सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युरोपा लिग फुटबल : गाट्टीको गोलले हारबाट जोगायो युभेन्ट्सलाई

शुक्रबार, २९ वैशाख २०८०, ०७ : ३८
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेग खेलमा इटालियन ‘पावर हाउस’ युभेन्ट्स घरेलु मैदानमै सम्भावित पराजयबाट जोगिएको छ । स्पेनिस क्लब सेभिलविरुद्घको खेलको पहिलो हाफमै गोल खाएको युभेन्ट्सले अन्ततः सेमिफाइनलको पहिलो लेग खेललाई १-१ को बराबरीमा टुंग्यायो ।

२४ वर्षीय इटालियन खेलाडी फेड्रिको गाट्टीले अन्तिम समयमा गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको थियो । गाट्टीले दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा जवाफी गोल गरेका थिए । उनलाई पल पोग्बाले पास उपलब्ध गराएका थिए । त्यसअघि खेल सुरु भएको २६औं मिनेटमै सेभिलका लागि युसुफ नेसिरीले गोल गरेका थिए ।

सेभिल युरोपा लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलको दोस्रो लेग खेल आगामी जेठ ५ गते सेभिलको घरेलु मैदानमा खेलिने छ । सेभिल सबैभन्दा बढी युरोपा लिगको उपाधि जित्ने क्लब हो ।

सेभिलले हालसम्म ६ पटक युरोपा लिगको उपाधि जितेको छ । पछिल्लो पटक सेभिलले सन् २०२० मा युरोपा लिगको उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा सेभिलले इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले हराएको थियो ।

युभेन्ट्सले भने हालसम्म ३ पटक युरोपा लिगको उपाधि हात पारेको छ । युभेन्ट्स १ पटक भने उपविजेता बनेको छ । युभेन्ट्सले पछिल्लो पटक सन् १९९३ मा युरोपा लिगको उपाधि जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप