आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शीर्ष दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरण प्रवेश

आइतबार, ३१ वैशाख २०८०, १६ : ५२
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरु बीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताएका छन् । बालुवाटारमा आइतबार बिहान बसेको शीर्ष दलका नेताहरूको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्रवेश पाएको नेम्वाङको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपनेता नेम्वाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरु बीचमा छलफल भएको बताए । त्यसक्रममा शीर्ष नेताहरूले संविधान र कानुनअनुसार काम कारबाही अघि बढाउन कुनै हस्तक्षेप नहुने बताएको नेम्वाङको भनाइ छ ।

‘प्रसङ्गवश यो विषय उठेको थियो, तपाईँहरू तीन नेता बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो ?’, नेम्वाङले बैठकमा भएको संवादबारे भने, ‘मैले तपाईँहरूको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यू र नेताहरूलाई । तपाईँहरू तीन जना नेता त जुनसुकै बेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथंकदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निष्कर्षमा छौँ, त्यो संविधान कानुन बमोजिम निष्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ ।’

उपनेता नेम्वाङले शीर्ष नेताहरूको बैठकमा संसदीय गतिविधिहरू र विधेयकहरूलाई अघि बढाउन समझदारी बनेको पनि बताए । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमवारदेखि विषयगत समितिहरूको बैठक र सङ्घीय संसद्को संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको जानकारी दिए ।

उनले सोमवारबाट संसदीय समिति चलायमान बनाउने र संसदबाट समितिमा गएका विधेयकहरू पनि अघि बढाउने कुरामा सहमति भएको बताए । ‘केही दिनपछि सत्तापक्ष र प्रतिपक्षका नेताहरूको बीचमा प्रधानमन्त्रीजी, प्रतिपक्षका नेता केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीचमा छलफल भइरहेको थियो, त्यो राम्रो हो’, नेम्वाङले भने,‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने लगायत संविधान निर्माणको प्रक्रिया त्यसलाई हामी सबै मिलेर एउटा निष्कर्षमा पुर्‍यायौँ, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलहरू आधारभूत रूपमा एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा नेताहरू पुग्नुभएको छ ।’

शान्ति प्रक्रियासम्बन्धी विधेयक हाल कानुन समितिमा पुगेकाले उपसमितिहरू बनाएर टुङ्गोमा पुग्न दलहरू सहमत भएका छन् । ‘यी सबै विषयमा दलहरूको बीचमा समझदारी कायम भएको छ । संवैधानिक परिषद्लाई टुङ्गोमा पुर्‍याउने, सुनुवाइ समिति गठन गर्ने, जुन संयुक्त समिति छ, त्यसमा नियमावली आवश्यक परिमार्जन गरी सबै काम अघि बढाउने, समितिको नेतृत्व चयन गरेर अघि बढ्ने निर्णय गरेका छौँ’, नेम्वाङको भनाइ  छ ।  

यसैगरी शीर्ष नेताहरूको बैठकले प्रतिनिधिसभाका विषयगत समितिहरूमा सङ्घीय संसदमा कायम रहेको सदस्य सङ्ख्याका आधारमा नेतृत्व दिने सहमति जुटेको छ । ‘जनताले दिएको जनादेश अनुसार हामी अघि बढाउने कुरामा सहमति भएको छ । सार्वजनिक लेखा र संयुक्त तथा अर्को एउटा समिति समेत प्रमुख प्रतिपक्षलाई तीनवटा समितिको नेतृत्व गर्न दिने अरू दलको बीचमा सहमतिअनुसार निर्णय गर्ने कुरामा सहमति छ’, नेम्वाङको भनाइ छ । उपनेता नेम्वाङले शीर्ष नेताहरुबीच शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने लगायतका विषयमा चाँडै सहमति जुटाउने निर्णय भएको पनि बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप