आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा ईश निन्दाको आरोपमा मस्जिदका इमामको कुटी कुटी हत्या

आइतबार, २४ वैशाख २०८०, १६ : ४७
आइतबार, २४ वैशाख २०८०

पाकिस्तानमा ईश निन्दाको आरोपमा मस्जिदका इमामको कुटी कुटी हत्या गरिएको छ । खैबर पख्तुनख्वाह प्रान्तको मरदान सहरमा एक राजनीतिक र्‍यालीको भाषणमा ईश निन्दा गरेको भन्दै इमाममाथि कुटपिट भएको थियो । कुटपिटका कारण ती व्यक्तिको ज्यानसमेत गएको छ । 

मरदान प्रहरी अधिकारी नजिबुर रहमानले यो घटनाको पुष्टि गरेका छन् । उनका अनुसार  मौलाना निगार लीले एक राजनीतिक पार्टीको र्‍यालीमा त्यहाँ भएका एक स्थानीय राजनीतिक नेताबारे केही टीकाटिप्पणी गरे । त्यही टीकाटिप्पणीका कारण उक्त भीड उग्र बन्यो । 

प्रहरीले अहिलेसम्म यो घटनाको मुद्दा दर्ता गरेको छैन तर अधिकारीका अनुसार विभिन्न स्रोतमार्फत घटनामा संलग्नको पहिचान गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरिनेछ । 

बीबीसी संवाददाता अजिजुल्लाह खानका अनुसार मारिएका मौलाना निगार अलि स्थानीय मस्जिदका इमाम थिए । उनको शवलाई स्थानीय अस्पताल पठाइएको छ ।

मरदान प्रहरीका एक अधिकारीले पत्रकार मुहम्मद जुबैर खानसँगको कुराकानीमा राजनीतिक दलको बैठकमा मौलाना निगार अलीको भाषणले त्यहाँको भीडलाई आक्रोशित बनेको र  घटनास्थलमा भएका अधिकारीले उनलाई रुष्ट भीडबाट जोगाएर नजिकैको पसलमा लिएर गएको जानकारी दिए । 

अधिकारीका अनुसार त्यति बेला विद्वान नेता पनि त्यहाँ पुगेको र कुराकानीको प्रक्रिया सुरु गरिएको थियो । यस्तै स्थिति नियन्त्रण गर्नका लागि प्रहरीको बल पनि बोलाइएको अधिकारीले बताए ।

प्रहरी अधिकारीका अनुसार कुराकानीको प्रक्रिया चलिरहेका बेला रुष्ट भीडले पसल घेरेर मौलाना निगारलाई जबरजस्ती पसलबाट बाहिर निकालेर कुटपिट गर्दै आफूसँग लिएर गए ।

आक्रोशित समूहलाई प्रहरीले रोक्न नसकेको पनि उनले बताए । यद्यपि, प्रहरीले आफूले राजनीतिक दलका अन्य नेतालाई सुरक्षित राख्न भने सफल भएको बताए ।

प्रहरीका अनुसार भीड यति रिसाएको थियो कि उनीहरू शव सुम्पिनसमेत तयार थिएनन् । खैबर पख्तुनख्वाका कार्यवाहक मुख्यमन्त्री मुहम्मद आजम खानले मरदानमा भएको घटनामा खेद व्यक्त गर्दै त्यहाँको राजनीतिक सभालाई राजनीतिक बयानमा मात्रै सीमित राख्नुपर्ने बताए ।

उनले थपे, ‘राजनीतिक घटनालाई धार्मिक रङ दिनबाट जोगिनुपर्छ ।’

मुख्यमन्त्रीले मानिसलाई कानुन हातमा नलिनसमेत अपिल गरे । उनले भने, ‘यस्तो घटनामा कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ । हालको  स्थितिमा धैर्यको तत्काल आवश्यकता हुन्छ ।’

उनका अनुसार घटनाको सन्दर्भमा विद्वानको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप