आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री महत

सोमबार, ०८ जेठ २०८०, २१ : २३
सोमबार, ०८ जेठ २०८०

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन् । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्। छलफलमा अर्थमन्त्री डा.महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेकोमा सांसदहरुलाई जवाफ दिँदै मन्त्री डा. महतले आफू व्यक्ति र पार्टीभन्दा पनि माथि उठेर काम गरिरहेको बताए ।

‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं’ अर्थमन्त्री डा.महतले भने,‘यहीँ उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं’ मन्त्री महतले भने ।

‘ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो । समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार नै हुनुहुन्छ’ उनले भने ।  सो अवसरमा अर्थमन्त्री महतले अहिले व्यापक सुधारको आवश्यकता रहेको बताए । उनले भने, ‘ज्ञान र अनुभवलाई म उपयोग गर्छु । म ठूलो स्वरमा कुरा गर्दिन । सुधारको आवश्यकता छ,यसका लागि इमान्दारीका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन । अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिनेछन् । धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ ।’

उनले एउटा व्यक्तिको फाइदाका लागि काम नगर्ने बताए । ‘समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु’ महतले भने, ‘सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात म हेरिरहेको छु । यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप