आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मञ्च व्यवस्थापन

अव्यवस्थित सार्वजनिक कार्यक्रमलाई व्यवस्थित गर्ने कसरी ?

शुक्रबार, ०५ जेठ २०८०, १० : ३३
शुक्रबार, ०५ जेठ २०८०

शिलान्यास, उद्घाटन वा अन्य कुनै सार्वजनिक कार्यक्रमको आयोजना हाम्रो समाज र हाम्रा नेताको दैनिकी नै बनिसकेको छ । दिनहुँ राजनीतिक दल, भ्रातृ सङ्गठन, सामाजिक संघ–संस्था र सरकारी संस्थाका कार्यक्रम हुन्छन् । यसो सोचौँ त, घन्टौँ लगाएर गरिने यस्ता कार्यक्रम कति अनुत्पादक होलान् । 

मञ्च व्यवस्थापनको भद्दा शैलीले सहभागी मात्रै होइन, कहिलेकाहीँ अतिथि र वक्ता स्वयं आजित हुन पुग्छन् । यहाँ मञ्च व्यवस्थापनमा हामीले गर्दै आएको अभ्यास र सुधार गर्नुपर्ने पक्षबारे चर्चा गरिँदै छ । 

लोकतान्त्रिक बहुदलीय व्यवस्थामा विविध विषयका सभा–सम्मेलन, छलफल, वैचारिक वा सांस्कृतिक प्रस्तुति आदि स्वाभाविक मानिन्छ । यस्ता कार्यक्रममा सभाध्यक्ष, प्रमुख आमन्त्रित व्यक्तित्व, विशेष आमन्त्रित व्यक्तित्व, अतिथि, प्रमुखवक्ता नाम दिएर बोल्न लगाउने आम चलन छ । 

आमन्त्रित व्यक्तिलाई खादामाला लगाएर स्वागत गर्ने, कार्यक्रमको अन्त्यमा उपहार वा मायाको चिनो प्रदान गरेर बिदाइ गर्नेजस्ता प्रक्रिया छन् । चर्को माइक, खादामाला लगाएका मञ्चासीन व्यक्तिका चर्का भाषण अनि आयोजकको तर्फबाट मायाको चिनो दिँदा–लिँदा कार्यक्रम सफल भएको मान्ने हाम्रो बुझाइ एकातर्फ छ, तर सहभागी र सरोकारवालामा कार्यक्रमबारे गलत सन्देश पुगेको विषयमा कमै ध्यान दिने गरिएको छ । कतैकतै मञ्चमा बस्ने अतिथि धेरै, दर्शक कम हुने गरेको पनि भेटिएला । 

हाम्रा अधिकांश कार्यक्रम निर्धारित समयमा सुरु हुँदैनन् । ‘नेपाली समय’ भनेर उडाउन आयोजक नै पछि पर्दैनन् । ‘ठूला मान्छे’ भन्ने नाममा अत्यन्तै व्यस्त वा बेसरोकारका व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गर्दा समयको परिपालनामा कार्यक्रम सञ्चालकले हैरानी बेहोर्नुपरेको अवस्था छ । कार्यक्रमको उद्देश्य र भावसँग असम्बन्धित व्यक्तिलाई सहभागी गराउँदा कार्यक्रमको उद्देश्यमै चुनौती थप्छ । 

मञ्चमा बोलाइएकाको नाम, तह, उसको उपाधि, संलग्नता लगायत विषय नखुलेको भन्दै धमाधम चिट दिने प्रचलन पनि हामीकहाँ छ । कतिपय अवस्थामा अतिथिले उद्घोषकबाट पारिवारिक पृष्ठभूमिको व्याख्याको समेत अपेक्षा राखेको पाइन्छ । 

पट्यारलाग्दो ढंगले प्रयोग हुने खादा र मालाको प्रयोग औपचारिक कार्यक्रमको अर्को सुधार गर्नुपर्ने पक्ष हो । घाँटीले नै नधान्ने गरी फूलको माला, अझ कतिपय अवस्थामा त आलु, सुन्तला, धानको बिउ आदिको माला लगाइदिने अभ्यासले माला लगाउने र मालाविहीन सहभागीबीच ऊच–नीचको भावना पैदा गर्छ । धेरै सहभागी मञ्चमा हुने र ‘पोर्टफोलियो’ मिलाउने नाममा कार्यक्रम सञ्चालकलाई मञ्च व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्छ ।

मन्तव्यका लागि वक्ता चयनका क्रममा देखिने जटिलता मञ्च व्यवस्थापनको अर्को चुनौती हो । सामान्यतः उपल्लो ओहोदा पदको अतिथिले पछाडि मन्तव्य राख्ने चलन छ, तर यसमा क्रमभंगता हुँदा कार्यक्रम बिथोलिएको पनि देखिन्छ । कार्यक्रम सञ्चालकले ‘मर्यादा क्रममा तल–माथि भए मानवीय गल्ती सम्झनुहोला क्षमा चाहन्छु’ भन्ने जस्ता वाक्य पटकपटक दोहो¥याउँदा कार्यक्रम खल्लो बन्न पुग्छ । 

अर्कोतिर अघिल्ला वक्ताले लामो समय बोल्दा पट्यार मानेर प्रमुख वक्ताको समयसम्म कतिपय सहभागी बस्दैनन् । हरेक वक्ताको पछाडि ‘आसन ग्रहणलाई पुनः जोड्न चाहन्छु’ भन्दै मञ्चमा आमन्त्रण गर्दा मञ्चासीनलाई मात्र नभई सहभागीलाई समेत अप्ठेरो अनुभूति हुन्छ । धेरै वक्ता हुँदा पछिल्लो वक्ताले नयाँ विषय पस्कनुपर्ने हुन्छ, यसो हुँदा ब्यानरमा उल्लिखित विषयलाई नाघेर वक्ताले प्रस्तुति दिने समस्या छ ।

यस प्रकार कार्यक्रम सञ्चालनको शैलीले कार्यक्रमको लक्ष्य, उद्देश्य हासिल नभई नितान्त कार्यक्रमहरू औपचारिकतामा मात्र सीमित हुने गरेका छन् । व्यक्ति, संस्था र सरकारको बजेट खर्च भएको छ, तर अपेक्षित प्रतिफल हासिल गर्न सकिएको छैन । देशैभरका टोल, वडा, पालिका, प्रदेश र संघीय स्तरका हजारौँ कार्यक्रम दैनिकजसो सञ्चालन हुने गरेका छन् । कार्यक्रमको उद्देश्यहरू जेजे भए पनि अन्तिम लक्ष्य सुख, शान्ति र समृद्ध नेपाल निर्माण नै हो । यस्तो महान् लक्ष्य बोकेर गरिने तमाम कार्यक्रमको यही शैलीका कारण समयको सत्यनास मात्रै भइरहेको छ । 

समय र फजुल खर्च रोक्न कार्यक्रम सञ्चालन शैलीमा परिवर्तन गर्नु आजको आवश्यकता हो । यस प्रकारको शैली सुधार गर्न कार्यक्रम सञ्चालनपूर्व, कार्यक्रम सञ्चालनको दौरानमा निम्न कुरा सुधार गर्नैपर्छ ।

कार्यक्रम सञ्चालनपूर्व सुधार्नुपर्ने 

प्रस्ट कार्यक्रम तालिका तयार गर्नुपर्छ । सकेसम्म प्रविधिमैत्री बन्ने, प्रोजेक्टर भएको ठाउँमा ब्यानरको प्रयोग नगर्ने, ब्यानर प्रयोग गर्नैपरे सानो ब्यानर प्रयोग गर्नुपर्छ । कार्यक्रमको हलमा अनावश्यक बेलुन र ध्वजापताकाको प्रयोग नगरी मञ्चतर्फ राष्ट्रिय झन्डा र आयोजकको एउटा–एउटा झन्डा प्रयोग गर्न सकिन्छ ।

कार्यक्रममा अतिथिको संख्या धेरै हुनु उपलब्धि होइन । कार्यक्रमबाट के पाइयो त्यो उपलब्धि हो । त्यसैले कम र विषयवस्तु बुझेकालाई निमन्त्रणा गर्नुपर्छ । एक दिनअगावै कार्यक्रममा कसलाई वक्ता बनाउने निर्णय गरी बोल्ने विषयवस्तु र समयसीमा जानकारी दिने ।

मञ्च व्यवस्थापन गर्दा सकेसम्म अतिथि र सहभागी एकैतिर बस्न मिल्ने गरी तयार गर्नुपर्छ । साउन्ड सिस्टम, जेनेरेटर, ब्याट्रीलगायत अन्य आवश्यक उपकरण बेलैमा परीक्षण गर्नुपर्छ । कार्यक्रममा आमन्त्रित अतिथिहरूको नामसहित कार्यक्रम तालिका मञ्चको अगाडि लेखेर टाँस्नुपर्छ ।

कार्यक्रम सञ्चालनको क्रममा सुधार्नुपर्ने 

कार्यक्रम निर्धारित समयमै सुरु गर्ने । कार्यक्रममा खादामाला, ब्याचको प्रयोग नगर्ने, फूल भए हातमा दिने । 

कार्यक्रमको प्रकृति हेरेर सानो कार्यक्रममा पाँचजनासम्म र ठूलो कार्यक्रममा दशजनासम्मलाई आसन ग्रहण गराउने । अन्य अतिथिहरूले कार्यक्रमको स्टेजमा टाँसिएको नामको आधारमा स्वयं आसनग्रहण गर्ने र अन्य आकस्मिक, पछुवा (पछि आउने) अतिथि, सहभागीलाई एकमुष्ठ यथास्थानमा आसन ग्रहण गराउने । निर्धारित समयभन्दा ढिला आउने प्रमुख आमन्त्रित व्यक्तित्वबाहेक अन्य आमन्त्रित व्यक्तिलाई आसनग्रहण नगराउने । आयोजक कमिटीको अध्यक्षबाहेक तल्लो कमिटीका कसैलाई पनि आसन ग्रहण नगराउने ।

राष्ट्रियगानको प्रयोग गर्दा राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०७९ को दफा १४ बमोजिम सतर्क अवस्थामा उभिएर शिर ठाडो पारी उच्च र उल्लासपूर्ण आवाजमा गाउने । सतर्क अवस्थामा खुट्टा जोडेर सीधा उभिने र हात तल सपक्क गोडामा टाँसिएको हुनुपर्छ ।

अघिल्लो दिनमै छनोट गरिएका वक्तालाई मात्र बोल्न दिने र यसमा सहभागी र प्रमुख वक्ताको समय व्यस्ततालाई ख्याल गर्दै प्रमुख वक्तालाई कार्यक्रमको सुरु, मध्यम र अन्तिममा जतिबेला बोल्न उचित हुन्छ, उतिबेलै बोल्न दिनुपर्छ ।

सानो कार्यक्रममा बढीमा तीनजना र ठूलो कार्यक्रममा बढीमा पाँचजना मात्र वक्तालाई राख्नुपर्छै । कार्यक्रमको प्रमुख अतिथि नै प्रमुख वक्ता हुनुपर्छ भन्ने छैन, किनकि प्रमुख अतिथि सम्मानित व्यक्ति हुन सक्छन्, तर प्रमुख वक्ता विषयगत विज्ञ नहुन सक्छन् । 

मन्तव्यको समयमा वक्ताले कसैलाई पनि सम्बोधन नगर्ने, आयोजकले प्रदान गरेको समय र विषयमा मात्र कुरा राख्ने । वक्ताले बोलिसकेपछि कार्यक्रम सञ्चालक व्याख्याता नबनी धन्यवाद मात्र भनेर अर्को वक्तालाई आमन्त्रण गरिहाल्ने ।

कार्यक्रममा ‘मायाको चिनो’ नदिने । दिनैपरे प्रमुख आमन्त्रित व्यक्तिलाई मात्र दैनिक जीवनमा प्रयोग हुने कम मूल्यको पुस्तक, डायरी, राष्ट्रिय महत्त्व दर्शाउने वा स्थानीय स्तरमा उत्पादित चिज, वस्तु मात्र दिने ।

हाम्रा अधिकांश कार्यक्रममा देखिने कमजोर पक्ष ‘मायाको चिनो वितरण’ पनि हो । अतिथि (प्रमुख वा अन्य) लाई सम्मान गर्ने नाममा फ्रेम, सम्मानपत्र आदि दिइन्छ । कहिल्यै प्रयोगमा नआउने तर खर्चिला ‘मायाको चिनो’ दिने–लिने प्रचलनमै सुधार्नुपर्छ । अझ सरकारी कार्यक्रमहरूमा अन्य शीर्षकमा खर्च गर्न नसकिएको बजेट मायाको चिनो शीर्षकमा खर्च गरी महँगा ‘मायाको चिनो दिने’ प्रचलन छ । यसको नियन्त्रण गर्नु अनिवार्य छ । यस्तो शीर्षकमा खर्च गरे बेरुजु वा भ्रष्टाचार गरेको ठहरिने ऐन–नियम बनाउनुपर्छ ।

कार्यक्रमको अन्त्यतिर कार्यक्रम स्थलमा प्रवेश गरेर पनि मञ्चको अग्रभागमा आसनको अपेक्षा राख्ने आमप्रवृत्ति छ । मञ्च सजावटको तडकभडक, आसनग्रहण, स्वागत, धन्यवाद, मायाको चिनो वितरण, सम्मानजस्ता कस्मेटिक पक्षमा बढी जोड दिँदा हाम्रा कार्यक्रमको उपादेयतामाथि प्रश्न चिह्न खडा भई आमसहभागितामा समेत ह्रास हुँदै आएको छ । यस प्रकारको भद्दा शैलीले दैनिकजसो लाखौँ मानिसको सँगसँगै अमूल्य समय र अर्थतन्त्र खेर गइरहेको छ । 

सार्वजनिक कार्यक्रमलाई व्यवस्थित बनाउने थालनी राजनीतिक दल र हामी युवाबाटै गरिनुपर्छ । हामी आफू सहभागी हुने कार्यक्रम समयमै सुरु नभए बहिष्कार गरिदिनुपर्छ । आयोजकलाई कार्यक्रम छोटो समयमा सक्न, महँगा मायाको चिनो नदिन एकपटक सुझाव दिन सकिन्छ । एकपटक भनेपछि अर्कोपटक पक्कै त्यो कार्यान्वयन हुन्छ । सुधारको अपेक्षा एकैपटक गर्नु पनि हुँदैन । एउटाले गरेको अर्कोले देख्छ । उसले पनि त्यसलाई पछ्याउँछ । यसरी नै मञ्च व्यवस्थापन र कार्यक्रम सञ्चालन सभ्य हुन्छ । 

(पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत पोखरेल नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु पोखरेल
विष्णु पोखरेल
लेखकबाट थप