सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

पूरा हुन सकेन नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना

शनिबार, ०९ असार २०८०, १८ : ४१
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले नमिठो हार बेहोरेको छ । जिम्बाबेमा खेलिएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई सात विकेटले हराएको हो । 

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । 

नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । नेपालले भने अब प्लेअफ चरणको खेल खेल्नेछ । उक्त नतिजापछि पहिलो पटक एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना पनि कम्तीमा थप चार वर्षका लागि टाढा धकेलिएको छ । 

नेदरल्यान्डका लागि ओपनर म्याक्स ओडडले ९० रनको योगदान गरे । उनको विकेट गुल्सन झाले लिए । बास डि लिडले अविजित ४१ रन बनाए । ओपनर बिक्रमजित सिंहले ३० रन जोडे । उनको विकेट सन्दीप लामिछानेले लिए । वेस्ली बारेसीलाई पनि सन्दीपले तीन रनमा आउट गरे । 

समूह ‘ए’ मा पहिलो स्थानमा आसिन वेस्ट इन्डिज, दोस्रो स्थानमा आसिन जिम्बाब्वे र तेस्रो स्थानमा आसिन नेदरल्यान्ड्सको चार/चार अंक छ । दुई अंकसहित नेपाल चौथो स्थानमा छ । अमेरिका भने तालिकाको अन्तिम स्थानमा छ ।

पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौँ स्थानमा रहने टोलीले भने प्लेअफ चरणको खेल खेल्नेछन् । 

यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यसका अतिरिक्त यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरियतासमेत निर्धारण गर्नेछ । 

शनिबारको खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमै अलआउट हुनुअघि एक सय ६७ रनमात्र बनाउन सक्यो । नेपाली ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरे । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

362618 (1)

नेपालका ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन् । नेपाली ब्याट्सम्यान सुरुदेखि नै नेदरल्यान्ड्सका बलरहरूको दबाबमा परेका थिए । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७/२७ रन बनाए । भीम सार्की २२ रनमा आउट भए । गुल्सन झाले १५ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । कुशल मल्ल १२ रनमै पभेलियन फर्किए । 

टोलीको कूल स्कोर एक सय २३ रन हुँदा दीपेन्द्रसिंह ऐरी आउट भएपछि बलरहरूले उत्कृष्ट ब्याटिङ गर्दै टोलीको स्कोरलाई एक सय ६७ रनसम्म पुर्‍याएका थिए । अन्तिम विकेटका रूपमा पभेलियन फर्किनुअघि सन्दीपले ३३ बलको सामना गरी चार चौका प्रहार गरे । 

त्यसअघि गुल्सनले ३१ बलको सामना गरी एक चौका हिर्काएका थिए । नेपालले अतिरिक्त रूपमा १० रन पाएको थियो । नेदरल्यान्ड्सका बलर लोगन भान विकले चार विकेट लिए । बास डि लिड्स र बिक्रमजित सिंहले दुई/दुई विकेट हात पारे । क्लेटन फ्लोयड र आर्यन दत्तले पनि एक/एक विकेट लिएका थिए । 362621

नेपालको पहिलो विकेटका रूपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट भान विकले लिएका हुन् । आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २.२ ओभरमा सात रन बनाएर खेल्दै थियो । 

नेपालले दोस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशलको विकेट बिक्रमजितले लिए । उनले भुर्तेललाई २७ रनमा विकेटकिपर स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले ४२ बलको सामना गरी दुई चौका हिर्काए । दोस्रो विकेट खस्दा नेपालले १४.५ ओभरमा ४६ रन बनाएको थियो ।

तेस्रो विकेटका रूपमा आरिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट पनि बिक्रमजितले लिएका थिए । उनले आरिफलाई ६ रनमा भान विकद्वारा क्याच गराएका थिए । १६.१ ओभरमा टोलीको कूल स्कोर ५४ रन हुँदा नेपालको तेस्रो विकेट खसेको हो ।   

चौथो विकेटका रूपमा भीम सार्की आउट भएका थिए । भीमको विकेट फ्लोयडले लिएका हुन् । फ्लोयडले भीमलाई २२ रनमा सारिज अहमदद्वारा क्याच गराए । आउट हुनुअघि भीमले ५६ बलको सामना गरी एक चौका हिर्काएका थिए । भीम आउट हुँदा नेपालले १८.१ ओभरमा ६६ रन बनाएको थियो ।

पाँचौँ विकेटका रूपमा कुशल मल्ल १२ रन बनाउँदै आउट भएका थिए । उनलाई आर्यन दत्तले तेजा निदामानुरुमार्फत क्याच गराएका थिए । मल्लले १९ बलको सामना गरी एक चौका हिर्काएका थिए । कुशल मल्ल आउट हुँदा नेपालले २५.२ ओभरमा ९१ रन बनाएको थियो ।

362614 (1)

छैटौं विकेटका रूपमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनलाई ३३ रनमा भान विकले बिक्रमजितद्वारा क्याच गराएका थिए । रोहितले ५५ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए । रोहित आउट हुँदा नेपालले ३१.५ ओभरमा एक सय १६ रन बनाएको थियो ।

सातौँ विकेटका रूपमा अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । उनलाई भान विकले १४ रनमा कप्तान स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । दीपेन्द्र आउट हुँदा नेपालले ३३.५ ओभरमा एक सय २३ रन बनाएको थियो ।

आठौँ विकेटका रूपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । गुल्सनलाई १५ रनमा बास डी लिड्सले विकेटकिपर स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । गुल्सनले ३१ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । नवौँ विकेटका रूपमा करण केसी पभेलियन फर्किएका थिए । उनको विकेट बास डी लिड्सले लिएका थिए । करणको क्याच पनि बास आफैले लिएका थिए । पभेलियन फर्किनुअघि करणले एक रन बनाएका थिए । 

प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेलको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेलेको हो । समूहगत चरणमा नेपालले एक जित र तीन हारको नतिजा निकाल्यो । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो । 

यसैगरी दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । 

आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण भने आगामी अक्टोबर/नोभेम्बरमा हुनेछ । उक्त विश्वकपमा १० टोलीको सहभागिता जनाउने छन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका गरी विश्वकपमा सहभागी हुने आठ टोलीको भने यसअघि नै टुंगो लागिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप