सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा हिमोफिलियाका बिरामीले पाउँदैनन् उपचार

उपचारमा सहज हुनेगरी नीति तथा कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री सिंह
शुक्रबार, २९ वैशाख २०८०, १६ : ५०
शुक्रबार, २९ वैशाख २०८०

सुर्खेत । कर्णालीमा हिमोफिलियाका बिरामीले सहज रुपमा उपचार पाउन नसकेको पाइएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कर्णालीमा रहेका हिमोफिलियाका बिरामीले उपचार पाउन नसकेको स्वास्थ्य अधिकारीहरुले बताएका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशमा हिमोफिलियाका १७४ जना बिरामी छन् । त्यसमध्ये ३४ जनाले नियमित उपचार सेवा लिइरहेका छन् भने त्यस बाहेकका बिरामीले उपचार पाउन सकिरहेका छैनन् ।

रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । यस रोगका कारण शरीरमा निल डाम देखिने, जोर्नी तथा मांशपेसी सुन्निने र दुख्ने गर्छ । पछिल्लो जनगणनामा देशभर ४ हजार ९३७ जना हिमोफिलियाका बिरामी पहिचान भएको हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेले बताए । हिमोफिलिया सामन्यता वंशाणुगत संक्रमण रहेको उनको भनाइ छ ।

कतिपय अवस्थामा अन्य कारणले पनि यो रोग हुने उनले बताए । ‘यो संक्रमण पुरुषबाट नभई महिलाबाट सर्ने भएकाले उहाँहरूले विभेद भोग्नुपरेको छ,’ उनी भन्छन्, ‘सामाजिक विकृतिका रूपमा लिने गरिएको दुःखद् अवस्था छ ।’ उनका अनुसार औषधि उपचार नपाएर बर्सेनि ३÷४ जनाको ज्यानसमेत जाने गरेको छ । उनी भन्छन्, ‘व्यक्ति आफैँले उपचार गर्नसक्ने अवस्था छैन । हिमोफिलिया सोसाइटीसँग सीमित स्रोत छ । अब उपचारको सम्पूर्ण जिम्मा राज्यले नै लिनुपर्छ । कर्णाली प्रदेशमा विशेष पहल गर्न मन्त्रीलाई आग्रह गर्दछु ।’

वीर अस्पतालका डा.निरजकुमार सिंहले पहिचान र उपचारको अभावमा नेपालमा हिमोफिलिया देखिएका ९९ प्रतिशत व्यक्तिमा अपाङ्गता हुने समस्या रहेको बताए । हिमोफिलिया न्यूनीकरणका लागि लगाइने खोपको प्रतिडोज १२ हजार ५०० पर्ने र हप्तामा कम्तीमा पनि चार डोज दिनुपर्ने उनको भनाइ थियो । उनले हिमोफिलियाको आधारभूत सेवा प्रदेशबाटै प्रदान गर्नुपर्नेमा जोड दिए ।

यता कर्णालीका अर्थमन्त्री बेदराज सिंहले यो रोगबारे आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता जनाए । कर्णालीका जनताले अहिले पनि सर्वसुलभ स्वास्थ्य सेवा नपाइरहेको भन्दै मन्त्री सिंहले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले हिमोफिलियाका बिरामीको उपचारमा सहज हुनेगरी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सक्दो व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाए ।

‘हिमोफिलियाका बिरामी कर्णाली प्रदेशमा पनि रहेको र उहाँहरूले उपचार सेवा प्रभावकारी रूपमा नपाएको पाइएको छ,’ उनले भने, ‘कतिपय बिरामी उपचारका लागि सम्पर्कमा नपुगेको सुन्दा दुःख लाग्यो । म प्रदेश सरकारको मन्त्री हुनुका नाताले त्यस्ता बिरामीको उपचारका लागि प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने प्रयत्न गर्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप