आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपक्षी दलको अवरोधपछि सूचना टाँस गरेर बागमती प्रदेशसभा बैठक स्थगित

मङ्गलबार, १२ असार २०८०, १९ : १८
मङ्गलबार, १२ असार २०८०

मकवानपुर । बागमती प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि मंगलबार अपराह्न ४ बजे बसेको प्रदेशसभाको बैठकमा विपक्षी दलहरूको अवरोधका कारण ६ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

६ बजेका लागि आह्वान गरिएको बैठक सञ्चालन हुने अवस्था नरहेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको हो । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार प्रदेशसभा बैठकको अवरोध हटाउन सभामुख भुवनकुमार पाठकले पहल गर्दा समेत दलहरुबीच सहमति जुट्न नसकेका कारण बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

उक्त बैठकमा एमालेसहितका प्रतिपक्ष दलका सांसदहरुले सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै सदनमा उठेर विरोध गरेको थिए । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गर्न बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले अवरुद्ध गरेका थिए । 

प्रदेशसभाको दोस्रो बैठकमा विरोध गरेपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले विपक्षी दलहरूको तर्फबाट धारणा राख्दै हालको अवस्थामा सदन चल्न नदिने बताए । सरकारले बजेट सन्तुलनका लागि पुनः लेखन नगरेसम्म बैठक चल्न नसक्ने नेता थपलियाले बताए । उनले सरकारले बजेट निश्चित निर्वाचन क्षेत्रलाई मात्र समेटेर ल्याएको भन्दै बजेट विभेदकारी रहेको आरोप लगाए ।

‘सरकारले बजेटमा सन्तुलन कायम गर्न सकेको छैन । सत्तापक्षका सांसद र प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट र काभ्रे जिल्लाका केही निर्वाचन क्षेत्रलाई मात्र समेटेर बजेट विनियोजन गरिएको छ । बजेटमा प्रतिपक्षीका कुनैपनि सुझाव समेटिएका छैनन् । त्यसकारण बजेटलाई प्रतिपक्षी दल एमालेले समर्थन गर्न सक्दैन,’ उनले भने ।

नेता थपलियाको सम्बोधन सकिएसँग एमाले र राप्रपाका सांसदहरुले उभिएर बैठक सञ्चालनमा अवरोध गरेका थिए । बैठकमा एमाले र राप्रपाका सांसदहरुले आसनबाट उठेर विरोध गरेपछि सभामुख भुवन कुमार पाठकले पटकपटक बस्न रुलिङ गरे । तर, सांसदहरु रोष्टम तर्फ अघि बढेपछि सभामुख पाठकले बैठक स्थगित गरेका थिए ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथिको छलफलको कार्यसूची रहेको छ । मंगलबार नै बसेको प्रदेशसभाको पहिलो बैठकमा प्रदेशसभाको विषयगत समितिहरू घोषणा गरिएको थियो । प्रदेशसभामा कायम रहेको प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति घोषणा गरेर पहिलो बैठक स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप