सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छैटौँ पटक विश्वकप खेल्दै ब्राजिलियन स्टार मार्टा

बुधबार, १३ असार २०८०, १० : ४५
बुधबार, १३ असार २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणका लागि ब्राजिलले आफ्नो टोलीको घोषणा गरेको छ । ब्राजिलियन टोलीमा ३७ वर्षीया अनुभवी स्ट्राइकर मार्टालाई पनि समावेश गरिएको छ ।

मार्टाले अब छैटौँ पटक विश्वकप खेल्ने भएकी छन् । विश्वकपको नवौँ संस्करण जुलाई २० देखि अगस्त २० तारिखसम्म अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुँदै छ । मार्टा विश्व महिला फुटबलकी प्रभावशाली खेलाडी हुन् ।

उत्कृष्ट प्रदर्शनका कारण लाखौं समर्थकको मन जितेकी मार्टाले हालसम्म ६ पटक विश्व फुटबल महासङ्घ ९फिफा० बाट सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाइसकेकी छन् । उनी विश्वकप फुटबलमा १७ गोल गर्ने एकमात्र खेलाडी हुन् ।

पुरुष विश्वकपमा पनि हालसम्म कुनै खेलाडीले १७ गोल गर्न सकेको छैन । ‘मार्टा विश्व फुटबलकी रानी हुन् । उनी विश्व फुटबलका लागि उदाहरण पनि हुन्,’ आगामी विश्वकपका लागि टोलीको घोषणा गरेपछि ब्राजिलियन प्रशिक्षक पिआ सन्धागेको कथन थियो ।

मार्टासहितको टोलीले आगामी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्ने विश्वास पनि ब्राजिलियन फुटबल महासङ्घले लिएको छ । ब्राजिलले हालसम्म फिफा महिला विश्वकपको उपाधि भने चुम्न सकेको छैन । 

हालसम्म अमेरिकाले सर्वाधिक चार पटक महिला विश्वकपको उपाधि जितेको छ । जर्मनीले पनि दुई पटक उपाधि हात पारेको छ । यसका अतिरिक्त नर्वे र जापानले एक—एक पटक महिला विश्वकपको उपाधि हात पारेका छन् ।

यसपटक ब्राजिल प्रतियोगिताको समूह ‘एफ’ मा परेको छ । उक्त समूहमा फ्रान्स, जमैका र पानामा पनि रहेका छन् । ब्राजिलले आफ्नो पहिलो खेल जुलाई २४ तारिखमा पानामासँग खेल्नेछ । आगामी महिला विश्वकपमा ३२ टोली सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप