आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री महत

शनिबार, ०६ जेठ २०८०, १४ : ०६
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको टिमसँग  छलफल गरेका छन्। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री महतले अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा छलफल गरेका हुन् । छलफलमा अर्थमन्त्री डा.महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सांसदहरुको जवाफ दिँदै मन्त्री डा.महतले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।’
 
मन्त्री महतले नेपालमै उत्पादनलाई कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘यही उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ’ उनले भने, ‘नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं ।’ 

मन्त्री डा. महतले ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्नुपर्नेमा जोड दिए ।  ‘कार्यान्वयन हाम्रो मूल चुनौती हो । ९ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु’ मन्त्री महतले भने, ‘९ महिनासम्म के गरेर बस्यो ?. बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गर्छौं । यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं । यसबारे गृहकार्य भइरहेको छ ।’ 

यसरी काम गर्दा पूँजीगत खर्चको प्रभावकारिता बढ्ने पनि मन्त्री महतले बताए ।  ‘यो भयो भने हाम्रो पूँजीगत खर्चको प्रभावकारिता बढ्छ । पूँजी प्रवाह बढ्छ, यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्छ भन्ने विश्वास मैले लिएको छु । समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु ।’ 

छलफलमा मन्त्री महतले भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइनसकेको बताए । उनले भने, ‘हाम्रो साउँ व्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पूँजीगत खर्चमा दबाब सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ,  सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट भाग्न सक्दैनौं । यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ ।’ 

यो असन्तुलनका बीचमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले भने, ‘पूँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग श्रोत सीमित छ । यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ । मेरो आधारसहितको तर्कलाई माननीयज्यूहरुले बुझिदिनु हुनेछ ।’  बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए । अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप