आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

आइतबार, ३१ वैशाख २०८०, १० : ०७
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । 

आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले भने, ‘केशव दुलाल र सानु भण्डारी थुनामा परेपछि उनीहरूका दाजु–भाइसँग शेर्पाले बालकृष्ण खाँणले लिएको रकम फिर्ता गर्ने कागज समेत गरेको थाहा भएको छ ।’

तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाएका छन् । थुनामै रहेका केशव दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्, ‘मन्त्री खाँण र सचिव पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’

१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाँणलाई प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाँणका स्वकिय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् । केसीलाई प्रहरी वृत लैनचौरको हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप