सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सन्धु कप फुटबलमा आर्मी र एपीएफसहित ८ टोली

शुक्रबार, ०५ जेठ २०८०, २० : ०६
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौं । सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको यो नवौं संस्करण हो । आयोजक युथ स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सञ्चालन हुने जनाएको हो । 

सिन्धुपाल्चोकस्थित लामोसाँघुको वसन्तपुर खेल मैदानमा हुने उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा २ विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पनि सहभागी हुनेछन् । 

यसैगरी प्रतियोगितामा प्लानिङ ब्वाइज युनाइटेड, झम्सिखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, आयोजक युथ स्पोर्टस क्लब, काभ्रे जिल्ला फुटबल एसोसियसन र दोलखा जिल्ला फुटबल एसोसियसनको पनि सहभागिता रहने बताइएको छ ।

 

सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ ।

 

यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट प्रशिक्षकले पनि जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप