सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महान प्रशिक्षक जसले जिताए तीन फरक लिगका तीन क्लबलाई लगातार तीन तीन उपाधि

मङ्गलबार, ०९ जेठ २०८०, १० : २७
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । पछिल्लो समय विश्व फुटबल वृत्तमा चर्चाको शिखरमा छन्, प्रशिक्षक पेप ग्वार्डिओला । म्यानचेस्टर सिटीलाई यो सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि चुमाएसँगै उनले युरोपका प्रतिष्ठित तीन फरक लिगका तीन क्लबलाई लगातार तीन तीन उपाधि  जिताउने कीर्तिमान बनाएका छन्। 

५२ वर्षीय यी स्पेनिस प्रशिक्षकले युरोपियन फुटबलमा जुन उचाइ बनाए का छन्, त्यो धेरैका लागि लामो समयसम्म एकादेशको कथा बन्ने निश्चित छ । निरन्तरको कडा परिश्रम, प्रशिक्षणको नितान्त फरक शैली, खेलाडीको क्षमतालाई चिन्नसक्ने अभूतपूर्व क्षमता, केही यस्ता पक्ष हुन् जसले ग्वार्डिओलालाई विश्व फुटबल क्षितिजमा नयाँ पहिचान दिएको छ । 

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको पछिल्लो उपाधि जिताएपछि ग्वार्डिओलाले आफ्नो समयका महान स्कटिस प्रशिक्षक सर एलेक्स फर्गुसनको उपलब्धिलाई समेत ओझेलमा पारेका छन् । उनले म्यानचेस्टर सिटीलाई लगातार ३ वटा प्रिमियर लिग उपाधि चुमाएका छन् ।

ग्वार्डिओलाको प्रशिक्षकत्वमा म्यानचेस्टर सिटीले प्रिमियर लिगका पछिल्ला ६ मध्ये ५ वटा उपाधि हात पारेको छ । प्रिमियर लिगको आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १—० गोलले हरायो । तर, त्यसअघि नै म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि चुमिसकेको थियो । निकटतम प्रतिद्वन्द्वी आर्सनललाई नटिङ्घम फरेष्टले हराएपछि म्यानचेस्टर सिटीको उपाधि पक्का भएको थियो ।

यसअघि प्रशिक्षकको भूमिकामा ८१ वर्षीय फर्गुसनले मात्र आफ्नो क्लबलाई लगातार ३ पटक प्रिमियर लिगको उपाधि दिलाएका छन् । फर्गुसनले म्यानचेस्टर युनाइटेडलाई यस्तो सफलता दिलाएका थिए । उनी सन् १९८६ देखि सन् २०१३ सम्म म्यानचेस्टर युनाइटेडका प्रशिक्षक थिए ।

सन् २०१३ को मे ८ तारिखमा प्रशिक्षकको भूमिकाबाट विदा लिनुअघि फर्गुसनले आफ्नो क्लबलाई १३ वटा प्रिमियर लिग उपाधि चुमाएका थिए ।

‘ग्वार्डिओला महान प्रशिक्षक हुन्, किनभने उनले विभिन्न क्लबलाई महत्त्वपूर्ण उपाधिमात्र चुमाएका छैनन्, सँगसँगै फुटबलको दिशा नै परिवर्तन गरेका छन्,’ फुटबल लेखक जामी रेडन्याप भन्छन् ।

ग्वार्डिओला स्पेनिस ‘पावर हाउस’ बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखका पनि पूर्वप्रशिक्षक हुन् । यी दुवै क्लबलाई प्रशिक्षकको भूमिकामा ग्वार्डिओलाले दिलाएको सफलता पनि लोभलाग्दो छ । यी ३ वटै क्लबलाई प्रशिक्षकको भूमिकामा ग्वार्डिओलाले १४ सिजनमा ११ वटा घरेलु लिगको उपाधि चुमाएका छन् ।

यसका अतिरिक्त उनले विभिन्न क्लबलाई २८ वटा महत्त्वपूर्ण उपाधि पनि दिलाएका छन् ।

उनी सन् २००८ मा बार्सिलोनाको सिनियर टोलीको प्रशिक्षक बनेका थिए । त्यसअघि १ सिजन उनले बार्सिलोनाकै ‘बी’ टोली पनि समालेका थिए । उनको प्रशिक्षकत्वमा बार्सिलोनाले सन् २००८÷०९, सन् २००९÷१० र सन् २०१०÷११ सिजनको उपाधि चुमेको थियो ।

यसैगरी ग्वार्डिओला सन् २०१३ देखि सन् २०१६ सम्म जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षकको भूमिकामा थिए । उनको प्रशिक्षकत्वमा बायर्न म्युनिखले सन्  २०१३÷१४, सन् २०१४÷१५ र सन् २०१५÷१६ सिजनको उपाधि चुमेको थियो ।

यो सिजन ग्वार्डिओलाको प्रशिक्षकत्वमा म्यानचेस्टर सिटी थप २ वटा महत्त्वपूर्ण उपाधिको नजिक पुगेको छ । म्यानचेस्टर सिटीले आगामी जुन ३ तारिखमा वेम्बलीमा म्यानचेस्टर युनाइटेडसँग एफए कपको फाइनल खेल्दै छ ।

यसैगरी म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ । च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले आगामी जुन १० तारिखमा टर्कीको इस्तानबुलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ ।

यी दुई प्रतियोगिताको उपाधि जितेमा प्रशिक्षक ग्वार्डिओलाले ब्यवसायीक फुटबलमा अर्को उचाइ हासिल गर्नेछन् । हालसम्म म्यानचेस्टर युनाइटेड सर एलेक्स फर्गुसनको प्रशिक्षकत्वमा म्यानचेस्टर युनाइटेडले मात्र एकै सिजन इङ्लिस प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप