आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रालयमा खटपट

पर्यटन मन्त्रालयमा मन्त्री किराती र राज्यमन्त्री सिर्पालीबीच ‘कोल्ड वार’

निर्णय के हुन्छ भन्ने थाहै हुँदैन ः राज्यमन्त्री सिर्पाली
मङ्गलबार, ०५ असार २०८०, ११ : २६
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा चर्चित मन्त्रीमध्येका एक हुन् सुदन किराती । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालिरहेका उनै मन्त्री पछिल्लो समय एकपछि अर्को चर्चा र विवादमा समेत तानिन थालेका छन् ।

मन्त्री किरातीको काम गर्ने शैली र बोलीका कारण पार्टीभित्रैबाट उनको विरोध हुन थालेको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट पर्यटन मन्त्री बनेका किराती र एउटै पार्टीबाट सोही मन्त्रालयमा राज्यमन्त्री बनेकी सुशिला सिर्पाली ठकुरीबीच पनि मनमुटाब देखिएको छ ।

मन्त्री किरातीले आफूलाई मन्त्रालयको कुनै पनि महत्त्वपूर्ण निर्णयमा सहभागी नगराएको राज्यमन्त्री सिर्पालीको गुनासो छ । ‘मन्त्रीको क्षेत्राधिकार के हो र राज्यमन्त्रीको क्षेत्राधिकार के हुने हो ? सो मन्त्रालयको अधिकार प्रत्यायोजनमा स्पष्ट व्यवस्था गरिएको छ । अझ महत्त्वपूर्ण निर्णयहरूमा मात्र होइन, मन्त्रालयमा हुने हरेक गतिविधिको फाइल सिस्टम हुँदै राज्यमन्त्रीको टेबलबाट मन्त्रीकोमा जाने प्रणाली हो,’ उनले भनिन्, ‘तर, यसो भइरहेको छैन । मन्त्रीबाट के निर्णय हुँदैछ भन्ने थाहै हुँदैन ।’

ऐन निर्माण र दीर्घकालीन महत्त्वका निर्णयहरूमा समेत मन्त्री किरातीले आफूखुसी एकलौटी निर्णय गर्दै आएको राज्यमन्त्री सिर्पालीको आरोप छ । ‘मन्त्रीज्यू असफल हुनुभयो भने म पनि अफल हुनु हो । पार्टी असफल हुनु हो । अझ सरकार नै असफल हुनु हो । मिलेर काम गर्नका लागि नै राज्यमन्त्रीको पदीय व्यवस्था गरिएको हो,’ सिर्पालीले भनिन् ।

तर, मन्त्री किराती राज्यमन्त्रीको कुनै हैसियत नै नभएको जसरी अघि बढिरहेको सिर्पालीको आरोप छ । ‘हुन्छ–हुन्छ भन्नु हुन्छ तर काम आफैँ एक्लैले गर्नु हुन्छ । उहाँ मन्त्री हुनुभयो, भलै म राज्यमन्त्री । तर, यो होइन कि उहाँ सिनियर र म जुनियर । हामी एकै हैसियतका हौँ । अझ उमेरले त म उहाँभन्दा केही सिनियर नै हुँ,’ सिर्पालीले भनिन् ।

मन्त्री किरातीको पछिल्ला केही गतिविधिबाट प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत असन्तुष्ट रहेको समाचार बाहिरिएका छन् । केही समयअघि मात्र भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डकै विषयमा हल्का टिप्पणी गरेको भन्दै मन्त्री किरातीको विरोध भएको थियो ।

राज्यमन्त्रीलाई पर्यटन सचिवबाट पनि असहयोग

मन्त्री किरातीबाट मात्र नभएर आफ्नो काममा सचिवबाट समेत असहयोग भइरहेको राज्यमन्त्री सिर्पालीको आरोप छ । सोमबार पत्रकारहरूसँगको भेटमा राज्यमन्त्री सिर्पालीले मन्त्रालय र पर्यटन विभागको मानव संसाधन हेरफेरको विषयमा काम गर्न खोज्दा सचिव सुरेश अधिकारीले आफूलाई नटेरेको बताइन् ।

‘मन्त्रालय र विभागबीच कर्मचारीको विषयमा फाइल अघि बढाउनुस् भनेँ तर उहाँले मान्नु भएन । यतिमात्र होइन, यसअघिका मन्त्रालयमा भए गरेका महत्त्वपूर्ण निर्णयहरू, बाँकी अधुरा कामहरूको फाइल ल्याउनुस् भन्दा पनि उहाँले टेरिराख्नु भएको छैन । यसरी काम हुँदैन, बरु तपाई अन्यत्र सरुवा भएर जानुस् भनिदिएको छु ।’

सचिव अधिकारीमाथि टिप्पणी उठाइसकिएको राज्यमन्त्री सिर्पालीको भनाइ छ । ‘कि त उहाँले काम गर्नुपर्‍यो, कि सरुवा भएर अन्यत्रै जानुपर्‍‍यो । काम नगर्ने हो भने सँगै बस्न सकिँदैन,’ राज्यमन्त्री सिर्पालीले भनिन्, ‘मन्त्रालयले काम गर्न नसक्नु भनेको सरकार असफल हुनु हो । त्यसैले उहाँलाई सरुवा भएर जानुस् नै भनिदिएँ ।’

सोही अवसरमा राज्यमन्त्री सिर्पालीले पर्यटन ऐन संशोधन गर्न आफूहरू लागिपरेको समेत जानकारी दिइन् । ऐन संशोधनको विषय मन्त्रालय हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेको तर त्यहीँ अड्किएकाले समस्या भएको उनले बताइन् ।

कानुन मन्त्रालयबाट स्वीकृत भएपछि मात्र ऐन संशोधनको मस्यौदा मन्त्रिपरिषद्मा पेस हुने हुँदा काम अघि बढ्न नसकेको राज्यमन्त्री सिर्पालीको भनाइ छ । खासगरी ऐनमा हिमाल सरसफाई लगायतको मुद्दामा संशोधनको प्रस्ताव गरिएको उनले जानकारी दिइन् ।

पर्यटन गतिविधिलाई जिल्ला संरचनामा पनि लैजाने

राज्यमन्त्री सिर्पालीले पर्यटन मन्त्रालय र पर्यटन गतिविधिलाई जिल्ला संरचनामा समेत लैजाने तयारी भएको जानकारी दिइन् । अन्य मन्त्रालयहरूको कार्यगत संरचनाहरू स्थानीय तह, जिल्ला जिल्लामा हुँदा काम गर्न सहज भएको तर पर्यटन मन्त्रालयको त्यस्तो संरचना नभएकाले प्रतिफल आउन समस्या आएको उनले बताइन् ।

‘पर्यटन क्षेत्रको विकास एवं प्रवर्द्धनात्मक गतिविधिका लागि जिल्लास्तरसम्मको संरचनाको खाँचो महसुस भएको छ । प्रायः सबै मन्त्रालयको यस्तो संरचना छ । तर पर्यटन मन्त्रालयको नहुँदा काम गर्न कठिन भइरहेको छ,’ राज्यमन्त्री सिर्पालीले भनिन्, ‘यदि जिल्ला जिल्लामै पर्यटन मन्त्रालय तथा विभागको संरचना हुन्थ्यो भने त्यहाँको पर्यटन गतिविधि सञ्चालन तथा विकासमा थप टेवा पुग्ने थियो ।’

यसका लागि मन्त्रालयले तयारी थालिसकेको बताउँदै राज्यमन्त्री सिर्पालीले विज्ञहरूको सुझाव समेत लिइरहेको बताइन् । तर, राम्रो काम गर्दा अपजस आए पनि आफूहरूले त्यसलाई सहर्ष स्वीर्कादै पर्यटन क्षेत्रको दीगो विकासमा लाग्ने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप