आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट

यस्तो छ यातायात पूर्वाधारतर्फ आगामी आर्थिक वर्षको बजेट

सोमबार, १५ जेठ २०८०, १९ : ५३
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक बर्ष २०८०–०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विनियोजन गरेको छ । सोमबार संघीय संसदमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेका छन् ।  पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिने बताउँदै उनले नारायणगढ बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने बताए । 

कमला–ढल्केवर–पथलैया, वुटवल–गोरूसिङ्गे, काकडभिट्टा– लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गर्ने, नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि  ३१ अर्ब २ करोड विनियोजन गरेको जानकारी दिए ।  यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर, रामेछाप, नुवाकोट, पर्वत, बाग्लुङ, जाजरकोट लगायतका विभिन्न १२ खण्डको निर्माण तथा स्तरोन्नति गर्न ३ अर्व ९६ करोड बजेट छुट्याएको बताए । 

यस्तै हुलाकी राजमार्ग अन्तर्गत तराइ मधेशका विभिन्न जिल्लाका आठ खण्डको सडक निर्माण तथा स्तरोन्नति गर्न  ३ अर्व ४९ करोड रुपैयाँ बजेट छुट्याएको बताए ।  अर्थमन्त्री महतले मदन भण्डारी राजमार्ग अन्तर्गत इलाम, सुनसरी, गुल्मी, रोल्पा, सुर्खेत, कैलाली र डडेल्धुरा खण्डको निर्माण तथा स्तरोन्नतिका लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । 

२०८३ सालभित्र सम्पन्न गर्ने गरी काठमाडौं–तराई–मधेश द्रुतमार्गको निर्माण कार्य अगाडि बढाइएको, आगामी आर्थिक वर्ष ठेक्का लाग्न बाँकी खण्डको ठेक्का व्यवस्थापन गरिने, काठमाडौं–तराई मधेश दु्र्तमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।  राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटलाई ट्रयाक खोल्ने कार्य सम्पन्न गरी सडक सञ्जालमा जोडिने, कर्णाली कोरिडोर अन्तर्गत खुलाल–सलिसल्ला खण्ड र हिल्सा–सिमिकोट खण्ड निर्माणका लागि ९७ करोड रुपैयाँ विनियोजन गरेको बताए । 

कालीगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–बाग्लुङ्ग खण्ड र बेनीजोमसोम–कोरोला खण्ड गरी थप साठी किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गरिने, कालीगण्डकी कोरिडोर सडक निर्माणका लागि १ अर्व ५८ करोड बजेट व्यवस्था गरेको जानकारी गराए ।  महाकाली कोरिडोरको बम्हदेव–झुलाघाट–दार्चुला र दार्चुला–टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि रु ४५ करोड विनियोजन गरेको बताए । सेती राजमार्गको टिकापुर–लोडे–चैनपुर र चैनपुर–तक्लाकोट खण्ड निर्माण गर्न रु ३० करोड विनियोजन गरेको बताए । 

खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडकलाई प्राथमिकताका साथ अघि बढाउन रु २५ करोड, दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिको लागि ३० करोड रुपैयाँ बजेट छुट्याएको जानकारी गराए ।  भेरी कोरिडोर अन्तर्गत जाजरकोट–दुनै खण्डको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइने, भेरी कोरिडोर आयोजनाका लागि ५० करोड रुपैयाँ, राप्ती राजमार्गको दाङ–सल्यान  रुकुम खण्डको स्तरोन्नतिलाई तीब्रता दिन ९० करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताए । 

गोरखाको ११ किलो–छेपेटार–भालुस्वारा–वारपाक सडक निर्माण तथा स्तरोन्नति गर्न रु ८० करोड विनियोजन गरेको, डुम्रे–बेसीशहर–चामे मनाङ सडक स्तरोन्नति गर्न ३४ करोड विनियोजन गरेको बताए ।  पासाङ ल्हामु राजमार्गको तीनपिप्ले–रानीपौवा सडक खण्डको मर्मत तथा स्तरोन्नतिका लागि ५० करोड, तमोर कोरिडोरको सुवाङ खोला–गणेश चोक र ओलाङ्चुङगोला–तिम्तला खण्डको निर्माण कार्यलाई निरन्तरता दिन ८० करोड रुपैयाँ विनियोजन भएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप