सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका अध्यक्ष भन्छन्–मेसीलाई फर्काउन जुनसुकै मूल्य चुकाउन तयार छौं

मङ्गलबार, ०२ जेठ २०८०, १४ : ३२
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष हुवाँ लापोर्टाले बार्सिलोना लियोनल मेसीको आफ्नै घर भएको टिप्पणी गरेका छन् । उनले आफूहरु अर्जेन्टिनी स्टार मेसीलाई पुनः बार्सिलोना फर्काउने तयारीमा रहेको पनि बताएका छन् ।

उनले सम्भवतः आगामी समरमै मेसी बार्सिलोना फर्कने पनि प्रतिक्रिया पनि दिएका छन् । ३५ वर्षीय मेसी सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका थिए । पीएसजीसँग मेसीको सम्झौता आगामी जुनमा सकिँदै छ ।

पछिल्लो समय मेसी ठूलो धनराशीमा साउदी अरेबियाको क्लबमा आबद्ध हुने चर्चा पनि चरिहेको छ । तर, पछिल्लो समय बार्सिलोनाका अध्यक्ष लापोर्टाले आफूहरु मेसीलाई पुनः पुरानै क्लबमा फर्काउन आतुर रहेको बताएका छन् ।

अध्यक्ष लापोर्टले स्पेनिस टेलिभिजन ‘टीभी ३’ सँगको कुराकानीमा मेसीलाई बार्सिलोना फर्काउन आफूहरु जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । ‘बार्सिलोना मेसीको घर हो । हामी मेसीलाई फर्काउन जुनसुकै मूल्य चुकाउन पनि तयार छौं,’ उनले भनेका छन्, ‘हाम्रो मनोबल उच्च छ र हामीलाई विश्वास छ, इतिहास फेरि फर्कने छ ।’

अध्यक्ष लापोर्टले विश्वभर बार्सिलोनाको ४० करोड समर्थक रहेको उल्लेख गर्दै मेसीलाई बार्सिलोना फर्काउन त्यसले पनि ठूलो भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे । बार्सिलोनामा २१ वर्ष लामो समय बिताएर मेसी २ वर्षअघि पीएसजीमा आबद्ध भएका थिए ।

अध्यक्ष लापोर्टले पछिल्लो समय आफू निरन्तर मेसीको सम्पर्कमा रहेको रहश्य पनि खोलेका छन् । मेसीको नेतृत्वमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेपछि पनि आफूले मेसीलाई बधाइ दिएको उनले बताए ।

‘अहिले मेसी पीएसजीका खेलाडी हुन् । त्यसैले हामी उपयुक्त समयको प्रतीक्षामा छौं,’ उनले भनेका छन् । मेसीलाई भित्राउन आफूहरु साउदी अरेबियाको क्लबलाई चुनौती दिनसमेत समक्ष रहेको उनले बताएका छन् ।

‘हामी साउदी अरेबियालाई सम्मान गर्छौं तर, मेसीलाई भित्राउनका लागि हामी जसको चुनौती पनि स्विकार्न तयार छौं,’ अध्यक्ष लापोर्टले भनेका छन् । आइतबार राति बार्सिलोनाले ला लिगाको उपाधि जित्ने पक्का भएपछि अध्यक्ष लापोर्टको यस्तो भनाइ सार्वजनिक भएको हो । ‘मेसीलाई बार्सिलोना फर्काउन हामी हरसम्भव प्रयास गर्नेछौं र मलाई विश्वास छ, हामी आफ्नो अभियानमा सफल पनि हुनेछौं ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप