सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

जिम्बाब्वेसँग केही लागेन नेपालको

आइतबार, ०३ असार २०८०, २० : ०१
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको छ । दुई सय ९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४४.१ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो ।

जिम्बाब्वेका लागि क्रेइग अर्भिन र सिन विलियम्सले शतकीय पाली खेले । ओपनर अर्भिनले अविजित एक सय २१ रन बनाए । कप्तान अर्भिनले एक सय २८ बलको सामना गरी एक छक्का र १५ चौका पनि प्रहार गरेका थिए । यसअघि अर्भिन र जोयलर्ड गुम्बीले ओपनिङ विकेटका लागि ४५ रनको साझेदारी गरे ।

362045

गुम्बीले टोलीका लागि २५ रनको योगदान गरे । उनी २९ बलमा पाँच चौकाको मद्दतले २५ रन बनाउँदै पेभेलियन फर्किए । उनलाई सोमपाल कामीले एलबीडब्लू आउट गराएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान वेस्ली माधेवेराले पनि जिम्बाब्वेका लागि ३२ रन बनाए । उनले ३८ बलको सामना गरी दुई चौका हिर्काएका थिए । उनलाई नेपाली बलर गुल्सन झाले दीपेन्द्रसिंह ऐरीमार्फत क्याच आउट गराए ।

जिम्बाब्वेका लागि अनुभवी ब्याट्सम्यान सिन विलियम्सले पनि शतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका विलियम्सले टोलीका लागि अविजित एक सय दुई रनको योगदान गरे । उनले ७० बलको सामना गरी एक छक्का र १३ चौका प्रहार गरे ।   

362047

त्यसअघि ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले घरेलु टोली जिम्बाब्वेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको थियो । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय भुर्तेल र आसिफ शेखले ३१.५ ओभरमा एक सय ७१ रनको साझेदारी गरेका थिए । एकदिवसीय क्रिकेटमा यो नेपालको कीर्तिमानी साझेदारी हो । एकदिवसीय क्रिकेटमा नेपालले यसअघि कुनै पनि विकेटका लागि यति ठुलो रनको साझेदारी गर्न सकेको थिएन ।

361997

यसअघि गत फेब्रुअरीमा भएको नामिबियाविरुद्धको एकदिवसीय खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि एक सय ३९ रनकोसाझेदारी गरेका थिए । नेपाली क्रिकेटको इतिहासमा त्यो नै सबैभन्दा ठुलो साझेदारी थियो ।

जिम्बाब्वेविरुद् भुर्तेलले ९९ रनको योगदान गरे । केवल एक रनका कारण शतक पूरा गर्नबाट चुकेका उनले ९५ बलको सामना गरी दुई छक्का र १३ वटा चौका प्रहार गरे । थप एक रन जोड्न सकेको भए उनी टेस्ट राष्ट्रविरुद्धको एकदिवसीय खेलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए ।

361995

अर्का ओपनर आसिफ शेखले पनि ६६ रन बनाए । उनले एक सय बलको सामना गरी सात चौका हिर्काए । आसिफ शेख आउट हुँदा टोलीको कुल स्कोर एक सय ७४ रन थियो । उनी ३३.५ ओभरसम्म क्रिजमा टिकेका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि टोलीको खातामा ४१ रन थपे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए । कप्तान रोहित पौडेलले पनि ३१ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका पौडेलले २९ बलमा पाँच चौका प्रहार गरे । मल्ल र कप्तान पौडेलले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

आरिफ शेखले १० र गुल्सन झाले १३ रन जोडे । भीम सार्की भने शून्य रनमै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । करण केसीले अविजित दुई रन जोडे । जिम्बाब्वेका बलर रिचर्ड नागाराभाले चार विकेट लिए । वेलिङ्टन मासाकाद्जाले पनि दुई विकेट हात पारे । टेन्डाई चाटारा र ब्लेसिङ मुजराबानीले एक÷एक विकेट लिए । नेपालले अतिरिक्त रूपमा २२ रन पाएको थियो ।

नेपाल र जिम्बाब्वेले यसअघि एकपटक ५० ओभरको खेल खेलेका थिए । सन् २०१८ मा जिम्बाब्वेमै भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बाब्वेले नेपाललाई एक सय १६ रनले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप