मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रभसिमरनको सतकमा पञ्जाबको जित, उपाधि होडबाट बाहिरियो दिल्ली

आइतबार, ३१ वैशाख २०८०, ०८ : ०२
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पञ्जाब किङ्ले महत्वपूर्ण जित हासिल गरेको छ । पञ्जाबले दिल्ली क्यापिटल्सलाई उसैको मैदानमा ३१ रनले पराजित गरेको हो ।

जितसँगै पञ्जाब अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पञ्जाबले प्ले अफ चरणमा पुग्ने सम्भावना पनि कायमै राखेको छ । पञ्जाबले १२ खेलबाट १२ अंक बटुलेको छ । निराशाजनक प्रदर्शन गरेको दिल्लीले हालसम्म १२ खेलबाट ८ अंक जोडेको छ । प्ले अफ चरणमा पुग्ने दिल्लीको सम्भावना पनि समाप्त भएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रनमात्र बनाउन सक्यो ।

पञ्जाबको जितमा २२ वर्षीय युवा ब्याट्सम्यान प्रभसिमरन सिंहले सतकीय पाली खेले । ओपनर ब्याट्सम्यान प्रभसिमरनले टोलीका लागि १ सय ३ रनको योगदान गरे । आक्रामक ब्याटिङ गरेका उनले केवल ६५ बलको सामना गरी ६ छक्का र १० चौका पनि हिर्काए ।

टीट्वान्टी क्रिकेटमा उनले बनाएको यो दोस्रो सतक हो । उनी म्यान अफ दि म्याच पनि घोषित भए । यसदेखि वाहेक मध्यक्रमका ब्याट्सम्यान साम कुर्रनले २० र सिकन्दर राजाले अविजित ११ रन बनाए । पञ्जाबका अन्य ब्याट्सम्यानले भने दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।

कप्तान शिखर धवन ७ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । पञ्जाबले अतिरिक्त रुपमा १३ रन पाएको थियो । दिल्लीका बलर इशान्त शर्माले २ विकेट लिए । अक्षर पटेल, प्रबिन दुवे, कुलदिप यादव र मुकेश कुमारले पनि १-१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको दिल्लीका लागि ओपनर ब्याट्सम्यान डेबिड वार्नरले अर्धसतकीय पाली खेले । उनले ५४ रन बनाए ।  उनले २७ बलको सामना गरी १ छक्का र १० चौका हिर्काए । वार्नर र फिल साल्टले ओपनिङ विकेटका लागि ३८ बलमा ६९ रनको साझेदारी गरे ।

विकेटकिपर ब्याट्सम्यान साल्टले १७ बलमा ३ चौकाको मद्दतले २१ रन बनाए । माथिल्लोक्रमका अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किए । कसैले पनि दोहोरो सँख्यामा रन बटुल्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान अमन हकिम खानले १८ बलमा १ छक्का र १ चौकाको मद्दतले १६ रन बनाए ।

प्रविन दुबेले पनि १६ रन जोडे । कुलदिप यादव १० रनमा अविजित रहे । पन्जाबका बलर हरप्रित ब्राअरले ४ विकेट लिए । राहुल चहर र नाथन एलिसले पनि २-२ विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप