आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भ्याट विवाद

भारतबाट आउन थाल्यो प्याज, रोकिएला कालोबजारी ?

मङ्गलबार, ०५ असार २०८०, १२ : ०१
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । व्यापारीले आन्दोलन घोषणा गरेको दुई सातापछि भारतबाट प्याज आयात सुरु गरेका छन् । सरकारले बजेटमार्फत आलु र प्याज लगायत केही कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) को घोषणा गरेको थियो । भ्याटको विरोधमा आलु र प्याज व्यापारीले भने भारतबाट आयात नै रोकेर आन्दोलन सुरु गरेका थिए ।

तर, आजदेखि भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा प्याजको कारोबार सुरु भएको छ । जेठ १५ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधि र राष्ट्रिय सभामा बजेट घोषणा गरेको भोलिपल्टदेखि नै प्याज आयातकर्ताले आयात नै रोकेर सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका थिए ।

बजेट घोषणा भएको मितिसम्म कालीमाटीको थोक बजारमा प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भएको प्याजको जेठ २२ गतेसम्म प्रतिकिलो ५९ रुपैयाँ पुगेको थियो । तर, त्यसयता भने कालीमाटीमा प्याजको कारोबार नै ठप्प भयो र समितिले मूल्यसूची नै हटाइदियो । व्यापारीले भन्सार प्रक्रिया पूरा गरेर आयात रोक्दै अनधिकृत आयात सुरु गरेका थिए ।

व्यापारीले आयात रोकेको करिब साता दिनपछि पत्रकार सम्मेलन गर्दै सरकारलाई भ्याट फिर्ता लिन चेतावनी दिएका थिए । नेपाल आलु प्याज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भनिएको थियो, ‘सरकारले भ्याट लगाएपछि हामीले प्याज आयात गरेका छैनौँ । तर, बजारमा प्याजको अभाव पनि छैन । यसमा मुख्य दोषी सरकार हो ।’

तर, व्यापारीले सरकारलाई दोष देखाउँदै प्याज लगायतका वस्तुमा लगाइएको भ्याटको विरोधमा आयात रोक्ने र तस्करीको नीति लिएका थिए । व्यापारीले आफ्नो अनौपचारिक सञ्जाललाई प्रयोग गर्दै भारतबाट प्याज ल्याएर उपभोक्तालाई महँगो मूल्यमा बेचिरहेका थिए । बजेट भाषणको दिनसम्म थोक मूल्यमा ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज त्यसपछि बजारमा १२० रुपैयाँसम्म पुग्यो ।

जबकि, ३५ रुपैयाँ प्रतिकिलोमा १३ प्रतिशत भ्याट लाग्दा ५२ रुपैयाँ आसपास मात्रै हुन्छ । थोक बजारमा कायम हुनुपर्ने नयाँ मूल्यमा कारोबार गर्नुपर्नेमा देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज ल्याउनै छाडेर सिधै खुद्रा पसलमा प्याज ‘सप्लाई’ सुरु गर्दै कालोबजारीलाई प्रोत्साहन गरेका थिए । ‘भ्याटको विरोधमा प्याज आयात रोकेको जस्तो गरेर भन्सार छलेर प्याज आइरहेको थियो,’ एक व्यवसायीले भने, ‘र, भन्सार छलेर ल्याउने व्यापारी पनि उनै थिए, जो पहिले ल्याइरहेका थिए ।’

उनका अनुसार यसअघिदेखि भारतबाट प्याज ल्याइरहेको व्यापारीले आयात रोक्नसाथ बजारमा नयाँ खेलाडीको प्रवेश असम्भव जस्तै छ । किनकि, नेपालको प्रत्येक क्षेत्रमा व्यवसायीले आफ्नो प्रभाव र प्रभुत्व जमाएका छन् । सोही कारण, बजेट अघिसम्म भन्सारमार्फत प्याज ल्याउने व्यापारीले नै भन्सार छल्दै कालोबजारी रोजेका हुन् । संघका अनुसार नेपालमा करिब ४०० व्यापारीले भारतबाट प्याज ल्याउँछन् । यसमध्ये अधिकांश तस्करीमार्फत ल्याएको प्याजको कालोबजारीमा लागेका थिए ।

संघका अध्यक्ष मोहन बानियाँ भने प्याजको आयात रोकिँदै नरोकिएको बताउँछन् । तपाईंहरूले आन्दोलन फिर्ता लिएर प्याज आयात सुरु गर्नुभएको हो भन्ने जिज्ञासामा उनले भने, ‘हामीले आन्दोलन घोषणा गरेर प्याज आयात रोकेकै थिएनौँ ।’ जबकि, यसअघि सङ्घले नै आयोजना गरेको कार्यक्रममा बोल्दै बानियाँले भारतबाट प्याज आयात रोकिएको बताएका थिए ।

उनले रातोपाटीसँगको कुराकानीमा समेत आफूहरूले प्याज नल्याएको बताएका थिए । ‘हामीले भ्याट लागेपछि प्याज आयात गरेका छैनौँ । तर, भारतबाट प्याज आयात समेत रोकिएको छैन,’ उनले भनेका थिए, ‘आयात रोकिएपछि भन्सार छलेर प्याज आयात गर्ने मौलाएका छन् ।’ बानियाँले भनेजस्तै केही व्यापारीले भ्याट प्रक्रिया नबुझेर भारतबाट प्याज नल्याएको भए पनि तस्करीको प्याज ल्याउने र कालोबजारी गर्ने समेत उनै व्यापारी हुन् ।

बजारमा कालोबजारी बढेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत बजार अनुगमन गरेको थियो । तर, त्यस क्रममा दुई वटा पसलेलाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । यस्तै, कालिमाटीका थोक व्यापारीको गोदाममा छापा मार्दा जम्मा दुई दाना प्याज भेटिएको महानिर्देशक गजेन्द्रकुमार ठाकुर बताउँछन् । उनका अनुसार बजार अनुगमनमा जाने विभागको दुई टोलीले कालोबजारी नै भेटेन ।

यद्यपि, बजारमा कालोबजारी बढेको सूचना पाएको र कालोबजारी गरेको पाएमा उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्ने चेतावनीसहित विभाग विज्ञप्ति समेत जारी गरेको थियो । प्याज आयात रोकेर कालोबजारी सुरु गरेपछि बढेको चौतर्फी दबाब झेल्न नसकेर व्यापारीले आजदेखि कालीमाटीमा कारोबार समेत सुरु गरेका छन् । यससँगै, प्याज आयात रोकेको तीन साता र कारोबार रोकेको दुई सातापछि पुनः कालीमाटीमा प्याजको कारोबार सुरु भएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले आजदेखि प्याजको कारोबार सुरु भएको रातोपाटीलाई बताए । उनका अनुसार बजेट भाषणको दिन थोक बजारमा ३५ रुपैयाँमा कारोबार भएको प्याज आज ५१ रुपैयाँ २० पैसामा कारोबार भइरहेको छ । यसअघि, जेठ २३ गतेदेखि ४ असारसम्म कालीमाटीमा प्याजको कारोबार पूर्णरुपमा रोकिएको थियो ।

नेपाली बजारमा खपत हुने कूल प्याजको ९५ प्रतिशत प्याज भारतबाट आउँछ भने स्वदेशी उत्पादनले जम्मा ५ प्रतिशत माग धान्ने गरेको समितिको भनाई छ । कालीमाटीमा दैनिक ८० टन प्याज आयात हुने गरेको श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप