आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

अर्थमन्त्री महतले भने–संसद् विकास कोष पुँजीगत बजेट नै हो

सोमबार, २२ जेठ २०८०, २० : ०६
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद् विकास कोषको गलत प्रचारप्रति दुःख व्यक्त गरेका छन् । पूर्वाधार विकास कोषको रुपमा संसद् विकासलाई अघि सारिएको भएपनि सांसदहरूलाई बाँड्ने पैसाको रुपमा बुझिएको भन्दै उनले असन्तुष्टि जनाए ।

सोमबार राजधानीमा आर्थिक मिडिया सञ्चालक संघ (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा।महतले अहिलेको संसद् विकास कोष पहिलेको जस्तो नभएर परिमार्जित र परिष्कृत भएको बताए ।

'अहिले सांसद विकास कोष भनेर होहल्ला गरिएको छ । यसलाई मिडियाहरुले पनि नबुझी हल्लाकै पछि लागेर हेडलाइन बनाइरहेका छन् । यसरी बुझ्दै नबुझी हल्लाको पछि लाग्नु भएन', अर्थमन्त्री महतले भने,'यो पुँजीगत खर्च नै हो ।'

कोष भनेर यसको सकारात्मक पक्ष छायामा पारिएको भन्दै अर्थमन्त्री महतले संसद् विकास कोषको रकम सांसदहरुले आफूखुसी खर्च गर्न नपाउने बताए ।

'१ करोडभन्दा बढीको परियोजना कार्यक्रम ठेक्का लाग्छ। यसको कार्यविधि आउँछ । यो सांसदहरूले आफूखुसी खर्च गर्ने पैसा होइन', उनले भने,'सांसदहरूले त कार्यक्रम सिफारिस गर्ने मात्र  हो ।'

सांसदहरूले बढीमा ५ वटा कार्यक्रमसम्म सिफारिस गर्न सक्ने उनले बताए ।

सोही अवसरमा अर्थमन्त्री महतले सांसदहरु वडा अध्यक्षमा झरे भन्ने जस्ता हल्का टिप्पणी आएको भन्दै हल्लाको पछि नदौडिन सबैमा आग्रह गरे । 

अर्थमन्त्री महतले चालू आर्थिक वर्षमा जस्तै बाह्य व्यक्ति छिराएर करका दर हेरफेर गर्‍यो भन्ने जस्ता गलत आरोप समेत लगाउन थालेको भन्दै प्रमाणित गर्न चुनौती दिए । यदि प्रमाणित भए आफू जस्तोसुकै कारबाही व्यहोर्न तयार भएको उनले बताए । 

विद्युतीय गाडीको कर बढाएको भन्दै विरोध गरेकोमा आफूले व्यवहारिक पक्षलाई हेरेर मात्र करलाई व्यवस्थित गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप