सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

भीम र करण नायक बन्दा नेपालले अमेरिकालाई ६ विकेटले हरायो

मङ्गलबार, ०५ असार २०८०, २० : १६
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ । उक्त खेलमा नेपाल ६ विकेटले विजयी भयो ।

अमेरिकाले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा चार विकेट गुमाएर दुई सय ११ रन बनाउँदै लक्ष्य पार गरेको हो । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनाएको थियो ।

नेपालको शानदार जितमा तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले महत्त्वपूर्ण योगदान गरे । उनले अविजित ७७ रन बनाए । लामो समय क्रिजमा टिकेका भीमले एक सय १४ बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरे ।

362201

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३९ रन बनाए । उनले ५४ बलको सामना गरी एक छक्का र चार चौका प्रहार गरे । ओपनिङ विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले २५ रनको साझेदारी गरेका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ १२ रनमा पभेलियन फर्किए ।

कप्तान रोहित पौडेलले १६ रन बनाए भने कुशल मल्ल १३ रनमा आउट भए । अनुभवी खेलाडी दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रनको योगदान गरे । उनले ३२ बलको सामना गरी एक छक्का र पाँच चौका प्रहार गरेका थिए । नेपालले अतिरिक्त रूपमा १५ रन पाएको थियो । अमेरिकाका बलर स्टिभन टेलर, सौरभ नेत्रवाल्कर, खान्जी र निसर्ग पटेलले एक/एक विकेट लिए ।

त्यसअघि अमेरिकाका लागि सातौँ नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले शतकीय पाली खेले । उनले अविजित एक सय रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान जहांगिरले आक्रामक पाली खेल्दै ७९ बलको सामना गरी तीन छक्का र १० चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान सुशान्त मोदानीले पनि ४२ रनको योगदान गरे । उनले ७१ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । गजानन्द सिंहले २६ रन जोडे । उनले ४१ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । जेसी सिंहले पनि २५ बलमा १२ रन बनाए । अमेरिकाका अन्य ब्याट्सम्यानले दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् ।

नेपालका बलर करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए । करणले नौ ओभरमा तीन मेडन राख्दै ३३ रन खर्चिए । गुल्सनले १० ओभरमा ५२ रन खर्चिए । दीपेन्द्रले पाँच ओभरमा १५ रन दिएका थिए । ललितले भने १० ओभरमा केवल २० रन खर्चिएका थिए । अमेरिकाविरुद्ध नेपालले सातजना बलर प्रयोग गरेको थियो । सन्दीप लामिछाने, आरिफ शेख र कुशल मल्लले भने विकेट लिन सकेनन् ।

362169

सुरुको चार विकेट करणले लिएका थिए । उनले पहिले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई चार रनमा एलबीडब्लू आउट गराए । त्यसलगत्तै उनले सैतेजा मुकामल्लालाई शून्य रनमै पेभेलियन फर्काए । करणले तेस्रो नम्बरमा क्रिज समाल्न आएका सैतेजलाई आरिफ शेखद्वारा क्याच गराएका थिए । करणले दोस्रो ओभरको पाँचौँ र छैटौँ बलमा विकेट लिएका थिए ।

करणले अमेरिकाका कप्तान एरोन जोन्सलाई पनि दुई रनमा पभेलियन फर्काएका थिए । करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए । जोन्स तेस्रो विकेटका रूपमा पभेलियन फर्किएका थिए । खेलको सुरुदेखि नै अमेरिकी ब्याट्सम्यानहरू नेपाली बलरको दबाबमा परेका थिए । करणले चौथो विकेटका रूपमा अमेरिकाका नस्थुस केन्जिगलाई आउट गराएका थिए । नस्थुस केन्जिग एक रनमै पेभेलियन फर्किएका थिए । उनलाई करणले आरिफ शेखमार्फत क्याच गराएका थिए ।

त्यसपछि दीपेन्द्रले अमेरिकाको पाँचौँ विकेट लिएका थिए । दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान गजानन्द सिंहलाई २६ रनमा आउट गरेका थिए । उनले गजानन्दलाई आरिफ शेखमार्फत क्याच गराएका हुन् । उक्त खेलमा आरिफले लिएको यो तेस्रो क्याच थियो ।

ललित राजवंशीले अमेरिकाको छैटौँ लिएका थिए । उनले अमेरिकाका ओपनर ब्याट्सम्यान सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड गरेका थिए । अमेरिकाको सातौँ विकेट भने गुल्सन झाले लिएका थिए । उनले अमेरिकाका निसर्ग पटेललाई आठ रनमा आसिफ शेखद्वारा क्याच गराएका थिए ।

362187

यसैगरी दीपेन्द्रले अमेरिकाको आठौँ विकेट लिएका थिए । उनले अमेरिकाका जेसी सिंहलाई १२ रनमा कप्तान रोहित पौडेलद्वारा एक्स्ट्रा कभरमा क्याच गराएका थिए । अमेरिकाको नवौं विकेट भने गुल्सन झाले लिएका हुन् । उनले अमेरिकाका सौरभ नेत्रवाल्करलाई  चार रनमा बोल्ड गरेका थिए ।

362192

अमेरिकाको अन्तिम विकेटका रूपमा कायले फिलिप पेभेलियन फर्किएका थिए । उनको विकेट गुल्सनले लिएका हुन् । खातासम्म खोल्न नसकेका फिलिपलाई गुल्सनले एलबीडब्लूको धरापमा पारेका थिए । अमेरिकाले अतिरिक्त रूपमा आठ रन पाएको थियो ।

नेपालले टस जितेर अमेरिकालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । एकदिवसीय विश्वकपको छनोट खेल जिम्बाब्वेमा भइरहेको छ । अमेरिकाविरुद्धको खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी भने सहभागी थिएनन् । औँलामा लागेको चोटका कारण उनी टोलीबाट बाहिरिएका हुन् । उनको स्थानमा स्पिनर ललितनारायण राजवंशीले खेल्ने अवसर पाएका थिए ।

362173

नेपाल र अमेरिका दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेले आठ विकेटले हराएको थियो । नेपालले पहिलो ब्याटिङ गर्दै जिम्बाब्वेलाई दुई सय ९१ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले आठ विकेट गुमाएर ५० ओभरमा दुई सय ९० रन बनाएको थियो ।

पहिलो खेलमा जिम्बाबेविरुद्ध नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ९९ रन बनाएका थिए । आसिफ शेखले पनि ६६ रनको योगदान गरेका थिए । दुवै ओपनरले एक सय ७१ रनको साझेदारी गरेका थिए । अमेरिकालाई भने पहिलो खेलमा बलियो वेस्ट इन्डिजले ३९ रनले हराएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तेस्रो खेल जुन २२ तारिखमा वेस्ट इन्डिजसँग खेल्नेछ । नेपालले चौथो तथा अन्तिम खेल भने जुन २४ तारिखमा नेदरल्यान्ड्सँग खेल्नेछ । छनोट प्रतियोगिताको समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

पहिलो चरणको खेलपछि दुवै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुवै समूहको चौथो र पाँचौँ स्थानमा रहने टोलीले प्लेअफ चरणको खेल खेल्नेछन् । यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरीयतासमेत निर्धारण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप