आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा अर्थमन्त्री लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी

सोमबार, ०१ जेठ २०८०, २३ : १५
सोमबार, ०१ जेठ २०८०

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मन्त्री लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख शर्माले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो ।

यसअघि प्रदेशको ११ मन्त्रालयमध्ये ६ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त भएका थिए भने ५ मन्त्रालय मन्त्रीविहीन अवस्थामा थियो । सत्तारुढ दलहरुबीच भागबन्डा नमिल्दा सरकारलाई पूर्णता दिन समस्या हुँदै आएपछि मुख्यमन्त्री जम्कट्टेलले थप ३ मन्त्रालयको जिम्मेवारी लामालाई सुम्पिएका हुन् । लामालाई ३ मन्त्रालय थमाउँदा समेत प्रदेशको २ मन्त्रालय अझै मन्त्रीविहीन अवस्थामा रहेको छ ।

यससँगै प्रदेशको ११ मन्त्रालयमध्ये ५ वटा कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले ४ मन्त्रालय सम्हाल्दै आएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् । २ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेल आफैं मातहत राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप