सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुपर ओभरमा नेदरल्यान्ड्ससँग जिल्लियो वेस्ट इन्डिज : नेपालको प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी

सोमबार, ११ असार २०८०, २३ : १५
सोमबार, ११ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सोमबार भएको समूह ‘ए’ को अन्तिम खेल निकै रोमाञ्चक भयो । अन्तिम खेलमा नेदरल्यान्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई सुपर ओभरमा हरायो ।

निर्धारित ५० ओभरको खेल बराबरीमा सकिएपछि हारजितको निर्णय सुपर ओभरबाट निकालिएको थियो । विश्व एकदिवसीय क्रिकेटमा यो दूर्लभ नतिजा हो । खेलका क्रममा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई गतिलो चुनौति दियो । 

पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ७४ रन नै बनायो ।

त्यसपछि खेल सुपर ओभरमा गयो । सुपर ओभरमा नेदरल्यान्ड्सले कुनै विकेट नगुमाई ३० रन बनाएको थियो । सुपर ओभरको पहिलो बलमा लोगन भान विकले चौका हिर्काए । दोस्रो बलमा उनले छक्का प्रहार गरे । तेस्रो बलमा चौथो प्रहार गरे । चौथो बलमा फेरि छक्का हिर्काए । पाँचौं बलमा छक्का प्रहार गरे । छैटौं तथा अन्तिम बलमा चौका प्रहार गरे । वेस्ट इन्डिजले भने सुपर ओभरमा दुई विकेट गुमाएर आठ रनमात्र बनाउन सक्यो ।

त्यसअघि निर्धारित ५० ओभरमा वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित एक सय चार रन बनाएका थिए । उनले ६५ बलको सामना गरी ६ छक्का र नौ चौका हिर्काएका थिए । ओपनर ब्रान्डन किङले ७६ रनको योगदान गरेका थिए । अर्का ओपनर जोन्सन चार्लिसले पनि ५४ रन जोडेका थिए । कप्तान साई होपले ४७ र किमो पलले अविजित ४६ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले एक सय ११ रनको योगदान गरेका थिए । उनले ७६ बलमा तीन छक्का र ११ चौका प्रहार गरेका थिए । कप्तान स्कट एडवार्डसले पनि ६७ रन बनाएका थिए ।

त्यसअघि भएको खेलमा जिम्बाबेले अमेरिकालाई तीन सय चार रनको फराकिलो अन्तरले हराएको थियो । पहिलो ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर चार सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने २५.१ ओभरमै अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो । विश्वकप छनोट खेल जिम्बाबेमा भइरहेको छ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ चरणमा नेपालसहित चार राष्ट्रले अब वरीयताका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । प्लेअफ चरणको खेलपछि यी चार टोलीले नतिजाका आधारमा सातौंदेखि १०औं वरीयता प्राप्त गर्नेछन् ।

प्लेअफ चरणमा नेपाल, अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई) र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ बाट चौथो हुँदै नेपाल र पाँचौं हुँदै अमेरिका प्लेअफ चरणमा पुगेका हुन् । समूहगत चरणमा नेपालले एउटा खेल जित्यो भने अमेरिका चारवटै खेलमा पराजित भयो ।

यसैगरी समूह ‘बी’ बाट चौथो र पाँचौं हुने टोलीको टुंगो लाग्न बाँकी छ । मंगलबार हुने स्कटल्यान्ड र श्रीलंका तथा आयरल्यान्ड र यूएईबीचको खेलपछि उक्त समूहबाट चौथो र पाँचौं हुने टोलीको टुंगो लाग्नेछ । तर, समूह ‘बी’ बाट आयरल्यान्ड र यूएईमध्ये एक टोली चौथो र अर्को टोली पाँचौं हुने निश्चित छ ।

उक्त समूहबाट श्रीलंका, स्कटल्यान्ड र ओमान भने सुपर सिक्स चरणमा पुग्ने निश्चित भइसकेको छ । समूह ‘ए’ बाट भने आठ अंकसहित जिम्बाबे पहिलो, ६ अंकसहित नेदरल्यान्ड्स दोस्रो र चार अंकसहित वेस्ट इन्डिज तेस्रो हुँदै सुपर सिक्स चरणमा पुगेका छन् ।

अब प्रतियोगिताको प्लेअफ चरणमा जुन ३० तारिखमा अमेरिकाले समूह ‘बी’ को चौथो हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भने आगामी जुलाई २ तारिखमा समूह ‘बी’ को पाँचौं हुने टोलीसँग भिडन्त गर्नेछ ।

त्यसपछि जुन ३० को खेलमा विजयी हुने टोली र जुलाई २ को खेलमा विजयी हुने टोलीबीच सातौं र आठौं वरीयताका लागि खेल हुनेछ । उक्त खेल जुलाई ४ तारिखमा खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले सातौं र पराजित हुने टोलीले आठौं वरीयता प्राप्त गर्नेछन् ।

यसैगरी जुन ३० को खेलमा पराजित हुने टोली र जुलाई २ को खेलमा पराजित हुने टोलीबीच नवौं र १०औं वरीयताका लागि खेल हुनेछ । उक्त खेल जुलाई ६ तारिखमा खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १०औं वरीयता प्राप्त गर्नेछन् ।

यसैगरी दुबै समूहमा पहिलोदेखि तेस्रो हुने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्नेछन् । अर्थात सुपर सिक्स चरणमा ६ टोलीको उपस्थिति रहने छ । सुपर सिक्स चरणमा समूह ‘ए’ बाट आएका तीनवटै टोलीले समूह ‘बी’ बाट आएका तीनवटै टोलीसँग एक÷एक खेल खेल्नेछन् ।

सुपर सिक्स चरणको खेलपछि तालिकाको पहिलोदेखि छैटौं स्थानसम्म आउने टोलीहरुले सोही अनुरुपको वरीयता प्राप्त गर्नेछन् । यसको अर्थ सुपर सिक्स चरणको समाप्तिपछि तालिकाको पहिलो स्थानमा रहने टोलीले पहिलो र छैटौं स्थानमा रहने टोलीले छैटौं वरीयता पाउने छन् ।

तलिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली भने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । एकदिवसीय विश्वकप यसै वर्ष भारतमा आयोजना हुँदैछ । सुपर सिक्स चरणको समाप्तिपछि पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच उपाधिका लागि छुट्टै भिडन्त पनि हुनेछ । फाइनल खेल जुलाई ९ तारिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप