सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालको सम्मानजनक हार

बिहीबार, ०७ असार २०८०, २१ : १४
बिहीबार, ०७ असार २०८०

काठमाडौं । सामान्यतः हार भनेको हार नै हो । तर, कतिपय अवस्थामा हार पनि सम्मानजनक हुन्छ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपाली टोलीले यस्तै सम्मानजक हार ब्यहोरेको छ ।

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपाल एकसय एक रनले पराजित भयो । भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा बामे सर्दै गरेको नेपालले समग्रमा वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो केवल दोस्रो एकदिवसीय प्रतियोगिता हो ।

यसअघि यही प्रतियोगितामा नेपालले जिम्बाबेसँग खेलेको थियो । तर, विश्वकप जितिसकेको राष्ट्रसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गरेको हो । त्यसैले पनि आफूभन्दा निकै बलियो टोली वेस्ट इन्डिजविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्यो ।

जारी प्रतियोगितामा नेपालले हालसम्म एक जित र दुई हारको नतिजा निकालेको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४९.४ ओभरमा अलआउट हुनुअघि दुई सय ३८ रन बनायो ।

नेपालका लागि पाँचौं नम्बरका ब्याट्सम्यान आरिफ शेखले सर्वाधिक ६३ रनको योगदान गरे । उनले लामो समय क्रिजमा संघर्ष गरेर ९३ बलमा एक छक्का र चार चौका हिर्काएका थिए । कप्तान रोहित पौडेलले ३० रन बनाए । उनले ४३ बलको सामना गरी तीन चौका हिर्काएका थिए ।

केवल ४८ रनको कूल स्कोरमा तीन विकेट गुमाएको नेपालका लागि ओपनर आसिफ शेखले २८ रन जोडे । विकेटकिपर ब्याट्सम्यान आसिफले ३६ बलमा तीन चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले २० बलमा एक छक्का र दुई चौकाको मद्दतले २३ रन जोडे ।

आठौं नम्बरमा क्रिज समाल्न आएका गुल्सन झाले पनि नेपालका लागि महत्वपूर्ण पाली खेले । उनले ४२ रन बनाए । गुल्सनले ५८ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । ओपनर कुशल भुर्तेल पाँच रनमा आउट भए भने भीम सार्की तीन रनमा पेभेलियन फर्किएका थिए ।

करण केसीले पनि नेपालका लागि सम्मानजनक पली खेले । उनले नेपालको खातामा २८ रन थपे । १० औं नम्बरमा ब्याटिङ गर्न आएका करणले केवल २७ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए । कुशल मल्लले दुई रन बनाए । सन्दीप लामिछाने पनि एक रनमा आउट भए ।  

वेस्ट इन्डिजका बलर जासन होल्डरले तीन विकेट लिए । अकेल होसैनले दुई विकेट हात पारे । किमो पलले पनि दुई विकेट लिए । अल्जारी जोसेफले दुई विकेट लिए । कायले मायर्सले पनि एक विकेट हात पारे । नेपालले अतिरिक्त रुपमा १४ रन पाएको थियो ।

त्यसअघि केवल ५५ रनको कूल स्कोरमा तीन विकेट गुमाएको वेस्ट इन्डिजलाई निकोलस पुरन र साई होपले उकासेका थिए । पुरन र होपले चौथो विकेटका लागि दुई सय १६ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज बलियो स्थितिमा पुगेको थियो ।

पुरन र होप दुबैले वेस्ट इन्डिजका लागि सतकीय पाली खेले । लामो समय क्रिजमा टिकेका पुरनले एक सय १५ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ९४ बलको सामना गरी चार छक्का र १० वटा चौका पनि प्रहार गरेका थिए ।

विकेटकिपर ब्याट्सम्यान होपले भने एक सय ३२ रन बनाए । कप्तानसमेत रहेका होपले एक सय २९ बलको सामना गरी तीन छक्का र १० चौका प्रहार गरेका थिए ।रोभमन पोवेलले पनि वेस्ट इन्डिजको खातामा २९ रन थपे ।

करण केसीले वेस्ट इन्डिजको पहिलो विकेट लिएका थिए ।उनले ओपनर काइले मायर्सलाई आउट गराएका हुन् । आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । वेस्ट इन्डिजले दुई रनकै कूल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । त्यो सफलतासँगै करणविश्वकप विजेता रहिसकेको राष्ट्रविरुद्ध विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् ।

त्यसपछि गुल्सन झाले वेस्ट इन्डिजको दोस्रो विकेट लिएका थिए । उनले जोन्सन चाल्र्सलाई आउट गराएका थिए । गुल्सनले चार्ल्सलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराएका थिए । त्यतिबेला वेस्ट इन्डिजको कूल स्कोर नौ रन थियो ।

यसैगरी स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजको तेस्रो विकेट लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रान्डन किंगको विकेट लिएका थिए । सन्दीपले किंगलाई ३२ रनमा बोल्ड गरेका थिए । सन्दीपले जारी प्रतियोगितामा लिएको यो पहिलो विकेट हो । किंगले ४२ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । वेस्ट इन्डिजले ५५ रनमा तेस्रो विकेट गुमाएको हो ।

यसैगरी चौथो विकेटका रुपमा वेस्ट इन्डिजका निकोलस पुरन पेभेलियन फर्किएका थिए । पुरनको विकेट नेपालका अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । पुरनको क्याच पनि दीपेन्द्र आफैले लिएका थिए ।

पाँचौं विकेटका रुपमा रोभमन पोवेल पेभेलियन फर्किका थिए । उनको विकेट ललित राजवंशीले लिएका थिए । राजवंशीले पोवेललाई २९ रनमा गुल्सन झामार्फत क्याच गराएका हुन् । पोवेलले १४ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए । पाँचौं विकेट खस्दा वेस्ट इन्डिजको कूल स्कोर तीन सय १० रन थियो ।

छैटौं विकेटका रुपमा कप्तान साई होप पेभेलियन फर्किएका थिए । उनको विकेट पनि ललितले नै लिएका थिए । ललितले होपलाई भीम सार्कीमार्फत क्याच गराएका थिए । साई एक सय ३२ रन बनाउँदै आउट भएका हुन् । त्यसपछि ललितले सातौं विकेटका रुपमा किमो पलको विकेट लिए । ललितले पललाई एक रनमा बोल्ड गरेका थिए । वेस्ट इन्डिजले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।

ललितले १० ओभरमा ५२ रन खर्चिए तीन विकेट लिए भने करणले १० ओभरमा ८१ रन खर्चिएर एक विकेट हात पारे । गुल्सनले आठ ओभरमा ६४ रन खर्चिएर एक विकेट लिए भने सन्दीपले १० ओभरमा ५० रन खर्चिएर एक विकेट हात पारे । दीपेन्द्रले सात ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।

जिम्बाबेको हरारे स्पोर्ट क्लबमा भएको खेलमा नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलोपटक प्रतिस्पर्धा गरेको हो ।

त्यसैले बिहीबारको खेलमा नेपाली बलर ललितले पनि इतिहास रचे । विश्वकप विजेता रहिसकेको टोलीविरुद्घ बलिङ गर्ने पहिलो नेपाली बलर बने ललित । नेपालले ललितलाई वेस्ट इन्डिजविरुद्धको खेलमा ओपनर बलरको रुपमा प्रयोग गरेको हो । आफ्नो पहिलो ओभरमा ललितले केवल दुई रन दिए । उनको बलमा वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रेन्डन किंग र काइले मायर्सले एक/एक रन लिएका थिए ।

नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो । नपालले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई ९० रन बनाएको थियो । जवाफी ब्याटिमा ओर्लिएको घरेलु टोली जिम्बाबेले ४४.१ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पार गरेको थियो ।

यसैगरी आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । अमेरिकाले पहिलो ब्याटिङ गर्दै दुई सय सात रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४३ ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । वेस्ट इन्डिजले भने आफ्नो पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो ।

अब नेपालले समूहगत चरणको आफ्नो चौथो तथा अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । छनोट प्रतियोगिताको समूह ‘बी’ मा भने आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

समूह ‘ए’ मा दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ । समान खेल खेलेको जिम्बाबे पनि चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको नेदरल्यान्ड्स दुई अंकसहित तेस्रो स्थानमा छन् ।

तीन खेल खेलेको नेपाल दुई अंकसहित चौथो स्थानमा आसिन छ । नेपाली टोली नेट रन रेटमा नेदरल्यान्ड्सँग पछि परेको हो । तीन खेल खेलेको अमेरिका शून्य अंकसहित पाँचौं स्थानमा आसिन छन् ।

बिहीबार नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले हरायो । पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ११ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ४३.२ ओभरमा पाँच विकेट गुमाएर दुई सय १४ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

यसैगरी समूह ‘बी’ मा दुई खेल खेलेको ओमान चार अंकसहित पहिलो स्थानमा छ । एक खेल खेलेको श्रीलंका दुई अंकसहित दोस्रो र एक खेल खेलेको स्कटल्यान्ड दुई अंकसहित तेस्रो स्थानमा छन् । दुई खेल खेलेको आयरल्यान्ड चौथो र समान खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) पाँचौं स्थानमा आसिन छन् । आयरल्यान्ड र यूएईले भने अंक जोड्न सकेका छैनन् ।

पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौं स्थानमा रहने टोलीले प्लेअफ चरणको खेल खेल्नेछन् । यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् ।

यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरियतासमेत निर्धारण गर्नेछ ।आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण आगामी अक्टोबर/नोभेम्बरमा हुनेछ । उक्त विश्वकपमा १० टोलीको सहभागिता जनाउने छन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका गरी विश्वकपमा सहभागी हुने आठ टोलीको भने यसअघि नै टुंगो लागिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप