सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अग्रता जोगाउन नसक्दा आर्मी खुमलटारसँग बराबरीमा रोकियो

शुक्रबार, ०५ जेठ २०८०, २० : ०२
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा खुमलटारसँग अंक बाँडेको हो । यससँगै आर्मीलाई चौथो स्थानमा उक्लिने मौका गुमेको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका दुई विदेशी फरवार्ड मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।

रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो हाफको खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । २–१ ले पछि परेसँगै खेलमा फर्किन निकै प्रयास गरेको खुमलटारका लागि ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन र अंक बाँड्न बाध्य बने । यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।

लिग अन्तर्गत शुक्रवार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफ क्लवमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । हिमालयन शेर्पाले पहिलो हाफमा ३–० को अग्रता लिँदा दोस्रो हाफमा दुई गोल खान पुगेको थियो । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा हिमालयनलाई जित दिलाउन खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे भने एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काएका थिए । शुरुवातबाट एपिएफलाई दबाब दिएर खेलेको हिमालयनको यससँगै जारी लिगमा छैठौं जित निकालेको छ । जितसँगै हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ । लिगमा शनिवार एक मात्र खेल थ्री स्टार क्लव र सातदोबाटो युथ क्लवबीच दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप