सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

बार्सालाई च्याम्पियन्स लिग जिताउने टोलीका अन्तिम खेलाडीले पनि क्लब छाडे

कहाँ छन् बार्सिलोनाको उदाहरणीय टोलीका अन्य खेलाडी ?
बिहीबार, २८ वैशाख २०८०, १४ : १७
बिहीबार, २८ वैशाख २०८०

काठमाडौं । सन् २०११ को युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको थियो । यो त्यही समय थियो, जतिबेला विश्व क्लब फुटबलमा बार्सिलोनाले आफ्नो गतिलो प्रभाव जमाएको थियो ।

त्यो वर्षको यूईएफए सुपर कप, फिफा क्लब विश्वकप र स्पेनिस ला लिगाको उपाधि पनि बार्सिलोनाकै पोल्टामा परेको थियो । त्यो वर्ष बार्सिलोनालाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि चुमाउने टोलीका खेलाडीहरुबीच पनि गजबको तालमेल देखिन्थ्यो ।

खासगरी बार्सिलोनालाई १२ वर्षअघि च्याम्पियन्स लिग जिताउने टोलीका खेलाडीमध्ये सन् २०२३ सम्म आइपुग्दा एक जनामात्र क्लबमा बाँकी थिए । यतिबेला ती अन्तिम खेलाडीले पनि क्लब छाड्ने निर्णय गरेका छन् । उनी हुन्, सर्जियो बुस्केट । उनले बुधबार क्लब छाड्ने घोषणा गरेका हुन् ।

सन् २०११ को च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई ३—१ गोलले हराएको थियो । फाइनलमा बार्सिलोनाका लागि मेसी, पेड्रो र डेभिड भियाले गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका लागि भने एकमात्र गोल वेन रोनीले गरेका थिए ।

त्यतिबेला बार्सिलोनाका प्रशिक्षक थिए, पेप ग्वार्डिओला । अनि म्यानचेस्टर युनाइटेडकको भूमिका थिए, सर एलेक्स फर्गुसन । उनै प्रशिक्षक फर्गुसनले आफ्नो टोली फाइनलमा पराजित भएपछि बार्सिलोनाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

‘मैले सामना गरेका विपक्षीहरुमध्ये बार्सिलोना सबैभन्दा उत्कृष्ट टोली हो,’ फर्गुसनले भनेका थिए । ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको बार्सिलोनामा त्यतिबेला लियोनल मेसी, जाभी, आन्द्रे इनिएस्टाजस्ता खेलाडी थिए ।   

बुस्केटले क्लब छाड्ने भएपछि अब १२ वर्षअघि च्याम्पियन्स लिगको उपाधि जिताउने कुनै पनि सदस्य बार्सिलोनामा बाँकी रहने छैनन् । अहिले कहाँ छन् त बार्सिलोनालाई महत्वपूर्ण सफलता दिलाउने र विपक्षी टोलीका प्रशिक्षक फर्गुसनले समेत प्रसंशा गरेका ती खेलाडीहरु ?

भिक्टर भाल्डेस (गोलकिपर)
नोउ क्याम्पमा १२ वर्ष बिताएर भिक्टर भाल्डेसले सन् २०१४ मा बार्सिलोना छाडेका थिए । बार्सिलोनामा रहँदा उनले ६ वटा ला लिगा उपाधि, ३ वटा च्याम्पियन्स लिग र २ वटा स्पेनिस कपको उपाधि जितेका थिए । बार्सिलोना छोडेपछि उनी म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । तर, उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेल्न पाएनन् । म्यानचेस्टर युनाइटेडबाट केवल २ खेल खेलेका भाल्डेस त्यसपछि सन् २०१६ मा लोनमा बेल्जियन क्लब स्टान्डर्ड लिगमा आबद्ध भए । स्टान्डर्ड लिगामा पनि उनले ६ खेलमात्र खेले ।

सन् २०१६ मा उनी इङ्लिस क्लब मिडल्सब्रोघमा आबद्ध भए । २८ खेलपछि उनले सन् २०१७ मा मिडल्सब्रोघ पनि छाडे । मिडल्सब्रोघ छाडेपछि ४१ वर्षीय भाल्डेसले खेलाडीको भूमिकाबाट विदा लिए । त्यसपछि उनी प्रशिक्षकको भूमिकामा देखा परेका थिए । बार्सिलोनाको युथ टोलीलाई समेत प्रशिक्षण गराएका उनी सन् २०२०÷२१ सिजनमा प्रशिक्षकको रुपमा बार्सिलोनामै रहेको क्लब होर्तामा आबद्ध भएका थिए ।

एरिक अबिदल (लेफ्ट ब्याक)
बार्सिलोनालाई सन् २०११ मा च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका फ्रान्सेली खेलाडी एरिक अबिदल कलेजोको समस्याबाट पीडित भए । स्वास्थ्य समस्याले पिरोल्दै लगेपछि सन् २०१२ को अप्रिलमा उनको कलेज प्रत्यारोपण गरिएको थियो । त्यसपछि सन् २०१२ को डिसेम्बर १८ मा उनी पुनः बार्सिलोनाको प्रशिक्षणमा फर्किएका थिए । सन् २०१३ मा उनी आफ्नो पूर्वक्लब मोनाकोमा आबद्ध भए । दोस्रोपटक फ्रान्सेली क्लबमा आबद्ध भएका उनी त्यहाँ सन् २०१४ सम्म रहे । उक्त क्लबबाट उनले २६ खेल खेले ।

मोनाको छाडेर उनी सन् २०१४ मा ग्रिसको व्यवसायिक क्लब ओलम्पियाकसमा आबद्ध भए । सो क्लबबाट उनले ९ खेल खेलेका थिए । ४३ वर्षीय अबिदलले ओलम्पियाकसमै रहँदा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । सन् २०१८ को जुनमा उनी फुटबल निर्देशकका रुपमा बार्सिलोनामा आबद्ध भएका थिए । सन् २०२० को अगस्तमा उनी त्यो जिम्मेबारीबाट पनि मुक्त भए ।

जाभियर मास्चेरानो (सेन्टर ब्याक)
जाभियर मास्चेरानो इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा रहँदा मिडफिल्डरको भूमिकामा मैदानमा देखा पर्थे । सन् २०१० मा बार्सिलोनामा आबद्ध भएपछि भने उनी डिफेन्डरका रुपमा खेल्न थाले । १२ वर्षअघि बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा उनी पनि टोलीका महत्वपूर्ण सदस्य थिए । यी अर्जेन्टिनी खेलाडीले सन् २०१८ मा बार्सिलोना छाडेका थिए । चीनीया लिग खेल्न हेबई चाइना फोच्र्युनमा आबद्ध भए । एक वर्ष उक्त क्लबमा रहँदा उनले ५३ खेल खेलेका थिए । त्यसपछि १ वर्ष उनले अर्जेन्टिनी व्यवसायिक लिग खेले ।

हाल ३८ वर्षीय मास्चेरानो प्रशिक्षकको भूमिकामा छन् । उनी सन् २०२१ मा अर्जेन्टिनाको यू—२० टोलीमा प्रशिक्षकमा रुपमा आबद्ध भएका हुन् ।  

जेरार्ड पीके (सेन्टर ब्याक)
सन् २००८ मा बार्सिलोनामा आबद्ध भएका जेरार्ड पीकेले १४ वर्ष त्यहाँ बिताए । सन् २०११ मा च्याम्पियन्स लिग जितेपछि पनि उनी थप ११ बर्ष बार्सिलोनामै बसे । बुस्केट र पीकै नै लामो समय बार्सिलोनामा बस्ने खेलाडी हुन् ।
अन्ततः सन् २०२२ को नोभेम्बरमा उनले बार्सिलोनामै रहँदा उनले व्यवसायिक खेल जीवनबाट सन्न्यास पनि लिए । उनले स्पेनलाई सन् २०१० को विश्वकप जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्पेनले सन् २०१२ मा युरो कप जित्दा पनि ३६ वर्षीय पीके टोलीका महत्वपूर्ण सदस्य थिए ।

सन् २०११ को च्याम्पियन्स लिगपछि पनि उनले बार्सिलोनालाई सन् २०१५, सन् २०१६, सन् २०१८ र सन् २०१९ मा ला लिगाको उपाधि चुमाएका थिए ।

डानी आल्भेस (राइट ब्याक)
प्रभावशाली ब्राजिलियन फुटबर हुन्, डानी आल्भेस । हालसम्म ब्यवसायीक फुटबलमा सक्रिय रहेका ४० वर्षीय आल्भेस सन् २००८ मा बार्सिलोनामा आबद्ध भएका थिए । उनी सन् २०१६ सम्म बार्सिलोनामा रहे । बार्सिलोना छाडेपछि उनले १ सिजन इटालियन सिरिए क्लब युभेन्ट्सबाट खेले । सन् २०१७ देखि सन् २०१९ सम्म उनी फ्रेन्च लिग खेल्न पेरिस सेन्ट जर्मन (पीएसजी)मा आबद्ध भएका थिए । पीएसजीबाट उनले ४८ खेल खेलेका थिए ।

त्यसपछि उनले २ सिजन ब्राजिलियन क्लब साओ पाउलोमा बिताए । सन् २०२१ मा उनी पुनः बार्सिलोना नै फर्किए । बार्सिलोनामा एक सिजन रहँदा उनले १४ खेल खेलेर १ गोल गरेका थिए । बार्सिलोना छाडेर उनी सन् २०२२ मा मेक्सिकन क्लब युनममा आबद्ध भए । हाल उनी यौन दूर्व्यवहारको आरोपमा स्पेनको कारागारमा छन् । उनीमाथिको अनुशन्धान जारी छ । यौन दूरव्र्यवहारको आरोप लागेपछि क्लबले पनि उनलाई बर्खास्त गरेको छ । उनले सन् २०१५ मा पनि बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

सर्जियो बुस्केट्स (मिडफिल्डर)

बार्सिलोनामा सबैभन्दा लामो समय बिताउने खेलाडीमध्ये एक हुन्, मिडफिल्डर सर्जियो बुस्केट्स । ३४ वर्षीय बुस्केट्सले बार्सिलोनामा १८ वर्ष बिताइसकेका छन् । सिनियर टोलीबाट खेल्नुअघि पनि उनले बार्सिलोनाको युवा टोलीको प्रतिनिधित्व गरेका थिए ।

उनले बुधबार अप्रत्यासित रुपमा बार्सिलोना छाड्ने घोषणा गरेका छन् । सन् २०११ मा च्याम्पियन्स लिग जित्ने टोलीका सदस्यमध्ये उनी अन्तिम खेलाडी हुन्, बार्सिलोना छाड्ने । उनले बार्सिलोनाबाट ४ सय ७८ खेल खेलिसकेका छन् ।

यसबीचमा बुस्केट्सले क्लबलाई घरेलु लिग, घरेलु कप, युरोपियन कपलगायतका थुप्रै उपाधि दिलाएका छन् । सन् २०११ को च्याम्पियन्स लिगपछि पनि उनले बार्सिलोनालाई १८ वटा महत्वपूर्ण उपाधि जिताएका छन् । उनले सन् २००९ देखि सन् २०२२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट १ सय ४३ खेल खेलेका थिए । उनी स्पेनलाई विश्वकप जिताउने टोलीका सदस्य पनि हुन् ।

जाभी (मिडफिल्डर)

बार्सिलोनामा निकै लामो समय बिताउने खेलाडीमध्ये जाभी पनि एक हुन् । जाभीले सन् १९९८ देखि सन् २०१५ सम्म बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । त्यसबीचमा उनले क्लबका लागि ५ सय ५ खेल खेल्दै ५८ गोल गरेका थिए । सिनियर टोलीमा आबद्ध हुनुअघि पनि उनी बार्सिलोनामै थिए । सन् १९८४ देखि सन् १९९७ सम्म उनी बार्सिलोनाको युवा टोलीमा थिए । त्यसपछि सन् १९९७ मा उनले बार्सिलोनाको ‘बी’ टोलीबाट खेले । सन् २०१५ मा बार्सिलोना छाडेर उनी कतारी क्लब अल सादमा आबद्ध भए ।

उनले सन् २०१९ सम्म अल सादमा रहँदा ८२ खेल खेलेर २१ गोल गरेका थिए । त्यसपछि उनले अल सादमै २ वर्ष प्रशिक्षकको भूमिका निर्वाह गरे । ४३ वर्षीय जाभी हाल आफ्नै पुरानो क्लब बार्सिलोनाको प्रशिक्षक छन् ।

आन्द्रेज इनिएस्टा (मिडफिल्डर)

इनिएस्टाले बार्सिलोनाको सिनियर टोलीबाट १६ वर्ष खेले । सन् २००२ मा बार्सिलोनाको सिनियर टोलीमा आबद्ध भएका उनले सन् २०१८ मा क्लब छाडेका थिए । त्यसअघि पनि उनी बार्सिलोनाकै युवा टोली र ‘बी’ टोलीमा सहभागी थिए ।

बार्सिलोनाको सिनियर टोलीबाट उनले ४ सय ४२ खेल खेल्दै ३५ गोल गरेका थिए । बार्सिलोना छाडेर ३९ वर्षीय इनिएस्टा सन् २०१८ जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका थिए । उनी अहिले पनि त्यही क्लबमा छन् । कोबेबाट उनले हालसम्म १ सय ११ खेल खेल्दै २१ गोल गरेका छन् । सन् २०११ मा च्याम्पियन्स लिग जितेपछि पनि उनी थप ७ वर्ष क्लबमा रहे ।

लियोनल मेसी (फरवार्ड)

बार्सिलोनालाई सन् २०११ को च्याम्पियन्स लिग जिताउन अर्जेन्टिनी खेलाडी लियोनल मेसीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बार्सिलोनाको युवा टोलीबाट खेल जीवन अगाडि बढाएका ३५ वर्षीय मेसी ‘सी’ र ‘बी’ टोली हुँदै सिनियर टोलीमा पुगेका थिए । सन् २००४ मा उनी बार्सिलोनाको सिनियर टोलीमा सहभागी भएका थिए । सन् २०२१ मा क्लब छाड्नुअघि उनले बार्सिलोनाका लागि ५ सय २० खेल खेल्दै ४ सय ७४ गोल गरेका थिए । बार्सिलोनाका लागि उनले गरेको गोल सँख्याले नै उनको क्लबमा उनको महत्व झल्काउँछ ।

उनी बार्सिलोनाको थुप्रै सफलताका मुख्य नायक हुन् । उनी सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका थिए । हालसम्म पीएसजीबाट उनले ५४ खेल खेलेर २१ गोल गरिसकेका छन् । पछिल्लो समय उनले पीएसजी पनि छाड्न लागेको चर्चा चलेको छ । उनी अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान पनि हुन् । अर्जेन्टिनाका लागि उनले हालसम्म १ सय ७४ खेल खेलेर १ सय २ गोल गरिसकेका छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि चुमेको थियो ।

डेभिड भिया (फरवार्ड)

स्पेनिस खेलाडी डेभिड भियाले बार्सिलोनाबाट ३ वर्षमात्र खेले । यसैबीचमा उनले सन् २०११ मा बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधिसमेत चुमाएका थिए । यसअर्थमा उनी भाग्यमानी खेलाडी पनि हुन्  सन् २०१० मा बार्सिलोनामा आबद्ध भएका ४१ वर्षीय भियाले सन् २०१३ मा क्लब छाडेका थिए । बार्सिलोनामा रहँदा उनले ७७ खेल खेलेर ३३ गोल गरेका थिए । त्यसपछि उनले अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट एक सिजन खेले ।

त्यसपछि न्युयोर्क सिटी, मेलबर्न सिटीहुँदै उनले भिसेल कोबेबाट पनि व्यवसायिक फुटबल खेले । सन् २००५ देखि सन् २०१७ सम्म उनी स्पेनिस राष्ट्रिय टोलीका सदस्य थिए । उनले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका थिए । उनी हाल भारतीय क्लब ओडिसा एफसीमा ग्लोबल फुटबल अपरेसनका प्राविधिक सल्लाहकार हुन् ।  

पेड्रो (फरवार्ड)

पेड्रो बार्सिलोनाको युवा टोलीबाट तिखारिएका खेलाडी हुन् । स्पेनिस खेलाडी पेड्रो बार्सिलोनाको ‘सी’ र ‘बी’ टोली हुँदै सिनियर टोलीमा आबद्ध भएका थिए । उनले सन् २००८ देखि सन् २०१५ सम्म बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । उनले बार्सिलोनाको सिनियर टोलीबाट २ सय ४ खेल खेल्दै ५८ गोल गरेका थिए । सन् २०१५ मा बार्सिलोना छाडेर उनले पाँच वर्ष इङ्लिस क्लब चेल्सीमा बिताएका थिए । चेल्सीमा रहँदा उनले १ सय ३७ खेल खेल्दै २९ गोल गरेका थिए ।

त्यसपछि उनले एक सिजन इटालियन क्लब रोमाबाट पनि खेले । सन् २०२१ मा उनी अर्को इटालियन क्लब लाजियोमा आबद्ध भएका थिए । उनले हालसम्म लाजियोबाट ६४ खेल खेल्दै १३ गोल गरिसकेका छन् । ३५ वर्षीय पेड्रोले सन् २०१० देखि सन् २०१७ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेलेका थिए ।

यसका अतिरिक्त सन् २०११ मा बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा केही खेलाडी परिवर्तित खेलाडीका रुपमा बेञ्चमा थिए । उनीहरु पनि अहिले बार्सिलोनामा छैनन् । त्यतिबेला थिआगो अलकान्ट्रा, बोजन, इब्राहिम अफेली, बार्सिलोनाका पूर्वकप्तान कार्लेस पुयोलले भने सन् २०१४ मा खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । त्यतिबेला बार्सिलोनालाई उपाधि जिताउने प्रशिक्षक पेप ग्वार्डिओला पनि अहिले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप