सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सप्तरी प्रिमियर लिग : खडक वारियर्स र रुपनी राइडर्स विजयी

बुधबार, ०६ असार २०८०, १८ : १०
बुधबार, ०६ असार २०८०

काठमाडौं । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौंथो दिन बुधबार दुई खेल सम्पन्न भएका छन् । बुधबारको खेलमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भए ।  बजाज खडक वारियर्सले राजविराज दी किंगलाई सात विकेटले हरायो । राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । खडक वारियर्सको यो लगातार दोश्रो जित हो । 

बजाज खडक वारियर्सका लागि कप्तान बिवेक यादवले केवल १९ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले अविजित ४५ रन बनाए । साहिल पटेलले १२ रन जोडे । राजविराजका बलर बिक्रम सोबले दुई र सकिम आलमले एक विकेट लिए । 
टस जितेर ब्याटिङ गरेको राजविराज १८ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको थियो । राजविराजका लागि शंकर रानाले सर्वाधिक २६ रन बनाए । तृतराज दासले १७ रन बनाए । खडक वारियर्सका देब्रेहाते स्पिनर अनिल खरेल एक्लैले चार विकेट लिए । उनी प्लेयर अफ दी म्याच पनि घोषित भए । उनले चार ओभरमा एक मेडनसहित १७ रनमात्र खर्चिए । अनिल यादवले तीन, बिवेक यादवले दुई र दिनेश अधिकारीले एक विकेट लिए । 

अर्को खेलमा रुपनी राइडर्सले लिगमा दोश्रो जित दर्ता गर्ने क्रममा कन्चनरुप राइनोजलाई सात विकेटले हरायो । कन्चनरुपले दिएको एक सय ३८ रनको लक्ष्य रुपनी राइडर्सले १३.४ ओभरमै पूरा गरेको थियो ।  रुपनी राइडर्सका लागि रोहन बिकले सर्वाधिक अविजित ५५ रन बनाए । उनले २९ बलमा चार छक्का र तीन चौका प्रहार गरे । रोहन प्लेयर अफ दी म्याचसमेत घोषित भए । भोला शाहले ३७ बलमा एक छक्का र सात चौकाको मद्दतले ४५ रन बनाए । अरनिको यादवले १४ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ३६ रन बनाए । कन्चनरुपका बलर राशिद खानले तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कन्चनरुप राइनोजले निर्धारित १५ ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । नारायण जोशीले १५ बलमा ४२ रन बनाए । उनले पाँच छक्का र दुई चौका प्रहार गरे । अमित यादवले ३० र दिलिप नाथले २२ रन बनाए । रुपनी राइडर्सका बलर जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले दुईरदुई तथा मुकुन्द यादवले एक विकेट लिए । 

बुधबारको नतिजापछि बजाज खडक वारियर्स दुवै खेलमा जित हात पारेर चार अंकसहित तालिकाको शिर्ष स्थानमा छ । तीनमध्ये दुई खेलमा जित र एक खेलमा हार भोगेको रुपनी राइडर्स समान चार अंकसहित नेट रन रेटमा पछि पर्दै दोश्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप