आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

महालेखाको प्रतिवेदनले औंल्यायो भैरहवा भन्सार कार्यालयको कमजोरी

३ करोड ९१ लाख बेरुजु
सोमबार, ११ वैशाख २०८०, ०९ : ४१
सोमबार, ११ वैशाख २०८०

बुटवल । महालेखापरीक्षकको कार्यालयले रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा विभिन्न बस्तुको उपशीर्षक लगाएर आर्थिक नियमभन्दा कम शुल्क लिएको भन्दै ३ करोड रुपैयाँभन्दा धेरै रकम बेरुजु देखाएको छ । उक्त रकम सम्बन्धित व्यवसायी फर्मले भन्सार कार्यालयमा दाखिला गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनमा भैरहवा भन्सार कार्यालयले बसको बडीदेखि मकैको दाना समेत पैठारी गर्दा ३ करोड ९१ लाखभन्दा धेरै रकम भन्सार नियमभन्दा फरक शीर्षक लगाएर कम मूल्याङ्कन गरेको भन्दै असुल गर्नुपर्ने देखाएको छ ।

प्रतिवेदनमा बसका बडी पैठारी गर्दा भन्सारको उपशीर्षक नम्बर ८९०७ (मोटर गाडीका मुख्य भाग अन्य)जाँचपास गरी भन्सार कर १५ प्रतिशत, अन्तःशुल्क ५ प्रतिशत र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा अस्थायी पैठारी भनी राजस्व चुहावट गरिएको उल्लेख छ ।

३० प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाउनुपर्ने वस्तु आयातमा फरक उपशीर्षक लगाएर ५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि करमात्र लगाई भन्सार छुट गराइएको पनि प्रतिवेदनमा उल्लेख छ । यसरी छुट गराइएको ४३ लाख ९८ हजार रकम असुल गर्न पनि प्रतिवेदनमा निर्देशन दिइएको छ ।

महालेखाको प्रतिवेदनमा फाइन पेस्ट पैठारी गर्दा पनि अर्को उपशीर्षक लगाएर ४० लाख १२ हजार रुपैयाँ कर छुटाएको औंल्याउदै उक्त रकम असुल गर्न निर्देशन दिएको छ ।

भैरहवा भन्सार कार्यकालका निमित्त सूचना अधिकारी नारायण जोशीले महालेखाको प्रतिवेदन आफूले अझै अध्ययन गर्न नपाएको रातोपाटीलाई बताए । उनले यसरी महालेखाले बेरुजु देखाएको विषयमा महालेखाको कार्यालयवाट पत्र आएपछि जवाफ पठाउने बताए ।

उनले सम्बन्धित व्यवासयीहरुलाई महालेखाले देखाएको विषयमा पत्राचार गर्ने र उनीहरूले तर्क र प्रमाणले रकम तिर्ने कि तिर्न नपर्ने भन्ने आएपछि निर्णय गर्ने बताए ।

उनले भने, ‘यदि उहाँहरूले तिर्नुपर्ने रहेछ भने हामी रकम असुल गर्नेछौं । होइन, रकम तिर्न पर्दैन भन्ने प्रमाण आयो भने सोही अनुसार पत्रलाई माथि पठाउँछौं ।’

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप