सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

६ पटकको विजेता सेभिल फेरि युरोपा लिगको उपाधिनजिक

शुक्रबार, ०५ जेठ २०८०, ०६ : ५५
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौं । स्पेनिस क्लब सेभिल युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिल बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा प्रभावशाली इटालियन क्लब युभेन्ट्सलाई हराउँदै फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा सेभिलले युभेन्ट्सलाई अतिरिक्त समयमा २—१ गोलले हराएको थियो । उक्त नतिजापछि सेभिल ३—२ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुग्न सफल भएको हो ।

अघिल्लो साता युभेन्ट्सको मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा १—१ गोलको बराबरीमा सकिएको थियो । सेमिफाइनलको दोस्रो लेग खेलको निर्धारित समय पनि १—१ गोलको बराबरीमा सकिएपछि दुबै टोलीको कुल गोल भिन्नता २—२ गोल भएको थियो ।

त्यसपछि हारजितको निर्णयका लागि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अन्ततः अतिरिक्त समयमा गोल थप्दै सेभिल फाइनलमा पुग्न सफल भयो । निर्धारित समयको ६५औं मिनेटमा दुसान भाल्होभिचले युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

खेलको ७१औं मिनेटमा सेभिलका सुसोले जवाफी गोल फर्काउँदै खेललाई १—१ को बराबरीमा ल्याएका थिए । त्यसपछि अतिरिक्त समय (९५औं मिनेट)मा सेभिलका लागि एरिक लामेलाले निर्णायक गोल गरेका थिए । लामेलाले ब्रायन गिलको पासमा गोल गरेका हुन् ।

खेलको ११५औं मिनेटमा सेभिल १० खेलाडीमा समेटिएको थियो । सेभिलका डिफेन्डर मार्कोस अकुना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । स्पेनिस क्लब सेभिल हालसम्म सबैभन्दा बढी युरोपा लिगको उपाधि जित्ने टोली हो । सेभिलले हालसम्म ६ पटक युरोपा लिगको उपाधि जितेको छ ।

सेभिलले आफू फाइनलमा पुगेको हरेक सिजनमा उपाधि जितेको तथ्याङ्कले देखाउँछ । पछिल्लो पटक सेभिलले सन् २०२० मा युरोपा लिगको उपाधि चुमेको थियो । सेभिलले उपाधिका लागि फाइनलमा इटालियन क्लब एएस रोमाको सामना गर्नेछ ।

फाइनल खेल मे ३१ तारिखमा हंगेरीको बुढापेस्टमा खेलिने छ । युरोपेली क्लब फुटबलमा च्याम्पियन्स लिगपछिको दोस्रो ठूलो प्रतियोगिता हो, युरोपा लिग ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप