आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि : पदाधिकारीमा को–को दाबेदार ?

सोमबार, ०४ असार २०८०, ०९ : २३
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी)को ७ औँ राष्ट्रिय महाधिवेशन सोमबारबाट सुरु हुँदैछ । काठमाडौँमा हुन लागेको महाधिवेशन  असार ४ देखि ६ गतेसम्म चल्ने छ । 

महाधिवेशनको सोमबार दिउँसो १ बजे उद्घाटन हुनेछ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार बन्द सत्रको कार्यक्रम छ भने असार ६ गते मतदानको प्रक्रिया सुरु हुनेछ । 

एनटीयुसीले निर्वाचनको जिम्मा कांग्रेसकै शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)लाई दिएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने एनटीयुसीका वर्तमान महासचिव योगेन्द्र कुमार कुँवरले बताए । 

एनटीयुसीका उपसभापति तथा प्रचार समिति संयोजक अजयकुमार राईले महाधिवेशनमा करिब १५ सय प्रतिनिधि र प्रयवेक्षक सहभागी हुने जानकारी दिए ।  संयोजक राईले भने, ‘आजबाट प्रतिनिधि आउन सुरु भएको छ । २७ वटा हाम्रा आबद्ध संघ र ७७ वटा जिल्ला तथा ७ वटा प्रदेश अधिवेशन सम्पन्न भएर १५ सय जति प्रतिनिधि र प्रयवेक्षक आउँदैछन् ।’ उनका अनुसार एनटीयुसीमा चार लाखभन्दा बढी श्रमिक सदस्य रहेका छन् ।

पदाधिकारीमा को–को दाबेदार ?

एनटीयुसीको ४९ सदस्यीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष (खुला), उपाध्यक्ष (महिला), उपाध्यक्ष (सेवा), उपाध्यक्ष (उत्पादन), उपाध्यक्ष (अनौपचारिक)को व्यवस्था छ । 

यस्तै, महाचिव, दुई जना उपमहासचिव (खुला), उपमहासचिव (महिला) उपमहासचिव (सेवा), उपमहासचिव (उत्पादन), उपमहासचिव (अनौपचारिक), कोषाध्यक्ष र सह–कोषाध्यक्षको निर्वाचन हुन्छ । कांग्रेसको शुभेच्छुक संस्था एनटीयुसीमा नेपाल शिक्षक संघदेखि नेपाल प्रेस युनियनसम्म २७ वटा संस्था सम्बद्ध छन् । 

एनटीयुसीसँगै केन्द्रीय युवा समिति र महिला समितिको पनि चुनाव हुनेछ । युवा समितिमा अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सहसचिव, महिला सहसचिव  कोषाध्यक्ष  र दुई जना सदस्य हुने व्यवस्था छ । 

यस्तै, केन्द्रीय महिला समितिको राष्ट्रिय अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव १, सह–सचिव, कोषाध्यक्ष, सदस्य ६ निर्वाचित हुन्छन् । २ जना सदस्य भने अध्यक्षले मनोनीत गर्न पाउँछन् । १३ सदस्यीय महिला समितिमा क्षेत्रीय तथा आबद्ध संघका केन्द्रीय महिला अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ । 

माउ पार्टी कांग्रेसको संस्थापन र इतर पक्ष एनटीयुसीमा पनि प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने भएको छ । एनटीयुसीको अध्यक्षका लागि महेन्द्रप्रसाद यादव र योगेन्द्र कुमार कुँवरबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यादव वर्तमान वरिष्ठ उपाध्यक्ष र कुँवर महासचिव हुन् । 

यादव संस्थापन इतरपक्षीय उम्मेदवार हुन् भने कुँवर उपसभापति पूर्णबहादुर खड्का निकट मानिन्छन् । कुँवर पार्टीको संस्थापन पक्षको प्रतिनिधिका रुपमा चुनावी मैदानमा उत्रिने तयारीमा छन् । यसअघि उनी संस्थापन इतरपक्षबाट महासचिव जितेका थिए । 

अहिले कुँवर संस्थापन कित्तामा पुगेका छन् । वरिष्ठ उपाध्यक्षमा तपेन्द्रजंग कार्की, अयोध्याप्रसाद यादव, डिपी आचार्यको नाम चर्चामा छ । कार्की इतरपक्षीय हुन् भने यादव र अर्याल संस्थापन निकट हुन् ।

महासचिवमा अजय राई, गणेशबहादुर केसी र ध्रुवचन्द गौतम दाबेदार देखिएका छन् । राई र केसी संस्थापन इतरपक्षीय हुन् भने गौतम संस्थापन पक्षबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष मोहनबहादुर बस्नेत, संजय दाहाल, कुलबहादुर खड्का र रिसव घिमिरेको दाबेदारी छ । बस्नेत, दाहाल र खड्का संस्थापन इतरपक्षीय हुन् भने घिमिरे संस्थापन पक्षबाट आकाङ्क्षी देखिएका छन् । उपाध्यक्ष, उप–महासचिव र सदस्यका उम्मेदवारका लागि भने अहिलेसम्म कोही खुलेर आएको छैन ।

उपाध्यक्ष र उपमहासचिवका ६–६ जना उम्मेदवार टुङ्गो भोलिसम्म लाग्ने दुवै पक्षका अध्यक्षका दाबेदारको भनाइ छ । एनटीयुसीमा विगतदेखि नै संस्थापन इतरपक्षको बर्चश्व रहँदै आएको छ । इतरपक्षका कुँवरलाई अध्यक्षमा अगाडि सारेर संस्थापन पक्षले एनटीयुसीमा जित दर्ता गराउने रणनीति बनाएको छ । 

यद्यपि पछिल्लो एक वर्षमा कांग्रेसका चार वटा मुख्य शुभेच्छुक संस्थाको अधिवेशन हुँदा संस्थापन इतर पक्ष हाबी भएको देखिन्छ । नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) मा संस्थापन पक्षले पराजय बेहोरेको छ । 

एनटीयुसीबाट पार्टीको महाधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि जाने भएकाले पनि नेताहरुको चासो बढी रहन्छ । 

नेपाल ट्रेड युनियन कांग्रेसबाट अध्यक्षसहित ११ जना पार्टीको महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । २७ वटा शुभेच्छुक संस्था पनि यसकै मातहत हुने भएकाले कांग्रेस नेताहरुले एनटीयुसीको महाधिवेशनलाई विशेष महत्वका साथ लिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप