सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियललाई उसैको मैदानमा बराबरीमा रोक्यो म्यान सिटीले

बुधबार, २७ वैशाख २०८०, ०६ : ३१
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा १-१ गोलको बराबरीमा रोकेको छ ।

घरेलु मैदानमा बराबरीमा रोकिएपछि रियल म्याड्रिड दबाबमा परेको छ । सेमिफाइनलको दोस्रो लेग खेल म्यानचेस्टर सिटीको घरेलु मैदानमा खेलिने छ । खेलको दोस्रो हाफमा अनुभवी बेल्जियन खेलाडी केभिन डी ब्रुनले आकर्षक गोल गर्दै म्यानचेस्टरलाई सम्भावित पराजयबाट जोगाएका थिए ।

३१ वर्षीय मिडफिल्डर डी ब्रुनले निर्धारित समयको ६७औं मिनेटमा जवाफी गोल गरेका थिए । त्यसअघि खेल सुरु भएको ३६औं मिनेटमा घरेलु टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । रियल म्याड्रिडका लागि २२ वर्षीय ब्राजिलियन खेलाडी भिनिसिय जुनियरले गोल गरेका थिए ।   

सेमिफाइनलको दोस्रो लेग खेल आगामी जेठ ४ गते खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलान वा एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ । रियल म्याड्रिड सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि जित्ने क्लब हो ।

रियल म्याड्रिडले हालसम्म १४ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । म्यानचेस्टर सिटीले भने हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । म्यानचेस्टर सिटी सन् २०२०-२१ सिजनको फाइनलमा चेल्सीसँग पराजित भएको थियो ।

त्यसैले यतिबेला म्यानचेस्टर सिटी दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने योजनामा छ । पछिल्लो समय म्यानचेस्टर सिटी लयमा पनि देखिएको छ । जारी सिजनको इङ्लिस प्रिमियर लिग उपाधिनजिक रहेको म्यानचेस्टर सिटी आफुले खेलेका पछिल्ला २१ खेलमा अपराजित रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप