सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

बुधबार, ३१ जेठ २०८०, २२ : ४९
बुधबार, ३१ जेठ २०८०

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गरेका थिए ।
समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी सहभागी  रहेका थिए । झण्डै १२ वर्षपछि दीक्षान्त समारोह आयोजना गरिएको हो । 

समारोहमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाबारे प्रकाश पारेका थिए । संसारभर मानवता, विश्वशान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउन भूमिका निर्वाह गर्न उनले दीक्षित छात्रछात्रालाई आग्रह गर्नुभयो । मन्त्री राईले कुनै जाति, वर्ग, समुदाय र पक्षसँग मात्र सम्बन्धित नभई संस्कृत वाङ्मय सबैको साझा सम्पत्ति भएका बताए ।

समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा यादव प्रकाश लामिछानेले शास्त्री तहको पाठ्यक्रम २२ वर्षपछि परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको जानकारी र्दिए। उनले आयुर्वेद स्नातक तह कक्षा बिएएमएस सञ्चालनमा ल्याएको र स्थापत्य शास्त्र अध्यापनका लागि पाठ्यक्रम तयारी अवस्थामा रहेको उल्लेख गर्दै उपकुलपति लामिछानेले एकीकृत प्राकृतिक चिकित्सा अस्पताल र आयुर्वेद जडीबुटी उद्यान निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए ।

सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका सभासद लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय र प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको थियो । 
दीक्षान्त समारोहमा २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एकवर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (बिएएमएस), आचार्य र विद्यावारिधि उतीर्ण गरेका चार हजार सात सय ७३ मध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ विद्यार्थी दीक्षित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप