आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट

कोशी प्रदेश : पुँजीगत खर्च ५४ प्रतिशत, आम्दानी २९ अर्ब २१ करोडमात्रै

शनिबार, २७ जेठ २०८०, ०५ : ५३
शनिबार, २७ जेठ २०८०

विराटनगर । कोशी प्रदेश सरकारले खर्च गर्ने समयावधि असार मसान्त आउन अब पाँच हप्तामात्रै बाँकी छ । यो अवधिमा सरकारले पुँजीगत खर्चको प्रतिशत ४८ दशमलव ५६ प्रतिशत अर्थात् ११ अर्ब ३१ करोड १० लाख ४६ हजार रुपैयाँ गरेको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको यो तथ्याङ्क जेठ २५ गतेसम्मको हो । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३९ अर्ब ८७ करोड ३१ लाख ६९ हजार रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेको थियो । जसमा पुँजीगततर्फ २३ अर्ब २८ करोड ८८ लाख २० हजार रुपैयाँ रहेको छ ।

यस्तै प्रदेश सरकारले चालु खर्च १६ अर्ब ५८ करोड ४३ लाख ४८ हजारमध्ये ५४ दशमलव २६ प्रतिशत अर्थात् १० अर्ब ३२ करोड ६८ हजर ९६ हजार खर्च गरेको छ । चालु र पुँजीगत तर्फको खर्चको अवस्था भने ६२ दशमलव २६ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ७९ लाख ४२ हजार रुपैयाँ छ ।

प्रदेश सरकारको सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय भनेको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय (हालको भौतिक पूर्वाधार विकास मन्त्रालय) हो । उक्त मन्त्रालयको जम्मा बजेटमध्ये चालुतर्फ ३५ करोड ५७ लाख ६४ हजार रहे पनि पुँजीगत तर्फ भने १३ अर्ब ९० करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

जुन रकममध्ये पुँजीगत तर्फ उक्त मन्त्रालयले ६ अर्ब ७९ करोड ४० लाख ९१ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । यस्तै पुँजीगत बजेट धेरै रहेको अर्को मन्त्रालय भनेको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय हो ।

उक्त मन्त्रालयको जम्मा बजेट ६ अर्ब ३१ करोड ८६ लाख ६ हजार रुपैयाँ छ । जसमध्ये चालु खर्च ३१ करोड २३ लाख ८१ हजार हुँदा पुँजीगततर्फ भने ३ अर्ब २७ करोड ८ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।

बजेटको लक्ष्य अनुसार प्रदेश सरकारले अबको पाँच हप्तामा चालु र पुँजीगत गरी १८ अर्ब २३ करोड ५२ लाख २६ हजार रुपैयाँ खर्च गर्नुपर्नेछ ।

प्रदेश सरकारको खातामा २९ अर्ब २१ करोड १३ लाख ८४ हजार ४९८ रुपैयाँ जम्मा भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको चालु आर्थिक वर्षको जेठ २४ गतेसम्ममा उक्त रकम जम्मा भएको विवरण उपलब्ध गराएको छ । सरकारको ३९ अर्ब ८७ करोड ३१ लाख ६९ हजार रुपैयाँको अनुमानित आयमध्ये हालसम्म २९ अर्ब २१ करोड १३ लाख ८४ हजार जम्मा भएको हो ।

जुन रकममध्ये हालसम्म २१ अर्ब ६३ करोड ७९ लाख ४२ हजार खर्च भएर प्रदेश सरकारको बैंक खातामा झण्डै ९ अर्ब बाँकी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप