सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

सबैभन्दा बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजसँग नेपालको भिडन्त

लाराले भनेका थिए, ‘कीर्तिमानहरू तोडिनैका लागि बन्छन्’
बिहीबार, ०७ असार २०८०, १० : ११
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार बलियो वेस्ट इन्डिजको सामना गर्दैछ । भर्खरै एक दिवसीय क्रिकेटमा बामे सर्दै गरेको नेपालले दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसँग भिडन्त गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ः४५ बजे सुरु हुनेछ ।

जिम्बाब्वेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले तेस्रो खेल खेल्न लागेको हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाललाई घरेलु टोली जिम्बाब्वेले आठ विकेटले पराजित गरेको थियो । कुनै समय एन्डी फ्लावर, ग्रान्ट फ्लावर, निल जोन्सन, हिथ स्ट्रिक, हेनरी ओलोङ्गा, पल स्ट्रङजस्ता प्रभावशाली खेलाडीले विश्व क्रिकेट थर्काएको जिम्बाब्वेजस्तो राष्ट्रलाई नेपालले दुई सय ९१ रनको चुनौती दिएको थियो । 

nepal

तर, क्षमता र अनुभवमा नेपालभन्दा जिम्बाब्वे निकै अगाडि थियो । त्यसैले जिम्बाब्वेले केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । तर, जिम्बाब्वेजस्तो बलियो टोलीलाई पनि नेपालले प्रस्तुत गरेको लक्ष्य भेट्टाउन ४४.१ ओभरसम्म संघर्ष गर्नु परेको थियो । 

त्यसपछि गत मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बाब्वेविरुद्घ नेपालले जस्तो प्रदर्शन गर्‍यो ठिक त्यस्तै अवस्था रह्यो अमेरिकाविरुद्घको खेलमा पनि । तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अमेरिकालाई हराउन नेपालले पनि ठुलै संघर्ष गर्नु पर्‍यो । केवल दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा चार विकेट गुमाएर दुई सय ११ रन बनाउँदै लक्ष्य पार गरेको थियो । 

nepal openers

अब, नेपालले विश्वकप छनोट प्रतियोगितामा बिहीबार वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछ । यसअघि नेपालले दुईपटकको एकदिवसीय र टीट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थिएन । नेपालले बिहीबार वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो । 

नेपालले चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्सँग खेल्नेछ । छनोट प्रतियोगिताको समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । पहिलो चरणको खेलपछि दुवै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । 

दुवै समूहको चौथो र पाँचौँ स्थानमा रहने टोलीले प्लेअफ चरणको खेल खेल्नेछन् । यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरीयतासमेत निर्धारण गर्नेछ ।

west indies

यो प्रतियोगिताको समूहगत चरणमा नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो, वेस्ट इन्डिज । वेस्ट इन्डिज सन् १९७५ मा भएको पहिलो र सन् १९७९ मा भएको दोस्रो एकदिवसीय विश्वकपको उपाधि चुम्ने टोली हो । 

सन् १९८३ को विश्वकपमा वेस्ट इन्डिज फाइनलसम्म पुगेको थियो । फाइनलमा वेस्ट इन्डिजलाई भारतले ४३ रनले हराएको थियो । संयोगले आगामी एकदिवसीय विश्वकप यसै वर्ष भारतमा आयोजना हुँदैछ  र यही प्रतियोगिताबाट आगामी विश्वकपका लागि दुई टोलीको छनोट हुँदैछ ।

सन् १९७५ मा एकदिवसीय विश्वकप जित्दा रोय फ्रेड्रिक्स, भिभ रिचर्डस्, एन्डी रोबर्टस्, क्लाइभ लोयडजस्ता विश्व क्रिकेटका सर्वकालीन महान् खेलाडीहरू थिए, वेस्टइन्डिजमा । त्यसपछि सन् १९९९ को विश्वकपसम्म आइपुग्दा वेस्ट इन्डिज क्रिकेटमा अर्को प्रभावशाली पुस्ता उत्पादन भइसकेको थियो ।

क्रिकेट खेल्ने र बुझ्ने सायदै कोही होला, जसले ब्रायन लारा, शिवनारिन चन्द्रपौल, जिमी एडम्स, स्टुअर्ट विलियम्स, कर्टनी वाल्स, कर्टनी एम्ब्रोस, फिल सिमोन्स, मार्भिन डिलोनजस्ता हस्ती खेलाडीको नाम नसुनेको होस् । यी सबै विश्व क्रिकेट हल्लाउने खेलाडी वेस्ट इन्डिजकै थिए । 

west indies 2

हो, त्यही पुस्ताको विरासत धान्दै आएको टोली हो, वेस्ट इन्डिज । त्यसैले बिहीबार हुने खेलमा वेस्ट इन्डिज नेपालका लागि सबैभन्दा ठुलो चुनौती हो । वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो । 

समूह ‘ए’ को अङ्क तालिकामा दुई खेल खेलेको जिम्बाब्वे चार अंकसहित पहिलो स्थानमा छ । जिम्बाब्वेले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो । एक खेल खेलेको वेस्ट इन्डिज दुई अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । दुई खेल खेलेको नेपाल दुई अंकसहित तेस्रो स्थानमा आसिन छ । दुई खेल खेलेको अंकविहीन अमेरिका चौथो र एक खेल खेलेको अंकविहीन नेदरल्यान्ड्स पाँचौँ स्थानमा छन् ।

वेस्ट इन्डिजको वर्तमान पुस्ता पनि कमजोर छैन । भिभ रिचर्डस र ब्रायन लारामै विरासत धान्दै आएको वेस्ट इन्डिजको वर्तमान टोलीमा जोन्सन चार्लिज, साई होप, निकोलस पुरन, रोस्टन चेज, जासन होल्डरजस्ता प्रभावशाली खेलाडी छन् ।

nepal cricket

अर्कोतिर, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई एकपछि अर्को सफलताको शिखर चुमाउने कप्तान पारस खड्का वर्तमान टोलीमा छैनन् । तर, पारससँगै खेलेका र उनकै विरासत धान्दै आएका ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल, भीम सार्की, गुल्सन झा, ललित राजवंशी, आरिफ शेख, आशिफ शेखजस्ता प्रभावशाली खेलाडी अहिले पनि नेपाली टोलीमा छन् ।

कुनै समय टेस्ट क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाएपछि लाराले भनेका थिए, ‘खेलकुदमा कीर्तिमानहरू तोडिनैका लागि बन्छन् । आज मैले अरूको कीर्तिमान तोडेँ भोली अरू कसैले मेरो कीर्तिमान तोड्ने छ ।’ 

bhim sarki

हो, आफ्नो समयका महान् क्रिकेटर लाराले भनेजस्तै विश्व खेलकुदमा हारजित पनि अप्रत्याशित हुन्छ । विश्व क्रिकेटमा हिजो वेस्ट इन्डिजको राज थियो, त्यसपछि भारत हुँदै अस्ट्रेलियाको उदय भयो । आज इङ्ल्यान्ड एकदिवसीय विश्वकप च्याम्पियन हो । भोलि नेपाल वा अरू कुनै उदीयमान राष्ट्रले विश्व क्रिकेटमा अप्रत्याशित नतिजा नदेला भन्न सकिँदैन । किनभने, क्रिकेट अनिश्चितताको खेल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप