सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिन आग्रह

आइतबार, २८ जेठ २०८०, १० : १७
आइतबार, २८ जेठ २०८०

खजुरा । पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान थालिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो ।  

जिल्लाको राप्ती सोनारी गाउँपालिकाको वडा नं २ र ६ मा सिकलसेल एनिमियाका बिरामीको शिविर तथा परामर्श कार्यक्रम गरिएको हो । ती दुवै वडामा फेला परेका बिरामी, वाहक र उनका अभिभावकलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलगायतको टोलीले रोग र सोबाट जोगिनका लागि परामर्श दिए । 

वरिष्ठ फिजिसियन डा पाण्डेले यो रोगबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्ने जनाउँदै रगत जाँच गरेरमात्रै विवाह गर्ने तथा रोगी र रोगीबीच विवाह गर्न नहुने बताए । उनका अनुसार रगत जाँचपछि प्राप्त रिपोर्ट र सोही आधारमा वितरण गरिएको ‘कार्ड’ हेरेर मात्र विवाह गर्ने प्रचलन समुदायमा सुरु गर्नुपर्ने बताए । 

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकामा यो रोग बढ्न नदिन सबै उपाय अपनाइने जनाउँदै बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिए । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार राप्ती सोनारीका थारू बाहुल्य चारवटा वडामा करिब तीन हजार तीन सय १३ जनाको रगत जाँच गर्दा ११ सिकलसेलका बिरामी र तीन सय ७६ रोगका वाहक फेला परेका छन् । 

उनका अनुसार पछिल्लोपटक वडा नं ६ कमैयाडाँडामा छ सय ३१ जनाको नमूना जाँच गर्दा दुई जना रोगी र ३६ जना वाहक फेला परेको र वडा नं २ कञ्चनापुरमा चार सय ८७ जनाको नमूना जाँच गर्दा तीन रोगी र ४४ जना वाहक फेला परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप