आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विशेष शोमा मन्त्री, नेतादेखि कलाकारसम्मले हेरे चलचित्र नीरफूल

मङ्गलबार, ३० जेठ २०८०, ०६ : ३३
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरूले बताएका छन् । मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा प्रदर्शन भइरहेको यो चलचित्रको सोमबार काठमाडौँको वान सिनेमा हलमा विशेष शो आयोजना गरिएको थियो । 

समारोहमा यो चलचित्रलाई पूर्व उपप्रधानमन्त्री डा. भीम रावल, पूर्व मन्त्रीहरू बुद्धिमान तामाङ, परशुराम तामाङ, राप्रपाकी सांसद रोशन कार्की, युवा सङ्घका अध्यक्ष क्षितिज थेबे, पूर्व राजदूत डा गणेश योञ्जन, अभिनेत्रीहरू करिश्मा मानन्धर, पल्पसा डँगोल, अभिनेता गजित विष्ट, निर्देशक एवम् अभिनेता दिनेश डिसी, गायिका सुनिता दुलाल, पत्रकारहरू ऋषी धमला, उमेश चौहानलगायतले चलचित्र नीरफूल हेरे । सो क्रममा चलचित्र आफूहरूलाई निकै मन परेको प्रतिक्रिया उनीहरुले दिए ।

पूर्व उपप्रधानमन्त्री डा भीम रावलले चलचित्र नीरफुल हेरेपछि भने, ‘२०७२ सालका विनाशकारी भूकम्पलाई हामीले बिर्से पनि त्यसले पारेको असर अहिलेसम्म यो चलचित्रले समेटिएको रहेछ । नेपालीहरूलाई नेपालीले नै कसरी बिक्री गर्छन् भन्ने कुरा शरणार्थी प्रकरणमा अहिले ताजै रहेको बेला त्यस्तै कथा चलचित्र नीरफूलमा मैले हेर्न पाएँ ।’ नीरफूलले राज्य प्रणालीको धेरै समस्याहरूलाई समेत सशक्त रूपमा उतारिएको पनि उनले बताए ।

यस्तै पूर्व मन्त्री एवम् राप्रपाको नेता बुद्धिमान तामाङले आफूलाई निकै मन परेको रुबी भ्यालीलाई फिल्ममा अत्यन्त सुन्दर रूपमा हेर्न पाउँदा साह्रै आनन्द लागेको बताए । चलचित्रले राजनीतिक रूपमा धेरै कुराहरू समेत भन्न खोजेको उनले दाबी गरे ।

अर्का पूर्वमन्त्री पर्शुराम तामाङले नीरफूल झट्ट हेर्दा तामाङ समुदायको कथाजस्तो देखिए पनि यो फिल्ममा मुलुकका धेरै समस्याहरू उठाइएको बताए । राप्रपाकी नेतृ रोशन कार्कीले पनि चलचित्रको खुलेर प्रशंसा गरिन् ।

युवा नेता क्षितिज थेबेले राज्य प्रणालीको कमजोरी बुझ्न पनि युवाहरूले यो चलचित्र हेर्नुपर्ने दाबी गरे । ‘फिल्ममा सामाजिक राजनीतिक विषयलाई सशक्त रूपमा उठाइएको छ’, उनले भने, ‘आजको युवाले हेर्नुपर्ने फिल्म हो यो ।’

अभिनेत्री करिश्मा मानन्धरले भूकम्पका बेलाको मर्मस्पर्शी सन्दर्भ यो फिल्मले यतिबेला आफूलाई सम्झाएको बताइन् । देश कुन अवस्थामा गइरहेको छ भन्ने कुरा यो चलचित्रले दर्साएको उनले दाबी गरिन् ।

चलचित्र निर्देशक दिनेश डिसीले नीरफूल हेरेपछि आफूलाई निर्देशक फूलमानलाई पत्रकारिता जस्तै चलचित्र निर्देशनमा पनि त्यत्तिकै सशक्त रूपमा पाएको बताए । 

नीरफूलले उठाएको विषयवस्तु र यसमा प्रस्तुत भएका घटनाहरू सधैँ ताजा रहने प्रकारको रहेको प्रतिक्रिया उनले दिए ।

अभिनेता गजित विष्टले यो चलचित्रमा निर्देशक फुलमान बलले निकै सानो–सानो कुरामा मेहनत गरेर थुप्रै विषय बस्तुलाई सिनेमामा समान रूपमा उतार्न सकेको बताए ।

चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् ।

यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, गणेश थापा, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वालगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रलाइ दुबईबाट सोनाम डोमा, दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन् । फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप