आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमतीको बजेटबारे प्रतिपक्षको प्रतिक्रिया–नागरिक लक्षित छैन, भागण्डामा केन्द्रित

शुक्रबार, ०१ असार २०८०, १९ : १९
शुक्रबार, ०१ असार २०८०

मकवानपुर । बागमती प्रदेशका प्रतिपक्षी दलहरुले आर्थिक वर्ष २०८०/०८१ को बजेट नागरिक लक्षित नभएको टिप्पणी गरेका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ६२ अर्ब ७० करोड रुपैयाँको बजेट सत्ता पक्षबीच भागबण्डामा मात्र केन्द्रित रहेको उनीहरुको भनाइ छ । प्रदेश सरकारले बजेटमा ठोस योजनाहरु समेट्न नसकेको तथा बजेट विनियोजन सन्तुलित हुन नसकेको उनीहरुले बताएका छन् ।

बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारले बिचौलिया पोस्ने प्रकृतिको बजेट ल्याएको आरोप लगाएका छन् । बागमती प्रदेश सरकारले शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेता थपलियाले सरकारले विचौलियाहरुलाई फाइदा पुग्ने गरी सेटिङमा मेशिन औजार खरिद गर्ने योजना बजेटमा समावेश गरेको बताए ।

सरकारले हालसम्मकै सबैभन्दा कमजोर बजेट ल्याएको थपलियाको भनाइ छ । उनले दिगो विकासका १७ वटा आधारलाई बजेटले समेट्न नसकेको बताए ।

खाद्य सुरक्षा, सरसफाइ, रोजगारी सिर्जनातर्फ ठोस योजना बजेटमा समेटिन नसकेको थपलियाले बताए । सरकारले विगतका बजेटलाई नै सारेर केही टुक्रा योजना जोडेर सदनमा पेस गरेको उनको आरोप छ ।

‘बजेटमा व्यवस्थित योजना समावेश हुन सकेको छैन । जलवायु सन्तुलन, वातावरण संरक्षणका विषयमा प्रदेश सरकार मौन छ । परीक्षामा कमजोर विद्यार्थीले नोट र किताब सारेजस्तै विगतका बजेट र अन्य प्रदेशको टुक्राटुक्रा जोडेर पेस गरिएको छ,’ उनले भने ।

उनले पूर्वाधार आवास व्यवस्थापनका योजना बजेटमा छुटेको बताए । वातावरण सन्तुलन, जलवायु परिवर्तन, प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा सरकार मौन रहेको उनको भनाइ छ । प्रादेशिक शिक्षा रणनीति निर्माण, गुणस्तरीय शिक्षा लगायतका कार्यक्रम बजेटमा छुटेको थपलियाले बताए ।

‘विदेश पलायन हुने युवालाई रोक्ने, युवा उद्यमशीलता, रोजगारीतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । बजेटमा राजस्व वृद्धिका कुनै तथ्याङ्क नै छैन । पूर्व सरकारले ल्याएका गौरवका योजनालाई बेवास्ता गरिएको छ,’ उनले भने ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुग्ध र सहकारी बोर्ड जस्ता संरचनालाई पुनर्संरचनाको नाममा विघटन गर्नतर्फ सरकार अग्रसर रहेको थपलियाको आरोप छ ।

यता राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारले बजेटमा ठोस योजना समावेश गर्न नसकेको बताए । सरकारले परम्परागत शैलीमै बजेट ल्याएको उनको भनाइ छ ।

सरकारले ल्याएको बजेटमा नागरिकको जीवनस्तर उकास्ने प्रकृतिका योजना छुटेको उनले बताए ।

‘आर्थिक संकटका कारण आकार घटाएर बजेट ल्याइएको छ । तर, कार्यान्वयन पक्ष अत्यन्त कमजोर हुने देखिन्छ,’ उनले भने, ‘बजेटमा ठोस योजनाहरु पनि समावेश हुन सकेको देखिँदैन । सबै विषयहरु हुनेछ, गरिनेछ भन्ने प्रकृतिको आएको छ । त्यसैले बजेट कार्यान्वयनमा निकै चुनौती देखिन्छ ।’

थापाले सरकारले न्यायोचित रुपमा बजेट विनियोजन नगरेको गुनासो गरे । सरकारले प्रतिपक्षका भावना र सुझावहरुलाई पनि बजेटमा समावेश गर्न नसकेको उनको भनाइ छ ।

‘बजेटमा प्रस्ट रुपमा योजनाहरु पनि आएको देखिँदैन । केही वृहत् प्रकारका योजना बजेटमा आए पनि कार्यान्वयन हुने अवस्थामा देखिँदैन,’ उनले भने ।

त्यस्तै नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले निराशाजनक बजेट ल्याएको टिप्पणी गरेका छन् । सरकारको बजेटको आकारमात्र नभई चित्त पनि सानो बनाएर बजेट ल्याएको उनले बताए ।

भागबण्डाको भरमा ल्याइएको बजेटले नागरिकहरुको योजना समेट्न नसकेको उनको भनाइ छ ।

‘बजेट निराशाजनक छ । बजेटको आकारमात्र होइन, सरकारको चित्त र योजना पनि सानो छ,’ उनले भने, ‘बजेटमा ठोस योजना आउन सकेको छैन । बजेटको धरातल पनि कमजोर छ ।’

विगतको सरकारले ल्याएका बजेट फेल भएझैँ वर्तमान सरकारको बजेटले पनि खासै उपलब्धि दिन नसक्ने गोसाईंले बताए । सरकारले प्रतिपक्ष र विज्ञहरुले दिएको सुझावलाई समेत बजेटमा समावेश गर्न नसकेको उनले बताए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप