सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेनेन्जाइटिस परीक्षण र एपेडिक्सको अप्रेसन अब गुल्मी अस्पतालमै

आइतबार, १० वैशाख २०८०, १२ : २१
आइतबार, १० वैशाख २०८०

गुल्मी । गुल्मी अस्पतालको सेवा अब्बल बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाइमा अस्पताल अब्बल बन्दै गएको हो । 

जिल्लामा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार सुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको शल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार सुरु भएको अस्पतालले जनाएको छ । 

इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भइरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको देखिएपछि मेनेन्जाइटिसको परीक्षण गरिएको बालरोग विशेषज्ञ डा. विपिन खनालले बताए । ढाडबाट पानी निकालेर मेनेन्जाइटिसको परीक्षण गरी उपचार थालिएको खनालले बताए । जिल्लामा उक्त सेवा रोग पहिचान र उपचारको लागि पाल्पा वा बुटवल जानुपर्ने अवस्था थियो । 

त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ । अस्पतालका एमडिजिपी डाक्टर नरमा छन्त्यालको समुहले गत फागुन ८ गते मालिका गाउँपालिका –३ का ४३ बर्षिय पूर्ण बहादुर घर्तीको एपेन्डिसको सफल शल्यक्रिया गरेको हो । उनलाई फागुन ७ गते भर्ना गरी ११ गते डिस्चार्ज गरिएको थियो । अब गुल्मी अस्पतालमै नियमित एपेन्डिसको शल्यक्रिया हुने डा छन्त्यालले बताइन् । ४ वर्षदेखि गुल्मी अस्पतालमा एपेण्डिक्सको अप्रेसन बन्द थियो । 

अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा केही महिनादेखि सञ्चालनमा छ । अस्पताल विकास समितिले एमडी तहको अध्ययन गरेका विशेषज्ञ डक्टरलाई शत प्रतिशत भत्ता उपलब्ध गराएपछि विशेषज्ञ डक्टरहरूमा उत्साह थपिएको छ । त्यसका अलावा हाडजोर्नी विशेषज्ञलाई रेसुङ्गा नगरपालिकाले थप भत्ता उपलब्ध गराएको छ । अन्य स्थानीय तहहरूले पनि विशेषज्ञ डक्टरलाई भत्ता उपलब्ध गराउने हो भने विशेषज्ञ सेवाहरू जिल्लामै उपलब्ध गराउने वातावरण बन्ने अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए । यसका लागि विभिन्न स्थानीय तहहरूसँग पनि कुरा भइरहेको पाण्डेको भनाई छ । 

अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि मेसु डा. राजेन्द्रबहादुर जिसीले आफै ओपिडीमा बसेर बिरामी हेर्ने गरेका छन् । यसअघि अस्पतालमा मेसुले ओपिडीका बिरामी हेर्ने चलन थिएन । तर अस्पतालमा हालै मात्र सरुवा भएर मेसुको रूपमा जिम्मेवारी सम्हालेका डा. जिसीले आफ्नो अध्ययन र जागिर नै बिरामीको उपचारका लागि भएकोले ओपिडीमा बसेर बिरामी हेर्ने गरेको बताए । 

IMG-20230423-WA0001

अस्पतालमा लामो समयदेखि समस्याका रूपमा रहेको खानेपानी र सरसफाइको समस्या समाधान पनि हुन थालेको छ । बिरामी र कुरुवाले सधैँ प्रश्न गर्ने सरसफाइको समस्या समाधानका लागि अस्पतालका सरसफाइ फोकल पर्सन र विभागीय इन्चार्जहरुसँग बसेर छलफल भएको अस्पताल प्रशासनले जनाएको छ । अब सरसफाइ कर्मचारी र कार्यालय सहायकहरूको ड्युटीलाई थप सहज बनाइ सरसफाइ व्यवस्थापन गरिने व्यवस्थापकको भनाई छ । सरकारले गर्ने न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल यो वर्ष लुम्बिनी प्रदेशको तेस्रो स्थानमा रहेको थियो । 

गएको एक वर्षमा अस्पतालमा बिरामीलाई पहुँचका आधारमा टिकट काट्ने प्रणाली अन्त्य गर्न टोकन सिस्टम, बिरामीलाई बस्ने ठाउँको सहजताका प्रतिक्षालय, विमा र सामाजिक सेवा लिन बिरामीहरू अर्को भवनमा जाने समस्या समाधान गर्न टिकट काउन्टर नजिकै बिमा र सामाजिक सेवा इकाईको सेवा सञ्चालन गर्नेदेखि अस्पतालको रंगरोगन, सरसफाइमा ध्यान दिएको विसका समिति अध्यक्ष पाण्डेको भनाई छ । हाडजोर्नी, स्त्रीरोग, बालरोग लगायत विशेषज्ञ सेवा सञ्चालन, मातृ तथा शिशुको निःशुल्क औषधोपचार, आमा सुरक्षा र नवजात शिशुको परीक्षण र उपचार निःशुल्क, अस्तव्यस्त शौचालयको मर्मत तथा सरसफाइ, कर्मचारीको विदा व्यवस्थापन लगायतका काम पनि गरेको उनको भनाई छ । 

अस्पतालमा धेरैवर्षदेखि विद्युत आपूर्र्तीको समस्याका कारण मेसिन उपकरणहरु विग्रने समस्या रहेकोले उक्त समस्या समेत समाधान भएको छ । वर्षौदेखि अस्पतलालमा  खानेपानीको समस्या रहेको विषयमा आफू अध्यक्ष बनेपछि थाहा पाएको र समाधानका लागि तम्घासका उपभोक्ता समितिहरु र नगरपालिकासँग पहल गरिरहेको पाण्डेको भनाई छ ।  उनका अनुसार कतिपय समितिको पानी नै कम रहेको, कतिपयको अस्पतालमा पुग्न नसक्ने र कतिपयको जडान शुल्क केही महंगो भएकोले समाधानका नगरपालिकासँग आग्रह गरिएको छ । 

अस्पतालमा नयाँ भवन निर्माणधिन रहेको र पुरानो साँघुरो भवनबाट सेवा दिनु पर्दा केही कठीनाई रहेको छ । त्यो समस्या पनि अब केही महिनामै समाधान हुने अस्पताल प्रशासनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप