सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सको पोल्टामा

सोमबार, ११ असार २०८०, १७ : १०
सोमबार, ११ असार २०८०

काठमाडौँ । बजाज खडक वारियर्सले राजविराज मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पाँचौं संस्करणको उपाधि जितेको छ । खडक वारियर्सले तेश्रोपटक उपाधि चुमेको हो । पब्लिक विन्देश्वरी स्कुलको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा खड्क वारियर्सले कन्चनरुप राइनोजलाई ६ विकेटले हराएको हो । कन्चनरुपले दिएको एक सय ४६ रनको लक्ष्य खडक वारियर्सले निर्धारित ओभरको खेल सकिनुभन्दा तीन बलअघि केवल चार विकेट गुमाएर पूरा गर्यो । खड्क वारियर्सले केवल ५८ रनको कूल स्कोरमा चार विकेट गुमाएको थियो ।

त्यसपछि पाँचौ नम्बरमा क्रिज समाल्न आएका विशाल सुश्लिगले आकर्षक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए । उनले अविजित ४६ रन बनाए । उनले ३३ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए । विशालले पाँचौ विकेटका लागि बिवेक यादवसँग ३० रनको साझेदारी गरेका थिए । उनले छैठौं विकेटका लागि दिनेश अधिकारीसँग ३६ रनको साझेदारी गरे । सातौँ विकेटका लागि विशाल र अनिल यादवबीच अविजित २२ रनको साझेदारी भयो ।

खडक वारियर्सलाई अन्तिम आठ बलमा जितका लागि २० रन आवश्यक थियो । राशिद खानले गरेको १९ औं ओभरको अन्तिम दुई बलमा अनिल यादवले लगातार दुई चौका प्रहार गरे । त्यसपछि अन्तिम ओभरमा १२ रन आवश्यक रह्यो । पप्पु यादवको पहिलो बलमा दुई रन लिएका विशालले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।

खडक वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक र सन्दिप रजालीले समान १४/१४ रन बनाए । अनिल यादवले अविजित नौ रन जोडे । कन्चनरुपका बलर चित्र बिस्टले सर्वाधिक तीन विकेट लिए । राशिद खान, नारायण जोशी र पप्पु यादवले पनि एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । कन्चनरुपका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन बनाए । उनले २२ बलमा तीन छक्का र चार चौका प्रहार गरे ।

नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ र अमित यादवले १६ रन बनाए । खडक वारियर्सका बलर कप्तान विवेक यादवले सर्वाधिक चार विकेट लिए । गोमानन्द अमात्यले दुई तथा अनिल यादव र दिनेश अधिकारीले एक/एक विकेट हात पारे । प्रतियोगिताको उपाधिसँगै खडक वारियर्सले तीन लाख रुपैयाँ नगद पुरस्कार पनि हात पार्यो । यसैगरी उपविजेता कन्चनरुप राइनोजले एक लाख ५० हजार रुपैयाँ पायो । प्लेयर अफ दी सिरिजको पुरस्कार कन्चनरुप राइनोजका राशिद खानले पाए । उनले २५ हजार रुपैयाँ हात पारे ।

यसैगरी छिन्नमस्ता लायन्सका शुभ कंसाकार उत्कृष्ट ब्याट्सम्यान र बजाज खडक वारियर्सका दिनेश अधिकारी उत्कृष्ट बलर घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५/१५ हजार रुपैयाँ पुरस्कार पाए । उदीयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए । उनले क्रिकेट किट पुरस्कार प्राप्त गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप