सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कन्चनरुप राइनोज र बजाज खडक वारियर्स सप्तरी प्रिमियर लिगको फाइनलमा

आइतबार, १० असार २०८०, १९ : ३३
आइतबार, १० असार २०८०

काठमाडौँ । कन्चनरुप राइनोज र खडक वारियर्स सप्तरीको राजविराजमा जारी ‘पाँचौं सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’को फाइनलमा पुगेका छन् । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।

लिग चरणको समाप्तिमा बजाज खडक वारियर्स आठ अंकसहित तालिकाको शीर्ष स्थानमा रह्यो । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स र रुपनी राइडर्सको समान ६ अंक भए पनि नेट रनरेटमा अगाडि रहँदै कन्चनरुप फाइनल प्रवेश गरेको हो ।

छिन्नमस्ता तेश्रो र रुपनी राइडर्स चौंथो स्थानमा रह्यो । बलान बिहुल चार अंकसहित पाँचौं स्थानमा रह्यो भने साविक विजेता राजविराज दी किंग जितविहिन भयो । पब्लिक विन्देश्वरी स्कुलको क्रिकेट मैदानमा आइतबार सम्पन्न जित्नै पर्ने खेलमा कन्चनरुप राइनोजले बजाज खडक वारियर्सलाई तीन विकेटले हरायो ।

लिग चरणको अन्तिम खेलमा वारियर्सले दिएको ६३ रनको लक्ष्य राइनोजले सात विकेट गुमाएर १२.१ ओभरमा पुरा ग¥यो । कन्चनरुपका लागि राशिद खानले सर्वाधिक ३२ रन बनाए । उनले २५ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।

खराब सुरुआत गरेको राइनोजले २१ रन बनाउँदा ६ विकेट गुमाएको थियो । यस्तो अवस्थामा आठौँ नम्बरमा ब्याटिङ क्रिज समाल्न आएका राशिदले टोलीलाई जितसम्म डो¥याएका थिए । वारियर्सका बलर दिनेश अधिकारीले चार विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको बजाज खडक वारियर्स १४.३ ओभरमा ६२ रन बनाउँदै अलआउट भएको थियो । वारियर्सका लागि विशाल सुश्लिगले सर्वाधिक २४ रन बनाए । कन्चनरुपका बलर प्लेयर अफ दी म्याच घोषित राशिद खानले चार विकेट लिए । पप्पु यादवले दुई तथा चित्र बिस्ट, नारायण जोशी र सुमित श्रेष्ठले एक÷एक विकेट हात पारे ।

अर्को खेलमा छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई २६ रनले हरायो । एक सय २५ रनको लक्ष्य पछ्याउने क्रममा बलान बिहुलले १६.४ ओभरमा ९८ रनमा सबै विकेट गुमायो । बलान बिहुलका लागि कप्तान पवन सर्राफले सर्वाधिक २५ रन बनाए ।

छिन्नमस्ताका बलर नितेश यादवले तीन विकेट लिए । यादव प्लेयर अफ दी म्याच समेत घोषित भए । रेवती रे र पप्पु यादवले दुई/दुई तथा कमल खत्री र शरद भेसावकरले एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो ।

छिन्नमस्ताका लागि कप्तान शरद भेसावकरले सर्वाधिक अविजित ४७ रन बनाए । शुभ कंसाकारले २० र राहुल मण्डलले १४ रन बनाए । बलान बिहुलका बलर रुपेश सिंह र रोबिन सिंहले दुई/दुई विकेट हात पारेका थिए ।

सप्तरी जिल्ला क्रिकेट संघद्वारा आयोजित उक्त प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ दी सिरिजले २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । उदीयमान खेलाडीले पनि क्रिकेट किट प्राप्त गर्ने जानकारी संघका अध्यक्ष आयुष श्रेष्ठले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप