संघ सरकारले मधेस प्रदेशलाई सबैभन्दा कम अनुदान दिएको अर्थमन्त्रीको गुनासो
शुक्रबार, ०१ असार २०८०, २० : ३८
जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादवले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सबै प्रदेशभन्दा कम अनुदान दिएको गुनासो गरेका छन् ।
प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो गुनासो गरेका हुन् । उनले सबैभन्दा कम अनुदान प्राप्त भएको विषयलाई गम्भीर रूपमा लिएको बताए ।
उनले भने, संघीय सरकारबाट प्राप्त अनुदान रकम नै सरकार सञ्चालनको मूल स्रोत भएकोले जनतासँग गरेको आफ्ना प्रतिवद्धताहरु तत्काल पुरा गर्न संघबाट प्राप्त अनुदान अपर्याप्त छ ।
उनले नेपाल सरकारले संकलन गरेको राजश्वर संघ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण हुनुपर्ने माग पनि गरे । राजश्व बाँडफाँड गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नुपर्ने संवैधानिक व्यवस्था संघलाई उनले स्मरण गराए ।