

लुम्बिनी प्रदेशसभा : सांसदको स्वकीय सचिवमा आफन्तकै रजगज

बुधबार, २९ चैत २०७९, १६ : ५६
बुधबार, २९ चैत २०७९

बुटवल । लुम्बिनी प्रदेशसभाका कतिपय सदस्यले स्वकीय सचिवालयमा आफन्तलाई नै नियुक्त गरेका छन् । प्रदेशसभा सदस्यको स्वकीय सचिवमा कतिपयले श्रीमती, छोरा, भाइलाई नियुक्त गरेका हुन् । चुनावको समयमा प्रचारप्रसारदेखि मतदातालाई आकर्षित गर्न व्यापक कार्यकर्ता परिचालन गर्ने नेताहरुले चुनाव जितिसकेर अवसर प्रदान गर्ने बेलामा भने आफन्तलाई नै महत्त्व दिएका हुन् ।

लुम्बिनीको ८७ सदस्यीय प्रदेशसभामा झन्डै दुई दर्जन सांसदले आफन्तलाई स्वकीय सचिव नियुक्त गरेका छन् । रुपन्देहीका सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले आफ्ना भतिज किशोर श्रेष्ठलाई स्वकीय सचिव नियुक्त गरेका छन् । यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाँकेकी सांसद अम्बिका काफ्लेले आफ्नो दिदी बिना काफ्लेलाई स्वकीय सचिव बनाएकी छन् ।

कांग्रेस दाङका सांसद अनुराग खड्काले प्रशान्त खड्कालाई स्वकीय सचिवालयको जिम्मेवारी दिएका छन् । कपिलवस्तुका एमाले सांसद अर्जुनकुमार केसीले सचिवालयमा श्रीमती सरला केसीलाई नियुक्त गरेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व मन्त्री जोखबहादुर महराले आफ्ना भतिज लुङ बहादुर महरालाई सचिवालयमा नियुक्त गरेका छन् ।

कांग्रेस सांसद देवीप्रसाद चौधरीले श्रीमती मीना चौधरीलाई, जनमत पार्टीकी गीता गुरुङले आफ्ना भान्जा अर्जुन गुरुङलाई स्वकीय सचिवमा राखेका छन् । बाँकेकी कांग्रेस सांसद सुशीला वादीले आफ्ना श्रीमान् प्रकाश वादीलाई स्वकीय सचिव बनाएकी छन् । रुपन्देहीकी एमाले सांसद शान्ति लोधले छोरा रामचन्द्र लोध, भगवतीकुमारी चौधरीले छोरी पूजा केवटलाई सचिवालयमा राखेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका बर्दियाका सांसद राजकुमार चौधरीले काका हलीराम चौधरी र माओवादी केन्द्रकी सांसद कृष्णा कुस्मा थारुले भतिज जितेन्द्र थारुलाई स्वकीय सचिवमा राखेका छन् ।

रुकुमकी माओवादी सांसद दिलकुमारी बुढाले भदैनी (दाइकी छोरी) शान्ति बुढालाई सचिवालयमा राखेकी छन् । एमालेका मधु सुदनहरण चौधरी कुर्मीले छोरा राजेश कुर्मी र नवलपरासी पश्चिमका कांग्रेसका विश्व प्रेम पाठकले छोरी शान्ति पाठकलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

प्रदेशसभा सदस्यको स्वकीय सचिवले प्रदेशसभाको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन अनुसार नायब सुब्बा (नासु) सरह ३४ हजार ७७० रुपैयाँ मासिक तलब सुविधा पाउँछन् ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले सांसदको सचिवालयमा नियुक्तिको विवरण आउने क्रम जारी गरेको बताए । उनले रातोपाटीसँग भने, ‘कानुनले श्रीमती, छोरा वा परिवारकै अन्य सदस्यलाई राख्न पाइँदैन भनेको छैन, उहाँहरूले जो जसको नाम दिनुभयो, त्यसैलाई मान्ने हो ।’

लेखक तथा विश्लेषक मनिकर कार्कीका अनुसार यो कानुनको भन्दा पनि नैतिकताको विषय हो । आफन्त र परिवारभित्रका व्यक्ति राख्न पाइन्न भन्ने नभए पनि सांसदहरुले नैतिकताका आधारमा परिवारभित्रका सदस्यलाई त्यस्तो पदमा नराखी पार्टीका योग्य तथा सक्षम कार्यकर्तालाई नियुक्त गर्ने परिपाटी विकास गरे राम्रो सन्देश जाने उनको भनाइ छ ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर पुनले नेपाली कांग्रेसका धेरैजसो सांसदले पार्टी कै कार्यकर्तालाई सचिवालयमा राखेको बताए । उनले पार्टी र संसद् बुझेका व्यक्ति राख्दा सचिवालय चुस्त हुने र सांसदलाई पनि काम गर्न सहज हुने भएकाले सकभर योग्य व्यक्तिलाई नै राख्नुपर्ने प्रस्ट पारे ।

परिवारभित्र कै सदस्यलाई स्वकीय सचिव नियुक्त गरेका आफ्ना पार्टीका सांसदहरुको हकमा ध्यानाकर्षण गराइने उनको भनाइ छ ।

यस्तै, माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सचिवालयमा राख्ने विषय सांसदहरुको अधिकारभित्र पर्ने भएकाले त्यसमा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टीसँग सल्लाह गरेर राख्दा उपयुक्त हुने बताए ।

उनले सांसदको स्वकीय सचिवमा आफ्नै घरको मान्छेलाई भन्दा पार्टीप्रति जिम्मेवार र क्षमता भएका व्यक्तिलाई राख्नुपर्नेमा जोड दिए । एमाले संसदीय दलका नेता तुलसी प्रसाद चौधरीले एमालेका धेरै कम सांसदहरुले आफन्तलाई स्वकीय सचिवालयमा राखेको दाबी गरे । कसैले आफन्तलाई राखेका भए पनि ती योग्य भएरै राखिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप