सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

जित्नै पर्ने खेलमा ब्याट्सम्यानहरू निरीह बनेपछि नेपाल सस्तैमा समेटियो

शनिबार, ०९ असार २०८०, १६ : ३४
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमै अलआउट हुनुअघि एक सय ६७ रनमात्र बनाउन सक्यो । नेपाली ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरे । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन् । नेपाली ब्याट्सम्यान सुरुदेखि नै नेदरल्यान्ड्सका बलरहरुको दबाबमा परेका थिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७–२७ रन बनाए । भीम सार्की २२ रनमा आउट भए । गुल्सन झाले १५ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । कुशल मल्ल १२ रनमै पेभेलियन फर्किए ।  टोलीको कूल स्कोर एक सय २३ रन हुँदा दीपेन्द्रसिंह ऐरी आउट भएपछि बलरहरुले उत्कृष्ट ब्याटिङ गर्दै टोलीको स्कोरलाई एक सय ६७ रनसम्म पुर्‍याएका थिए । अन्तिम विकेटका रुपमा पेभेलियन फर्किनुअघि सन्दीपले ३३ बलको सामना गरी चार चौका प्रहार गरे । 

त्यसअघि गुल्सनले ३१ बलको सामना गरी एक चौका हिर्काएका थिए । नेपालले अतिरिक्त रुपमा १० रन पाएको थियो । नेदरल्यान्ड्सका बलर लोगन भान विकले चार विकेट लिए । बास डि लिड्स र बिक्रमजित सिंहले दुईरदुई विकेट हात पारे । क्लेटन फ्लोयड र आर्यन दत्तले पनि एकरएक विकेट लिएका थिए ।  नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट भान विकले लिएका हुन् । आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २.२ ओभरमा सात रन बनाएर खेल्दै थियो । 

नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशलको विकेट बिक्रमजितले लिए । उनले भुर्तेललाई २७ रनमा विकेटकिपर स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले ४२ बलको सामना गरी दुई चौका हिर्काए । दोस्रो विकेट खस्दा नेपालले १४.५ ओभरमा ४६ रन बनाएको थियो । तेस्रो विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट पनि बिक्रमजितले लिएका थिए । उनले आरिफलाई ६ रनमा भान विकद्वारा क्याच गराएका थिए । १६.१ ओभरमा टोलीको कूल स्कोर ५४ रन हुँदा नेपालको तेस्रो विकेट खसेको हो ।   

चौथो विकेटका रुपमा भीम सार्की आउट भएका थिए । भीमको विकेट फ्लोयडले लिएका हुन् । फ्लोयडले भीमलाई २२ रनमा सारिज अहमदद्वारा क्याच गराए । आउट हुनुअघि भीमले ५६ बलको सामना गरी एक चौका हिर्काएका थिए । भीम आउट हुँदा नेपालले १८.१ ओभरमा ६६ रन बनाएको थियो । पाँचौं विकेटका रुपमा कुशल मल्ल १२ रन बनाउँदै आउट भएका थिए । उनलाई आर्यन दत्तले तेजा निदामानुरुमार्फत क्याच गराएका थिए । मल्लले १९ बलको सामना गरी एक चौका हिर्काएका थिए । कुशल मल्ल आउट हुँदा नेपालले २५.२ ओभरमा ९१ रन बनाएको थियो ।

छैटौं विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनलाई ३३ रनमा भान विकले बिक्रमजितद्वारा क्याच गराएका थिए । रोहितले ५५ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए । रोहित आउट हुँदा नेपालले ३१.५ ओभरमा एक सय १६ रन बनाएको थियो । सातौं विकेटका रुपमा अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । उनलाई भान विकले १४ रनमा कप्तान स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । दीपेन्द्र आउट हुँदा नेपालले ३३.५ ओभरमा एक सय २३ रन बनाएको थियो ।

आठौं विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । गुल्सनलाई १५ रनमा बास डी लिड्सले विकेटकिपर स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । गुल्सनले ३१ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । नवौं विकेटका रुपमा करण केसी पेभेलियन फर्किएका थिए । उनको विकेट बास डी लिड्सले लिएका थिए । करणको क्याच पनि बास आफैले लिएका थिए । पेभेलियन फर्किनुअघि करणले एक रन बनाएका थिए । 

जिम्बाबेको हरारे स्पोर्टस क्लबमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेलको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेलेको हो ।  हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निकै महत्वपूर्ण छ । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो । 

यसैगरी दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो ।  समूह ‘ए’ को अंक तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ । आफूले खेलेको दुवै खेलमा विजयी भएको घरेलु टोली जिम्बाबे पनि चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । वेस्ट इन्डिज नेट रनरेटमा जिम्बाबेभन्दा अगाडि छ । दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारको नतिजाबाट दुई अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

यसैगरी तीन खेलबाट एक जित र दुई हारको नतिजा निकाल्दै दुई अंक हात पारेको नेपाल तालिकाको चौथो स्थानमा आसिन छ । नेट रनरेटमा नेदरल्यान्ड्सले नेपाललाई पछि पारेको छ । तीनवटै खेलमा पराजित भएको अमेरिका पाँचौं स्थानमा छ ।  समूहका दुई बलिया टोली वेस्ट इन्डिज र जिम्बाबे प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने लगभग निश्चितजस्तै छ । त्यसैले सुपर सिक्स चरणमा पुग्न अब नेपाल र नेदरल्यान्ड्सबीच चर्को प्रतिस्पर्धा देखिएको छ । 

पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौं स्थानमा रहने टोलीले भने प्लेअफ चरणको खेल खेल्नेछन् ।  यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यसका अतिरिक्त यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरियतासमेत निर्धारण गर्नेछ । 

त्यसैले शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराउनुको विकल्प छैन । उक्त खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएरमात्र पुग्दैन । यसका अतिरिक्त सोमबार हुने समूहगत चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई हराउनु पनि उत्तिकै आवश्यक छ । नेपालले प्रतियोगिताको सुपर सिक्स चरणमा स्थान बनाउन नेदरल्यान्ड्सले बाँकी रहेका दुवै खेलमा पराजय ब्यहोर्नु पर्ने हुन्छ । हाल नेपालको नेट रनरेट माइनस ० दशमलब ६३८ र नेदरल्यान्ड्सको नेट रनरेट माइनस ० दशमलब १६७ रहेको छ ।

नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । शनिबारको खेलमा नेपाललाई पराजित गरेमा नेदरल्यान्ड्स चार अंकसहित सजिलै सुपर सिक्स चरणमा पुग्नेछ । यसको विपरित उक्त खेलमा नेदरल्यान्ड्सलाई हराउन सके नेपालको अंक चार पुग्नेछ । तर, समूहगत चरणमा त्यसपछि पनि नेदरल्यान्ड्सको एक खेल बाँकी रहन्छ । आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई हराएमा नेपालको सुपर सिक्स यात्रा अप्ठ्यारोमा पर्नसक्छ । यस्तो स्थितिमा नेपाल र नेदरल्यान्ड्सको समान चाररचार अंक हुनेछ । त्यसपछि नेट रनरेटका आधारमा सुपर सिक्स चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

यसैगरी नेपाल र नेदरल्यान्ड्सबीचको खेल अनिणर्ित अवस्थामा टुंगिएको अवस्थामा पनि दुबै टोलीको अंक तीनरतीन हुनेछ । यस्तो अवस्थामा नेदरल्यान्ड्सलाई नेट रनरेटको फाइदा प्राप्त हुनेछ । त्यसमाथि समूहगत चरणमा नेदरल्यान्डको एक खेल ९वेस्ट इन्डिजविरुद्ध० पनि बाँकी रहनेछ । एकदिवसीय क्रिकेटमा पछिल्लो पटक नेपाल र नेदरल्यान्ड्सबीच सन् २०१८ को अगस्तमा खेल भएको थियो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो खेल नै नेदरल्यान्ड्ससँग खेलेको थियो ।

त्यतिबेला नेदरल्यान्ड्स भ्रमणमा गएको नेपालले तीन खेलको शृंखलामा सहभागिता जनाएको थियो । शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्स ५५ रनले विजयी भएको थियो । उक्त खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ र दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए । बलिङतर्फ तात्कालीन कप्तान पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिएका थिए । 

सोही शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक रनले हराएको थियो । उक्त खेलमा सोमपाल कामीले ६१ र पारस खड्काले ५१ रन बनाएका थिए । बलिङतर्फ सन्दीप लामिछानेले तीन र ललित भण्डारीले दुई विकेट लिएका थिए । शृंखलाको तेस्रो खेल भने अनिणर्ित रुपमा सकिएको थियो । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण भने आगामी अक्टोबररनोभेम्बरमा हुनेछ । उक्त विश्वकपमा १० टोलीको सहभागिता जनाउने छन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका गरी विश्वकपमा सहभागी हुने आठ टोलीको भने यसअघि नै टुंगो लागिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप