सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
‘ए’ डिभिजन लिग

फुटबलमा  चर्च ब्वाइजको छलाङ : मनाङको कीर्तिमानसँग बराबरी

मङ्गलबार, २३ जेठ २०८०, १८ : ००
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । गत फागुन १९ गते जारी सिजनको ‘ए’ डिभिजन लिग सुरु हुँदा सायदै कसैले चर्च ब्वाइज युनाइटेड क्लबलाई च्याम्पियनको रूपमा हेरेको थियो । किनभने भर्खरै मात्र चर्च ब्वाइज क्लब ‘बी’ बाट ‘ए’ डिभिजनमा उक्लिएको थियो ।

अघिल्लो सिजन भएको ‘बी’ डिभिजन लिगमा १३ खेलबाट २९ अंक बटुल्दै चर्च ब्वाइज माथिल्लो डिभिजनमा उक्लिएको थियो । त्यतिबेला चर्च ब्वाइजसँगै खुमलटार युथ क्लब पनि ‘बी’बाट ‘ए’ डिभिजनमा उक्लिएको थियो । 

यस अर्थमा, ‘ए’ डिभिजनका लागि नवप्रवेशी क्लब थियो, चर्च ब्वाइज । तर, लिग अगाडि बढ्दै गएपछि भने चर्च ब्वाइजको प्रदर्शनले धेरैलाई आश्चर्यमा पार्‍यो । त्यसैको प्रतिफल हो, अन्ततः धेरैको अनुमान विपरीत चर्च ब्वाइज युनाइटेड क्लब यो सिजनको ‘ए’ डिभिजन लिग च्याम्पियन बन्यो ।

‘बी’ डिभिजनबाट माथिल्लो डिभिजनमा उक्लिएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि चुमेर चर्च ब्वाइजले आफूलाई कीर्तिमानी क्लबका रूपमा पनि उभ्याएको छ । चर्च ब्वाइजले नेपालको स्थापित क्लब मनाङ मर्स्याङ्दीको कीर्तिमानसँग बराबरी गरेको हो ।

यसअघि मनाङ मर्स्याङ्दीले मात्र ‘बी’बाट माथिल्लो सिजनमा उक्लिएकै वर्ष ‘ए’ डिभिजन लिगको उपाधि चुम्न सकेको थियो । मनाङ मर्स्याङ्दीले यस्तो सफलता २०४३ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेर बनाएको थियो ।

जारी सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबारको खेलअघि चर्च ब्वाइजलाई उपाधि जित्न केवल एक अंक आवश्यक थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै चर्च ब्वाइजले त्यो एक अंक बटुल्यो ।

त्यसपछि जारी सिजनको अन्तिम खेल खेल्नुअघि नै चर्च ब्वाइजले उपाधि जित्ने पक्का भयो । चर्च ब्वाइजले अझै एक खेल खेल्न बाँकी छ । चर्च ब्वाइज २५ खेलबाट ४५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइज तालिकाको दोस्रो स्थानमा आसिन मच्छिन्द्रभन्दा ६ अंकले अगाडि छ ।

अब बाँकी दुवै खेलमा विजयी भए पनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मछिन्द्रले २४ खेलबाट ३९ अंक जोडेको छ । चर्च ब्वाइजले हालसम्म खेलेका २५ मध्ये १२ खेलमा जित, नौ खेलमा बराबरी र चार खेलमा हारको नतिजा निकालेको छ ।  

चर्च ब्वाइजले महत्त्वपूर्ण उपाधि दिलाउने प्रशिक्षक हुन्, बालगोपाल महर्जन । उनी आफै पनि प्रभावशाली पूर्वखेलाडी हुन् । चर्च ब्वाइजको सफलतासँगै बालगोपाल पनि खेलाडी र प्रशिक्षकको भूमिकामा ‘ए’ डिभिजन लिग चुम्ने व्यक्तित्व बनेका छन् । बालगोपालले यसअघि खेलाडीका रूपमा थ्रीस्टार क्लबबाट खेल्दै ‘ए’ डिभिजन लिगको उपाधि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप