घानाका गायक लितेले गाए एलिनाको ‘पागल बनायौ’ गीत
बुधबार, १७ जेठ २०८०, १७ : ५९
काठमाडौँ । चर्चित गायिका एलिना चौहानले केही समय अगाडि सार्वजनिक गरेको गीत ‘पागल बनायौ’ घानाका गायक लितेले पनि गाएका छन् । लितेले गीत कभर भर्सनमा गाएका हुन् ।
सुजन कोइरालाको शब्द र नविन कार्कीको संगीत रहेको गीत लितेले आफ्नो स्वरमा निकै राम्रो तवरले गाएका छन् ।
लितेले स्टुडियोमा गाएको यो गीतको भिडियो समेत रेकर्ड गरिएको छ । ४ दिन अगाडि युट्युबमा सार्वजनिक गीतले अहिलेसम्म ५४ हजार बढी भिउज पाएको छ ।
लितेले यस अगाडि प्रकाश सपुतको फुलमाया र गाजलु ती ठुलाठुला आँखा बोलको गीत समेत गाएका छन् । लिते घानाको निर्माता, गायक र गीतकार पनि हुन् ।