आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शरणार्थीको नाममा ठगी प्रकरण

केशव दुलाललाई सचिवको म्यासेज–‘इन्द्रजितसँग कनट्याक्ट भो रे !’

गिरोहसँग घरमै मिटिङ
सोमबार, २५ वैशाख २०८०, ०९ : ००
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । भुटानी शरणार्थीलाई अमेरिका पठाउने लोभ देखाएर ठगेको आरोपमा गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे थुनामा छन् । शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बालकृष्ण खाण गृहमन्त्री हुँदा अमेरिका जान छुटेका ४ सय ६१ जना भुटानी शरणार्थीलाई प्रक्रिया पुरा गरेर जिम्मा लगाउन समिति गठन भयो । झापाका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिलाई तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले दबाब दिएका थिए । तर, सो प्रक्रिया पुरा नहुँदै पाण्डेको सरुवा भएको थियो । सचिव पाण्डेले शरणार्थीको नाममा ठग्ने गिरोहको इशारामा समितिलाई दबाब दिएर काम गराउन खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । केशव र सानुले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् । प्रहरीले नियन्त्रणमा लिनुअघि सचिव पाण्डेले रातोपाटीसँग भनेका थिए–‘पक्राउ परेकाहरू मेरो सम्पर्कका मानिस हैनन्, मैले पैसा लिने कुरै भएन ।’

तर, सचिव पाण्डे र मोरङ घर भएका केशव दुलालको बिचमा ह्वाट्स एपमा भुटानीलाई अमेरिका पठाउने बारे लामो कुराकानी भएको भेटिएको छ । उनीहरू बिचको म्यासेज कुराकानीमा डा. इन्द्रजित राईको बारेमा पनि कुरा भएको अनुसन्धानबाट थाहा भएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित पनि शरणार्थीको नाममा ठगेको आरोपमा थुनामा छन् ।

म्यासेज कुराकानीमा सचिव आफैँले सोधेका छन्–‘के छ खबर ?’ आरोपी केशव दुलालले ‘खबर केही नआएको र बुझिदिनुस्’ भन्छन् । ‘हस्’ भनेर टेकनारायण पाण्डेले फेरी म्यासेजमा जवाफ फर्काउँछन्–‘इन्द्रजितसँग कनट्याक्ट भयो रे ।’

इन्द्रजितसँग कसले सम्पर्क गरेका हुन् भन्नेबारे चाहिँ खुलेको छैन ।

अनुसन्धान अधिकृतहरूले पाण्डेसँगको अर्को च्याट पनि फेला पारेका छन् । केशव दुलालले ‘भुटानी शरणार्थीको पुनः गणना सुरु’ भन्ने समाचारको लिङ्क पठाउँछन् । अनि भन्छन्–‘सर, नमस्ते आज भेटौँ कि हजुर ।’ त्यसपछि सचिवको जवाफ आउँछ–‘खबर हुन्छ ।’

पाण्डे र दुलालको बिचमा करिब ११ महिनाअघि कुरा भएको भेटिएको छ । रामकुमार रेग्मी र दाङ घर भएका गजेन्द्र बुढाथोकीले ११ महिनाअघि उपत्यका अपराध अनुसन्धान कार्यालयमा ठगीबारे उजुरी गरेका थिए । उजुरी परेपछि सचिव पाण्डे मार्फत आरोपीहरूले डा. इन्द्रजितसँग सम्पर्क गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सचिवले आफूभन्दा माथिल्लो ओहदाको मानिसलाई इन्द्रजितसँग कुरा गर्न लगाएको देखिने च्याट भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने–‘पक्राउ पुर्जी जारी भएमा पुलिसले पक्राउ गर्ने हुनाले पहिला नै मिलाउनु भनेर इन्द्रजितलाई भनेको कुरा सचिव पाण्डेले दुलाललाई जानकारी गराएको भेटिएको छ ।’

घटना प्रहरीकहाँ पुगेपछि पाण्डेको पहलकदमी अनुसार केशव दुलाल, सानु भण्डारी, मोरङका सागर राई र पाँचथरका टङ्क गुरुङलाई पक्राउ हुनबाट रोकाएको थाहा भएको छ । पीडितहरू प्रहरीकहाँ धाउन थालेपछि सचिव पाण्डेले सो मुद्दा ‘सेटल’ गर्न भूमिका खेलेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । मुद्दा ‘सेटल’ गर्ने प्रसङ्गमा दुलाललाई सचिव पाण्डेले म्यासेज गरेका छन्–‘ठिक छ, तपाईंहरुको पनि क्लियर भएको छ ।’

सचिवको घरमै पुग्थे गिरोह

नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउन सक्रिय गिरोह तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको घरसम्म नै पुग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । केशव दुलाल र सचिव पाण्डे बिच भएको म्यासेज कुराकानीमा सचिवले दुलालाई ‘कता हजुर’ भनेर सोधेका छन् ।

आफू मनोहरा पुल भन्दा पारि रहेको दुलालले जवाफ दिएपछि पाण्डेले उनलाई घरमै बोलाएको ‘च्याट’ अनुसन्धान अधिकृतहरूले फेला पारेका छन् । पेप्सीकोला स्थित पाण्डेको घरमा पुगेर केशवले फेरी म्यासेज गरेका छन्–‘सर, गेटमा हजुर ।’

सचिव पाण्डेले गिरोहका सदस्यहरूलाई घरमै बोलाएर मिटिङ गर्ने गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

गिरोहका सदस्य मध्येका सागर राई २०७९ चैत १५ मा र मुख्य योजनाकार सन्देश शर्मा २९ चैतमा पक्राउ परेका थिए । सचिव पाण्डे वैशाख २० मा पक्राउ परेका हुन् । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत पाण्डे पक्राउ परेपछि उनको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कायम गरिएको छ ।

TN Vs Indrajit 1.24 (2080)TN Vs Indrajit 2 (2080)Tn Vs Manohara Pul 1.24 (2080)TN Vs Refuji 1.24 (2080)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप