आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

पूर्व सिँचाइमन्त्री गौतम किन बसे पुल मुनि आमरण अनशन ?

सोमबार, ०१ जेठ २०८०, ११ : ००
सोमबार, ०१ जेठ २०८०

बुटवल । पूर्व सिँचाइमन्त्री तथा प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतम बाँके जिल्लाको जब्दीघाटस्थित भत्किएको पुल मुनि शनिबार साँझदेखि आमरण अनशन बसेका छन् । उनलाई प्रदेशसभा सदस्यदेखि स्थानीय जनप्रतिनिधिहरुले साथ दिएका छन् ।

लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीदेखि लिएर नगरपालिकाका मेयर, वडा अध्यक्षहरू एकपछि अर्को गर्दै उनलाई साथ दिनेको भिड लागेको छ । पूर्वमन्त्री गौतमले उठाएको मुद्दाका कारण उनलाई साथ दिनेको घुइँचो लागेको हो ।

पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको केही महिनामै जब्दीघाटको पुल २०७४ साउनमा भासिएको थियो । ०७६ असोज २० गते बबई नदीमा आएको बाढीले पुल बगाएको थियो । पप्पु कन्स्ट्रक्सनले साढे १६ करोडभन्दा बढी लागतमा बनाएको पुल उद्घाटन हुन नपाइ भासिएको ६ वर्ष बितिसक्दासमेत अझै  निर्माण हुन सकेको छैन ।

बर्खामा  सदरमुकाम गुलरिया र वार बर्दिया नगरपालिकाका झन्डै १ लाख स्थानीय बासिन्दा यो पुल नबन्दा प्रभावित हुँदै आएका छन् । हुलाकी सडकमा पर्ने यो पुल तत्काल निर्माण गर्नुपर्ने मागसहित पूर्वमन्त्री गौतम आमरण अनशन बसेका हुन् । विभिन्न ठाउँमा आफूले पुल निर्माणका लागि आवाज उठाए पनि ध्यान नदिइएका कारण पुल मुनि नै आफू आमरण अनशन बस्नु परेको उनले रातोपाटीलाई बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गौतमले बबई नदीस्थित जब्दीपुलमा भत्किएको संरचना हटाई नयाँ पुल निर्माण गर्नुपर्ने, जिल्लामा पूर्ण जोखिममा रहेका तटबन्धनको बाँकी काम तत्काल गर्नुपर्ने, मुलुककै राम्रो र कम लागतमा निर्माण भएको मानिएको बबई सिँचाइ आयोजना तीन वर्षमा सम्पन्न गर्ने गरी बजेट सुनिश्चित हुनुपर्ने, भुरी गाउँको तेलपानी–सुर्खेत सडकखण्ड यसै वर्ष निर्माण गर्नुपर्ने माग अघि सारेका छन् ।

2 pul

यस्तै गुलरियाको मुर्तिया नाका तुरुन्त सञ्चालन गर्नुपर्ने लगायत १५ बुँदे माग राख्दै उनले आमरण अनशन थालेका हुन् । अनशनमा बस्नु अघि पूर्वमन्त्री तथा सांसद गौतमले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएका थिए ।

आफ्नै दलसमेतको समर्थन र सहभागितामा बनेको सरकार भए पनि सदनबाट माग उठाउँदा पूरा नभएपछि जनताको भावना कदर गर्दै आफू अनशनमा बस्न बाध्य भएको गौतमले रातोपाटीलाई बताए ।

'जब्दीघाटको पुल भत्किएको सात वर्ष भइसक्यो । तपाईंहरुले पनि त्यसको समाचार लेख्नु भएको थियो । सात वर्षभयो न त्यसको स्पान कसैले हटाउँछ, न नयाँ पुल बनाउने तिर ध्यान दिन्छ । भत्किएको पुलको स्पानले नदीमा बाँधजस्तो बनेकाले वर्षाको बाढी बस्तीमा पस्छ । सदरमुकाम गुलरियालगायतका बस्तीमा डुबान हुन्छ,' उनले भने

भत्किएको पुल हटाउ र नयाँ पुल बनाउ भनेर धेरै धाउँदा पनि आफ्नो कुरा नसुनिएको उनको गुनासो छ । 'मैले सदनदेखि सडकसम्म कोसिस गरें । संसदमा विशेष समय, शून्य समयमा कुरा राखें । नेता, मन्त्री, कर्मचारीलाई भेटेर पनि कुरा राखें । राज्य गम्भीर भएन भन्ने अनुभूति भयो मलाई । मैले पहल गर्दागर्दै थाकें अनि बाध्य भएर अनशन सुरु गरें,' सांसद गौतमले भने ।

गौतम बर्दियाको क्षेत्र नम्बर १ बाट तेस्रो पटक सांसद भएका हुन् । उनलाई रिले अनशन बसेर साथ दिएका भुवनेश्वर चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौतमले आफू आमरण अनशनमा बसेपछि सरकार पक्षबाट अहिलेसम्म माग सम्बोधनका विषयमा केही प्रतिक्रिया नआएको बताए । 'माग पूरा नभएसम्म मेरो आमरण अनशन जारी रहन्छ । मैले राखेका मागमा नेपाल सरकार गम्भीर बनोस् । ती मागहरु पूरा गरोस् । बर्दियालाई, बर्दियाका जनतालाई अपहेलित नगरोस्,' सांसद गौतमले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप