सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
त्रिवि कुटपिट प्रकरण

उपप्राध्यापक चलाउनेको रिट न्यायाधीश शर्माको इजलासमा

बिहीबार, ०७ असार २०८०, ११ : २५
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । आफूमाथि कुटपिट गर्ने विरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने बुधवार सर्वोच्च पुगेका थिए ।  काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै बुधवार सर्वोच्च अदालत पुगेका थिए । बुधवार दर्ता भएको रिट बिहीबारकै पेसीमा चढेको हो ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेको थियो । आचार्यसहित ५ जनाविरुद्धको काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको जोडबलमा तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीको सिफारिसमा मुद्दा फिताृ लिनका लागि कानुन मन्त्रालयमा रायका लागि पठाइएको थियो । तर तत्कालीन कानुनमन्त्री गोविन्द वन्दीले उक्त सिफारिस होल्ड गरेर राखिदिएका थिए ।

तर कानुनमन्त्रीका रुपमा धनराज गुरुङ आउनेबित्तिकै गुरुङले उक्त सिफारिस सदर गरी गृह मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाएका थिए । जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक घटना भन्दै मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।  असार ५ गते अन्तिम सुनुवार्इ हुने भनिएको दिनभन्दा दुई दिनअघि अर्थात् असार ३ गते मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट मुद्दाको फिर्ताका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिइएको थियो । तर जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले पेसीमा नचढाई सोझै इजलासमा पेस भएको भन्दै पेसीमा चढाएर मात्रै ल्याउने आदेश गरेपछि मुद्दा फिर्ताका विषयमा सुनुवाइका लागि शुक्रबारको पेसी दिइएको थियो ।

 तर सरकारको निर्णयविरुद्ध चलाउने बुधबार नै सर्वोच्च अदालत पुगेपछि बिहीबारको पेसीमा उक्त रिट निवेदन चढेको छ । सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश भएमा अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउनेछ । सर्वोच्चमा अन्तरिम आदेशका लागि बोलावट भएमा जिल्ला अदालतमा यस सम्बन्धमा हुने भनिएको शुक्रबारको पेसी प्रभावित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप